लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४ पटक विज्ञापन गर्दा पनि पाइएनन् शिक्षक, ४५० विद्यार्थीको भविष्य २ जना शिक्षकको हातमा
रासंसा/रुपन्देही, कार्तिक ४,
मुलुकमा लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतको बुटवलस्थित सिटी कलेजमा स्नातक तहअन्तर्गत कानुन विषय पढ्ने विद्यार्थी भर्खरै चौथो सेमेस्टरको परीक्षा दिएर पाँचौ सेमेस्टरमा पुगेका हुन् । त्यस्तै, भर्खरै +२ पास गरेर नयाँ विद्यार्थी प्रथम सेमेस्टरमा भर्ना भएका छन् । अहिले उक्त कलेजमा साढे ४ सयको हाराहारीमा कानून विषय पढ्ने विद्यार्थी छन् । विश्वविद्यालयले चार पटक शिक्षकका लागि विज्ञापन गरेको थियो । तर, मागअनुसार शिक्षक पाउन सकेको छैन, कारण विश्वविद्यालयको आफ्नै नियमावली बाधक बनेको छ । विश्वविद्यालयले कानून संकायमा स्नातकोत्तर गरेका सहायक प्राध्यापक पदका लागि विज्ञापन गर्दै आएको छ, त्यो पनि अधिवक्ताको प्रमाणपत्र समेत लिएको हुनुपर्नेछ । जबकि अन्य विश्वविद्यालयले उपप्राध्यापकबाट सेवा प्रवेश गराउँदै आएका छन् । अहिले चार सेमेस्टर पढेका विद्यार्थीहरूले भने शिक्षकबिनै पढ्न बाध्य भएका छन् । प्रत्येक वर्ष कानून संकाय पढ्न ९० जनाको सिट क्षमता हो । सिटीमा २ जना शिक्षकले कानुन संकाय पढाइरहेका छन् । शिक्षकको अभावमा विद्यार्थीहरू पढाइका लागि भन्दा पनि सर्टिफिकेटका लागि पढ्ने गरेका छन् । त्यसपछि २५ असार २०७९ मा दोस्रो पटक ४ जनाका लागि विज्ञापन आह्वान गरियो । जसमा भोगेन्द्र कुमार यादव र दीपक खनालले आवेदन दिए । उनीहरू दुवै जनाले लिखित परीक्षा दिए । लिखितमा पास भएपछि खनालले अन्तर्वार्ता बहिष्कार गरे । विश्वविद्यालयले पहिलो पटक १५ चैत २०७८ मा २ जना सहायक प्राध्यापकका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा १ जनाले आवेदन दिएर उनी नियुक्त भए । त्यसबेला नियुक्त भएका रमेश यादवले दुई विषय पढाउँदै आएका छन् ।