काठमाडौं महानगरकाे साइनबोर्डको शुल्क ३० दिनभित्र बुझाउन आग्रह
रासंसा/काठमाण्डौ, आश्विन ७,
मुलुकमा काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी (साइनबोर्ड) राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ। ६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ। ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ। आज सूचना जारी गर्दै महानगरपालिकाले केही व्यक्ति, संघ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो। अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी गरेर आग्रह गरेको छ। ‘प्रथम पटक प्रकाशित मिति २०७९र०६र०७ काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघ/ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस)दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’
-वार्षिक दररेट रु. १ परिचय पाटी (Sign Board) ६ वर्ग फुटसम्म एक वटा मात्र ५०० -परिचय पाटी (Sign Board) १५ वर्ग फुटसम्म १,५००, -एक वटा मात्र परिचय पाटी (Sign Board) १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुट सम्मको प्रतिवर्ग फुट एक वटा मात्र १,०००