पञ्जाबका मुख्यमन्त्रीद्वारा १ प्रतिशत कमिसन माग्ने मन्त्री बर्खास्त
एजेन्सी,
विश्वमा भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् । उनीविरुद्ध भ्रष्टचारको प्रमाण फेला परेको मुख्यमन्त्रीले सचिवालयले जनाएको छ । ‘हामी एक रुपैयाँको पनि भ्रष्टाचार नसहने कसम खाएर आएका हौं, सरकारका एक मन्त्रीले प्रत्येक टेन्डरमा एक प्रतिशत कमिसन मागेका थिए,’ उनले भने, ‘यो केसको बारेका मलाई मात्र थाहा थियो, चाहेको भए दबाउन पनि सक्थें तर, जनताको विश्वास तोड्न सकिन र विजय सिंगलालाई बर्खास्त गरें ।’ विजयले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबका मुख्यमन्त्रीको कार्यालयले विजयविरुद्ध ठोस प्रमाण भेटेको जनाएको छ । मुख्यमन्त्री मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाँको पनि पनि बेइमानी सहन नसक्ने बताए । आम आदमी पार्टीका संयोजक एवं दिल्लीका मुख्यमन्त्रीसमेत रहेका अरविन्द्र केजरिवालले मुख्यमन्त्री मानको प्रशंसा गरेका छन् । ‘भगवन्त तपाईंप्रति गर्व छ, यो निर्णयले मेरो आखाँमा आँशु आयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पूरा देशले आम आदमी पार्टीप्रति गर्व गरिरहेको छ ।’ समाचार एजेन्सी एएनआईका अनुसार पञ्जाबको भ्रष्टाचार विरोध शाखाले आरोपी विजय सिंगलालाई पक्राउ गरेको छ । विजयले अपराध स्वीकार गरेको मुख्यमन्त्री मानले बताए ।