Monday, October 19, 2026
Latest:
अन्य थपदेशप्रदेश-१मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रचण्ड र माधवलाई कांग्रेसमा प्रवेश गर्न सुझाव

Share to:

रासंसा/उदयपुर, बैशाख २५,

मुलुकका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पुष्पकमल दाहाल(प्रचण्ड) र माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्न सुझाव दिएका छन्। नेकपा एमाले त्रियुगा नगरकमिटीले सदरमुकाम गाईघाटमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पोखरेलले यस किसिमको चाकडी र सत्तालिप्तमा केन्द्रित हुने हो भने राष्ट्रिय राजनीति अल्मल्याउने काम छाडेर कांग्रेसमा प्रवेश गर्न सुझाव दिए। ‘चाकडी र सत्तालिप्साको पनि एउटा हद हुन्छ, उनले भने, ‘जब सीमा नै नाघिन्छ भने किन अलग्गै बस्नु त्योभन्दा कांग्रेससंगै सधैंका लागि बस्दा बेस हुन्छ, कम्तिमा जनता र कार्यकर्ताले दुःख त पाउँदैनन् थिए।’ उनले भने, ‘यो कुनै एमालेले मात्र गरेको प्रक्षेपण हैन, स्वतन्त्र नागरिक र विभिन्न निकायले गरेको अध्ययन हो।’ एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले जिकिर गरे। उनले भने, ‘यो प्रतिगामी सोच भएका, देशको चुच्चे नक्सालाई बुच्याउने, समानता नचाहनेसँगको एमालेको लडाईं भएकाले यो अभियानमा साथसहयोग दिन सबै जनतालाई अपिल गर्दछु।’ उनले नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा बाधा खडा गरेको आरोप लगाए। ‘स्थानीय तह निर्वाचनको लडाईंमा एकातिर केपी ओली र अर्कातिर गठबन्धनकारी शक्ति छ’, पोखरेलले भने, ‘यो लडाइँ हामीले जित्नैपर्छ, त्यसोभयो भने मात्र मुलुक समृद्ध बन्न सक्छ।’ उनले गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत सहजै जित निकाल्ने बताए। पोखरेलले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाए। उनले गठबन्धनसंग देश विकासका लागि कुनै योजना हिजो नभएको, आज बनाउन नसकेको र भोलि पनि नहुने ठोकुवा गरे।

Like