नवौं राष्ट्रिय खेलकुदका पद विजेतालाई कर्णाली प्रदेशले नगद पुरस्कार दिने
रासंसा/काठमाण्डौ, बैशाख २२,
मुलुकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीका लागि कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । सदस्यसचिव विश्वामित्रका अनुसार स्वर्ण विजेताले जनही २ लाख नगद प्राप्त गर्ने छन् । यस्तै रजत विजेताले १ लाख ५० हजार र कास्य पदक विजेतालाई १ लाख प्रदान गरिने छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहनेछ । कर्णालीले जेठ २ गतेबाट बन्द खेलाडीहरूको प्रशिक्षण सुरु गर्ने जनाएको छ । नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ । नवौंमा कुल ३६ खेल समावेश गरिएको छ । कर्णालीले नवौंमा २७ खेलमा सहभागिता जनाउने छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।