रुसी आकलनभन्दा बाहिर, युक्रेनमा सैन्य आक्रमण

Share to:

एजेन्सी,

युक्रेनमा रुसी हमला चौथो सातामा प्रवेश गरेको छ। विश्वमा सैन्य शक्तिका हिसाबले अग्रस्थानमा रहेको भनिएको रुसले युक्रेनलाई छोटो अवधिमा कब्जा गर्ने अनुमान गरिएको थियो। भियतनाममा फ्रान्स र अमेरिकी युद्धको इतिहासका लागि पुलित्जर पुरस्कार विजेता तथा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक फ्रेडरिक लोजभाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका जनतासँग राजनीतिक र नैतिक युद्ध हारिसकेको बताउँछन्। उनी सैनिक बलमा रुसले युक्रेनसँगको सम्बन्ध बलियो बनाउन नसक्ने बताउँछन्। तर युद्धमा रुसी सैनिकले रणनीतिक र प्राविधिक दुवै हिसाबले सफलता हासिल गर्न सकेका छैनन्। चौथो सातासम्म पनि रुसले युक्रेन हमलालाई निर्णायक विन्दुमा पुर्‍याउन सकेको छैन। युक्रेन हमलामा रुसी सैनिकको प्रदर्शन कमजोर देखिएको छ। यो भार सामना गर्न रुस सक्षम नहुने उनको विश्लेषण छ। पश्चिमा मुलुकहरूले लगाएको प्रतिबन्धले रुसको अर्थतन्त्र र त्यहाँको मुद्रा कमजोर भइसकेको छ। यो युक्रेन हमलाको नतिजा हो। युक्रेन हमलाको मूल्य रुसले यसरी नै चुकाइरहेको उनको तर्क छ। एले विश्वविद्यालयमा इतिहासका प्राध्यापक तथा हार्वड विश्वविद्यालयका पूर्वफ्याकल्टी मेम्बर आर्ने वेस्ट्याड पनि शक्तिशाली रुसी सेनाले युक्रेनमाथि कब्जा गर्न सक्ने वा आफूले चाहेअनुसार गर्न सक्ने तर त्यसको मूल्य भयानक हुने बताउँछन्। युक्रेन हमलामा रुसी सैनिकको मृत्युको मूल्य र आर्थिक भार रुसका लागि भारी पर्ने उनले बताए। रुसले युक्रेनमाथि हमला गरिरहँदा दुई मुलुकबीच शान्ति वार्ता पनि भइरहेका छन्। सुरुवाती चरणका वार्तामा युक्रेनलाई धम्की दिने वा आत्मसमर्पणका लागि चेतावनी दिने रुस पछिल्ला वार्तामा रचनात्मक ढंगले प्रस्तुत हुने गरेको युक्रेनी अधिकारीले बताएका छन्। चौथो वार्ताका क्रममा मस्को रचनात्मक ढंगले प्रस्तुत भएको युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुखले बताएका थिए। प्राध्यापक वेस्ट्याड विश्व संकटका बेला चीनको प्रभाव पहिलोपटक अमेरिकाको भन्दा पनि बढी हुनसक्ने बताउँछन्। उनी रुस धेरै छिटो चीनमाथि निर्भर बनेको बताउँछन्। यसको नतिजा रुस अझै बढी चीनको प्रभुत्वमा पर्ने र चीन रुसका प्राकृतिक स्रोतहरू ऊर्जा, तेल र ग्यासको थप दोहन गर्न सफल हुने उनको तर्क छ। युक्रेनमाथिको हमलामा रुसले पाँचजना उच्च सैन्य अधिकारीसहित सात हजारभन्दा बढी सैनिक गुमाएको छ। यसको अर्थ रुस युक्रेनमा हमलाको निरन्तरता चाहँदैन भन्ने संकेत भएको अन्तर्राष्ट्रिय मामिलाका जानकार बताउँछन्। तर वार्ताका बीचमा पनि रुसी आक्रमण जारी छ भने युक्रेनलाई पनि अमेरिकासहित पश्चिमा मुलुकले शक्तिशाली हतियार र आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। जसले गर्दा युद्ध कति लामो समयसम्म चल्छ भनेर अनुमान गर्न सकिँदैन। त्यसैले पश्चिमा मुलुकमा यो युद्ध लामो समयसम्म लम्बिएर युक्रेन युरोपको अफगानिस्तान बन्ने त होइन भन्ने आशंका पनि उब्जिरहेको छ। ठूलो संख्यामा रुसका लडाकु विमान, हेलिकोप्टर, ट्यांक र अन्य सैन्य उपकरण ध्वस्त भएको समाचार सार्वजनिक भइरहेका छन्। युक्रेनको रक्षा मन्त्रालयले भने समाचारमा आएभन्दा दोब्बर क्षति रुसतर्फ भएको दाबी गरेको छ। युक्रेनमा सोचेभन्दा बढी क्षति र युद्ध लम्बिँदै जाँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो साख जोगाउँदै युद्धको समाधानको बाटो खोजिरहेका छन्। त्यसका लागि उनी युक्रेन भविष्यमा कहिले पनि नेटोको सदस्य नबन्ने प्रतिबद्धता खोजिरहेका छन्। जुन हालै युक्रेनी राष्ट्रपतिले पनि घोषणा गरिसकेका छन्। जसले गर्दा वार्ता सकारात्मक हुने संकेत देखिएका पनि छन्।

Like