२ हजार प्रहरी कर्मचारी कारबाहीमा

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ८,
मुलुकमा सत्य सेवा सुरक्षम् नेपाल प्रहरीको मूलमन्त्र हो । प्रत्येक विभागीय नेतृत्वदेखि संगठन प्रमुखले सुशासनलाई पहिलो प्राथमिकता दिएको बताउने गरेका छन् । तर साेही संगठनभित्र अमर्यादित आचरणको निहुँमा करिब दुई हजार प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन् । यी मध्ये कतिपयलाई बर्खास्त, तलब र बढुवा रोक्का गरी कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । तर माथिल्लो दर्जामा रहेकाहरुलाई भने सजाय दिने र सचेत मात्रै गराउने गरेको पाइएको छ । २०७८ सालको साउनदेखि फागुन मसान्तसम्म थप १२ सय २८ जनालाई विभिन्न खालको कारवाही गरिएको छ ।
कारबाहीमा पर्नेहरुमा प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ३२, प्रहरी नायब निरीक्षक ९२, प्रहरी सहायक निरीक्षक १ सय ५३, प्रहरी हवल्दार ५ सय ६, प्रहरी जवान ११ सय ६३ र कार्यालय सहायक २५ जना रहेका छन् । २०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गते सम्म १९ सय ८२ जना प्रहरी कर्मचारीमाथि कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विभिन्न श्रोतबाट आएका उजुरी र विभागीय मर्यादा विपरीत काम गरेकाहरुलाई कारबाही गरिएको प्रहरी बताउँछ । ४ प्रहरी नायव निरीक्षकसहित ६३ जनालाई भविष्यमा अयोग्य नठहरिने गरी जागिरबाट बर्खास्त गरिएको छ भने ५ जनालाई जागिरमा अयोग्य ठहरिने गरी निकालिएको छ । कारबाहीमा पर्नेमा प्रहरी हवल्दार र जवानको संख्या ठूलो छ । आचरणमा प्रश्न उठेर यतिका विधि प्रहरी कारबाहीमा पर्नु आफैंमा ठूलो परिघटना हो । प्रहरीका ठूला हाकिम उम्किने, साना चेपुवामा पारिने दृष्टान्तले संगठनभित्र शुद्धिकरण अपरिहार्य देखिन्छ । प्रहरी संगठन राजहाँस भएमात्र जनताका लागि न्यायको ढोका खुल्न सक्छ । कम्तिमा नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी लिने निकायमा काम गर्ने जनशक्तिको आत्मबल उच्च भने हुनै पर्छ ।

Like