भागबण्डा मिलाउन चार तहमा गठबन्धनबीच घनिभूत छलफल, सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति

Share to:

रासंसा/काठमाण्डौ , चैत्र २९,

मुलुकमा आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच ६८ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी मोर्चा बनेको हो । पाँच दलीय गठबन्धनले अधिकांश जिल्लामा चुनावी तालमेल गर्ने निश्चित भएको छ । चुनावी तालमेलका लागि कर्णाली प्रदेशका ७, लुम्बिनी र गण्डकी प्रदेशका एक–एक जिल्लामा मात्र सैद्धान्तिक सहमति हुन बाँकी छ । तर पालिकागत भागबण्डा भने गुल्मीमा मात्र मिलेको छ । बाँकी जिल्लामा सैद्धान्तिक सहमतिलाई कार्यान्वयनमा लैजानमा गठबन्धन दलको केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा घनिभूत छलफल भइरहेको छ । प्रदेश १ का १४ जिल्लामै गठबन्धनबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । सबै जिल्लामा बनेको गठबन्धनको संयन्त्रले चुनावी तालमेलको सैद्धान्तिक सहमतिको रिपोर्ट प्रदेश समितिमा पठाएको छ । सैद्धान्तिक सहमतिलाई कार्यान्वयनका लागि जिल्ला–जिल्ला संयन्त्रको बैठक बसिरहेको प्रदेश एकका गठबन्धन संयोजक उद्धव थापाले जानकारी दिए । प्रदेश १ का काँग्रेस सभापति थापाले भने, ‘जिल्ला र पालिका तहमा गठबन्धनको संयन्त्र बनेर दुई–तीन पटक छलफल भइसकेको छ । छलफल करिब करिब सहमति नजिक पुगिराखेको छ ।’ सहमतिका लागि केन्द्रीय गठबन्धनबाट आउने मापदण्डको पर्खाइमा रहेको उनको भनाइ छ । सत्ता गठबन्धनले मधेस प्रदेशमा चुनावी तालमेलका लागि छलफल तीव्र पारेको छ । चुनावी तालमेलको सैद्धान्तिक सहमति गरेका गठबन्धन सम्बद्ध पाँच दलबीच उक्ति सहमति कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रदेश प्रतिनिधि खटाइने भएको छ । प्रदेशले खटाएका प्रतिनिधिले वैशाख ३ र ४ गतेसम्म गठबन्धन दलबीच समन्वय गरेर जिल्लाको वस्तुगत रिपोर्ट बुझाएपछि सैद्धान्तिक सहमति कार्यान्वयनमा जाने यादवले बताए । ‘मधेस प्रदेशका ८ जिल्लामै चुनावी तालमेलेको सैद्धान्तिक सहमति भएको रिपोर्ट हामीलाई प्राप्त भएको छ,’ प्रदेश स्तरीय गठबन्धनको संयन्त्रका संयोजक कृष्ण यादवले भने, ‘त्यसको कार्यान्वयनका लागि प्रत्येक जिल्लामा प्रदेश प्रतिनिधि परिचालन गर्दै छौँ ।’ काँग्रेस प्रदेश सभापति समेत रहेका उनले भने, ‘केन्द्रको पाँच दलीय गठबन्धनको नीति अनुसार हामी चुनावी तालमेलका तीव्र छलफलमा छौँ । ३ र ४ गते दुई चरणमा ४–४ जिल्लाको रिपोर्टमाथि छलफल हुन्छ ।’ मधेस प्रदेशमा चुनावी तालमेलका लागि सबै दल प्रतिबद्ध देखिएको उनको भनाइ छ । बागमती प्रदेशमा सत्ता गठबन्धनलाई मजबुत बनाएर स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको तयारी अन्तिम चरणमा पुगेको छ । गठबन्धनको प्रदेश स्तरीय संयन्त्रका संयोजक इन्द्र बानियाँले १३ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति भएर कार्यान्वयनको अन्तिम चरणमा रहेको बताए । पाँच दलीय गठबन्धनले बागमतीमा वडा तहसम्मै चुनावी तालमेल गरेर जाने बानियाँको दाबी छ । काँग्रेस प्रदेश सभापति बानियाँले रातोपाटीलाई भने, ‘पाँच दलबीच कसरी चुनावी तालमेल गरेर जाने भन्नेमा व्यापक छलफल चलिरहेको छ । ११९ वटा पालिकामा कहाँ कसरी जान सकिन्छ भनेर वर्कआउट भएको छ । हामी भोलिसम्म एउटा निष्कर्षमा पुग्छौँ ।’ ‘१३ जिल्लाका ११९ वटा पालिकामै चुनावी तालमेल गरेर जाने रिपोर्ट आएको छ । त्यसलाई मध्यनजर गरी हामी निर्णयमा पुग्छौँ । वडा तहसम्मै गठबन्धन हुन्छ ,’ उनी भन्छन् । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ । हिमाली जिल्ला मुस्ताङबाट चुनावी तालमेलका सन्दर्भमा प्रतिवेदन आइपुगेको छैन । ‘१० जिल्लामा तालमेल गर्ने भन्ने प्रतिवेदन आएको छ । मुस्ताङको प्रतिवेदन आएको छैन ,’ उनले रातोपाटीलाई भने, प्रतिवेदन आएका १० जिल्लामा पनि कहाँ कसरी तालमेल गर्ने भन्ने सहमति भइसकेको छैन ।’ ‘१० जिल्लामा तालमेल गर्ने भन्ने प्रतिवेदन आएको छ । मुस्ताङको प्रतिवेदन आएको छैन ,’ उनले रातोपाटीलाई भने, प्रतिवेदन आएका १० जिल्लामा पनि कहाँ कसरी तालमेल गर्ने भन्ने सहमति भइसकेको छैन ।’काँग्रेस प्रदेश सभापति तथा गठबन्धन संयन्त्रका संयोजक शुक्रराज शर्माले १० जिल्लाबाट चुनावी तालमेल गर्ने सहमतिको प्रतिवेदन प्राप्त भएको बताए । त्यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा गठबन्धनको संयन्त्रको बैठक बसेर छलफल भइरहेको उनको भनाइ छ । काँग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले भने, ‘पूर्वी रुकुमबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लामा चुनावी तालमेलको सैद्धान्तिक सहमति भएको छ ।’ लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने हुन सकेको छैन । लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति भइसकेको गठबन्धनको प्रदेश स्तरीय संयन्त्रका संयोजक अमरसिंह पुनले बताए । गठबन्धनबीच चुनावी तालमेल गरेर जाने सहमति अनुसार जिल्ला र पालिकामा गृहकार्य भइरहेको उनले बताए । तर नेकपा एकीकृत समाजवादीलाई चुनावी तालमेलमा समेट्ने सन्दर्भमा समस्या देखिएको पुनको भनाइ छ । यस्तै उनले गठबन्धनका दलनै मुख्य प्रतिस्पर्धी रहेको ठाउँमा स्वस्थ प्रतिस्पर्धा गरेर जाने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘गठबन्धनका दलबीच प्रतिस्पर्धा पनि सहमतिमै गरौँ भन्ने छलफल चलिरहेको छ । गठबन्धन दलबीचमै मुख्य प्रतिस्पर्धा हुने ठाउँमा नयाँ शक्ति जन्मन नदिने कि भन्नेबारे संवाद भइरहेको छ ।’ सत्ता गठबन्धनबीच अहिलेसम्म कर्णाली प्रदेशका ३ जिल्लामा मात्र चुनावी तालमेलको सैद्धान्तिक सहमति भएको छ । कर्णाली प्रदेशका दैलेख, जाजरकोट र जुम्लामा मात्र चुनावी तालमेल गर्ने जिल्ला स्तरीय सहमति भएको छ । बाँकी ७ जिल्लामा चुनावी तालमेलबारे सैद्धान्तिक सहमति समेत नभएको काँग्रेस प्रदेश सभापति ललित बहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । सैद्धान्तिक सहमति भएका तीन जिल्लामा पनि ठोस सहमति भइनसकेको उनले बताए । तर केन्द्रीय गठबन्धनको निर्णयको खिलाफमा कुनै पनि जिल्ला नजाने उनको भनाइ छ । स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेल गरेर जाने गरी प्रदेशमा तयारी भइरहेको सभापति शाहीले बताए । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका ९ जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेलको सैद्धान्तिक सहमति भइसकेको छ । गठबन्धनको संयन्त्रका संयोजक तथा काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले ९ वटै जिल्लामा सैद्धान्तिक सहमति भएको बताए । उनले भने, ‘सुदूरपश्चिमका ९ वटै जिल्लामा गठबन्धनको जिल्ला स्तरीय संयन्त्र बनेर सैद्धान्तिक सहमति गरेर जाने निर्णय भएको जिल्लाको रिपोर्ट हामीलाई आएको छ ।’ तालमेलका लागि पालिकाको भागबण्डा हुन भने बाँकी रहेको बलायरको भनाइ छ । ‘सैद्धान्तिक सहमतिलाई कार्यान्वयन गरेर जानेबारे जिल्लासँग परामर्श गर्दैछौँ । प्रदेशमा पनि गठबन्धन दलबीच छलफल भइरहेको छ,’ उनी भन्छन् ।

Like