कोरोना सङ्क्रमण ओरालो
रासंसा/काठमाण्डौ, माघ १६,
मुलुकमा गत माघ ६ गते २७ हजार ४९७ को परीक्षण गर्दा नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए यताकै सबैभन्दा धेरै १२ हजार ३३८ जनामा पुष्टि भएको थियो । मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा माघ ६ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ ओरालो लागेको देखिन्छ । माघ १२ गते अर्थात् बुधबार कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४५४ थियो । बिहीबार ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भयो । सङ्क्रमितको सङ्ख्या घट्दै १४ गते ६ हजार ८२७ पुग्यो । क्रमशः १५ गते ४ हजार ९०४ र १६ गते सङ्क्रमितको सङ्ख्या घटेर ३ हजार ५४० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । नेपालमा पछिल्ला केही दिन यता कोरोना सङ्क्रमण ओरालो लाग्ने क्रममा छ । आइतबार १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको थियो । त्यसपछि यो भेरियन्ट विश्वभर तीव्र रूपमा फैलियो । नेपालमा पुस १९ गते पहिलो पटक तीन जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । सरकारले ओमिक्रोन भेरियन्ट नेपालमा देखिएको जानकारी दिँदा दैनिक करिब २ सयको आसपासमा सङ्क्रमण पुष्टि भइरहेको थियो । ओमिक्रोन पुष्टि भएसँगै पुस २१ गतेदेखि कोरोना सङ्क्रमितको ग्राफ क्रमशः उकालो लाग्दै गयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशत ओमिक्रोनबाट सङ्क्रमित भएको बताइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै तथ्याङ्कअनुसार माघ १० गते २१ हजार २ सय १ कोरोना परीक्षण गरिएको थियो । यस्तै, ११ गते अर्थात् मंगलबार २५ हजार ९ सय ९ परीक्षण गरिएको थियो । बुधबार २० हजार ३ सय ५९ जनामा पिसिआर तथा एन्टिजेन परीक्षण गरिएको थियो । बिहीबार २१ हजार ८ सय ८ परीक्षण गरिएको थियो । क्रमशः शुक्रबार १९ हजार ८ सय ६९, शनिबार १४ हजार ५ सय ६२, आइतबार १३ हजार १ सय ४५ ले परीक्षण गराएको थिए । स्वास्थ्य मन्त्रालयबाट सूचीकृत नभएका प्रयोगशालाहरूबाट पनि कोरोना परीक्षण हुने गरेको जनाएको छ । कोरोना परीक्षण गरिएका तथ्याङ्कहरू सरकारलाई पठाउन मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौसल मिश्राले बताइन् । कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न परीक्षण गर्नेहरुको आँकडा आवश्यक पर्ने भएकाले सबै संघ संस्थालाई आग्रह गरेकी छन् । यस्तै, घरमा आफैले एन्टिजेन विधिबाट गरेका परीक्षणको जानकारी समेत पठाउन उनले आग्रह गरिन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्र सङ्क्रमण पुष्टि हुने अनुमान लगाउँदै धेरै जना घरघर बसेकाले सङ्क्रमण दर कम देखिएको बताउँछन् । परिवारको एक जना सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएमा अन्य सदस्यमा लक्षण देखिए पनि परीक्षण नगरीकन धेरै जना बसेका छन् । त्यसैले सङ्क्रमितको दर घट्दै गएको हो । ओमिक्रोन भेरियन्ट आफैमा डेल्टा तथा अन्य भेरियन्ट जस्तो कडा छैन । रुघा, खोकी, घाँटी बस्ने भएको आफै क्रमशः निको हुन्छ भन्ने धारणा बनाएका कारण परीक्षण गर्न नपुग्दा कम देखिएको उनको भनाइ छ । अन्य देशमा जस्तो ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिई सङ्क्रमणको ग्राफ उत्कर्षमा पुग्ने र यस्तै गतिमा सङ्क्रमणको ग्राफ घट्ने देखिएको उनले बताए । ‘पछिल्ला दिनमा नेपालको सन्दर्भमा घरघरमा कार्यालय, कार्यालयमा रुघा खोकी, घाँटी बस्ने आदि सामान्य लक्षण नदेखिने कमै थिए,’ उनले भने, ‘१२ हजार ३ सयभन्दा बढी सङ्क्रमितको सङ्ख्या नबढ्नु भनेको लक्षण देखिए पनि कनट्याक्ट ट्रेसिङमा परेकाले परीक्षण नगरेको हुनुपर्छ ।’ पछिल्ला केही दिन यता कोरोना सङ्क्रमित दर घट्दै गएको पनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । तर, सङ्क्रमण दर घटे पनि मृत्युदर स्थिर जस्तै छ । गएको २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । एक साता यताको मृत्यु दर हेर्दा माघ १० गते ४ जनाको मृत्यु भयो भने ११ गते ८ जना १२ गते ५, १३ गते १५, १४ गते १० र १५ गते ६ जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । यद्यपि यो अवस्थामा सङ्क्रमण दर कम देखिए पनि जोखिम उच्च रहेको उनले बताए । पछिल्लो समयमा कोरोना सङ्क्रमणकै कारण अस्पतालमा दीर्घरोगी भर्ना भएका छन् । दोस्रो लहरको तुलनामा अस्पतालमा सङ्क्रमितको भर्ना दर कम भए पनि दीर्घरोगी गाह्रो बनाइरहेको चिकित्सकहरू बताउँछन् । दीर्घ रोगीलाई चिसोले सताउने र त्यसमा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमितको स्वास्थ्यमा जटिलता ल्याउन सक्ने सम्भावना रहेको उनी बताउँछन् । यस्तै, कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले अझै सजग र सतर्क रहन मन्त्रालयका प्रवक्ता मिश्राको आग्रह छ ।