महन्थको साथ छोडेका नेता फेरि सम्पर्कमा जसपाभित्र पाक्दै गरेको खिचडीको पर्खाइमा लोसपा
रासंसा/काठमाण्डौ, माघ १४,
मुलुकमा लोसाका अध्यक्ष महन्थ ठाकुर पक्षका थुप्रै नेताहरू जसपा अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् । तीमध्ये अधिकांश नेताहरू हाल असन्तुष्ट छन् । सो असन्तुष्टिको फाइदा लोसपाका अध्यक्ष ठाकुरले लिने तयारीमा देखिन्छन् । लोसपाका एकजना कार्यकारिणी सदस्यले रातोपाटीसँग भने, ‘हामीलाई छाडेर उपेन्द्र यादवलाई साथ दिनुएका कतिपय नेताहरू अहिले पछुतो मानी रहनु भएको छ । तर कानुनी प्रावधानका कारण उहाँहरू फर्किन सकिरहनु भएको छैन ।’ माघको ठिही बढेको छ । यसै क्रममा तराई केन्द्रीत लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको पार्टीभित्रै सम्बन्ध पनि चिसिँदै गएको छ । जसपामा देखिएको तीव्र विवादको कारण पार्टी विभाजन हुन सक्छ र त्यसको फाइदा आफूहरूलाई हुने आसमा लोसपाका नेताहरू बकुल्लाले माछा ढुकेझैँ बसेका छन् । महन्थ ठाकुरको पक्ष छाडेर जानेहरूको सूची लामो छ । जसमा महेन्द्रराय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह, गोविन्द चौधरी, अमृता अग्रहरी, राम नरेश यादव, रमेश यादव, गज्जाधर यादव, प्रमोद साह, नरमाया ढकाल, नवलकिशोर साह, सुरेश मण्डल, विक्की यादव, रानी मण्डल, रेणुका गुरुङ, रुही नाज, मनिष सुमन, डा.रिना यादव, नीरा कुमारी साहलगायतका छन् । यीमध्ये अधिकांशको सम्पर्कमा लोसपाका शीर्ष नेताहरू रहेका छन् । जसपामा केही असन्तुष्ट सांसद छन् तर उनीहरू सांसद पद जाने डरले कतै जाँदैनन्, चुनाव आउन अझै बाँकी छ । त्यसमाथि चुनाव हुन्छ कि हुँदैन, ठेगान छैन । त्यसैले कुनै दलमा असन्तुष्ट भएकाहरू आफ्नो पार्टीमा आउँछन् र त्यसले पार्टी बलियो बनाउँछु भन्ने सोच्नु मनको लड्डु घिउसित खानु बराबर रहेको उनले बताए । लोसपाका सांसद एवं कार्यकारिणी सदस्य विमल श्रीवास्तवले यताको नेता उता, उताको नेता यता आउनु-जाउनु मधेसवादी दलका लागि कुनै नौलो कुरा नरहेको बताउँछन् । ‘नेता तथा कार्यकर्ता यति नै हो, यताउति भइरहन्छन्, तर जसपामा विवाद भएपछि त्यसको फाइदा लोसपालाई हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन,’ उनले भने, ‘केही असन्तुष्ट आउन सक्लान् तर त्यसले के हुन्छ, केही हुँदैन, आयाराम गयाराम जस्तो हुन्छ ।’