गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलनमा पीठाधीश ज्ञानानन्द सरस्वती जी महाराजले भन्नुभयो …
पुष्पराज खतिवडा/तनहुँ, मार्ग ४,
गण्डकी प्रदेश नवलपुर जिल्ला गैंडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा जारी गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलनका क्रममा हरिहर परमानन्द सन्न्यास आश्रम देवघाटधामका पीठाधीश ज्ञानानन्द सरस्वती जी महाराजले गुरुकुलको मर्यादा र महत्त्वलाई सरोकारवाला पक्षहरुले बुझ्न नसक्दा समस्या सिर्जना भइरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “जबसम्म गुरुकुलको समस्या, महत्व र मर्यादालाई विश्वविद्यालयका पदाधिकारीहरुले बुझ्न सक्नुहुन्न तबसम्म संस्कृत शिक्षाको संरक्षण गर्न सकिदैन । गुरुकुलहरु मानवजीवन निर्माण गर्ने आधार हुन् । विद्यार्थीहरु गुरुकुलमा छन्, अध्यापक छैनन् । अध्यापकहरु विश्वविद्यालयमा छन्, तर त्यहाँ विद्यार्थीहरु छैनन् । यसकै तालमेल मिल्न नसक्नुको परिणाम संस्कृत शिक्षाको उन्नयनले भोगिरहेको छ । संस्कृतिको व्याख्या गर्न संस्कृत चाहिन्छ, संस्कृत नरहे संस्कृति रहन्न, संस्कृति नरहे राष्ट्र रहदैन ।” भन्नुभयो ।
