माइतिघरमा बाराकी ३ वर्षीया बालिकाको न्यायको लागि प्रदर्शन
रासंसा/काठमाण्डौ, भाद्र ६,
मुलुकमा बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । उनको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाहरूले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले छोरी जन्मनु अपराध हो?, जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले बलात्कारीलाई फाँसी दे, फाँसी दिन सकिँदैन भने इन्काउन्टर गर जस्ता कडा कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् । प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी तीन वर्षीया बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको र पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप ४ जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए।
