पञ्चतत्त्व : सृष्टि र जीवनको आधार
रसंसा/काठमाण्डौ, आषाढ ८,

डा. के. बि. सम्राट
सनातन वैदिक दर्शनअनुसार सम्पूर्ण सृष्टि पञ्चतत्त्व अर्थात् पाँच मूल तत्त्वबाट बनेको मानिन्छ। यी तत्त्वहरू हुन्— पृथ्वी, जल, अग्नि, वायु र आकाश। मानव शरीरदेखि लिएर सम्पूर्ण ब्रह्माण्डसम्म यी पाँच तत्त्वको समन्वय रहेको विश्वास गरिन्छ।
१. पृथ्वी तत्त्व
पृथ्वी स्थिरता, धैर्यता र सहनशीलताको प्रतीक हो। शरीरका हड्डी, मांसपेशी, छाला आदि पृथ्वी तत्त्वसँग सम्बन्धित मानिन्छन्। यसले जीवनलाई आधार र मजबुती प्रदान गर्छ। यो तत्व सबै प्रकारका अन्न, दाल र चामल लगायतबाट प्राप्त हुन्छ । पृथ्वी तत्वलाई पचाउन सबैभन्दा बढी ऊर्जा चाहिन्छ, अन्यथा शरीरमा विकार उत्पन्न हुने सम्भावना रहन्छ।
२. जल तत्त्व
जल जीवनको स्रोत हो। शरीरको रगत, रस, आँसु लगायतका तरल पदार्थ जल तत्त्वका अभिव्यक्ति हुन्। यसले प्रेम, करुणा, शीतलता र लचकता प्रदान गर्दछ। यो तत्व पानी तथा सबै प्रकारका तरकारी र सागसब्जीबाट प्राप्त गर्न सकिन्छ । विशेषगरी जमिनमाथि उब्जने तरकारीहरू जस्तै, लौका, फर्सी, बन्दा, काउली, तोरी, सागपातका साथै जमिनमुनि उब्जने तरकारीहरू जस्तै आलु, गाजँर, मूला, सखरखण्ड वा पिँडालु पर्छन् ।
३. अग्नि तत्त्व
अग्नि ऊर्जा, प्रकाश र परिवर्तनको प्रतीक हो। शरीरको पाचन शक्ति, तापक्रम र चेतनाको सक्रियतासँग यसको सम्बन्ध छ। अग्निले अज्ञानलाई हटाई ज्ञानको प्रकाश फैलाउने सन्देश दिन्छ। यो तत्व मुख्य रूपमा फलहरूमा पाइन्छ । फलहरू सूर्यको तापले पाक्छन्, जसले गर्दा तिनमा रङ र मिठास हुन्छ । फलहरू दुई प्रकारका हुन्छन् । एउटा, रसदार फल । जसमा रस बढी हुन्छ, तर पोषक तत्व कम हुन्छ । अर्को, गुदायुक्त फल पाइन्छ । जसमा रस कम हुन्छ, तर पोषक तत्व बढी हुन्छ ।
४. वायु तत्त्व
वायु जीवनको प्राण हो। श्वास-प्रश्वास, शरीरको गति तथा मनको चञ्चलता वायु तत्त्वसँग सम्बन्धित छन्। वायु बिना जीवन सम्भव छैन। योगशास्त्रमा प्राणायामको विशेष महत्व पनि यही कारणले रहेको छ। यो तत्व विशेष रूपमा पातहरूमा पाइन्छ । हामीले अप्रत्यक्ष रूपमा श्वासमार्फत पनि प्राप्त गर्न सक्छौँ । यी पाँच तत्व यहीँ उपलब्ध छ । तर, त्यही व्यक्ति बढी स्वस्थ, चुस्त दुरुस्त हुन्छन् जसले यसलाई उपभोग गर्न जानेका छन् । यसलाई उपभोग गर्न भने यिनको सन्तुलन मिलाउन सक्नुपर्छ ।
५. आकाश तत्त्व
आकाश सबैभन्दा सूक्ष्म तत्त्व हो। यसले सम्पूर्ण सृष्टिलाई धारण गर्ने स्थान प्रदान गर्छ। मानव चेतना, विचार, ध्वनि र आध्यात्मिक अनुभूतिसँग यसको गहिरो सम्बन्ध रहेको मानिन्छ। प्रत्येक तत्व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेवन गरिन्छ । यो आवश्यक पनि हुन्छ, तर आकाश तत्वलाई सेवन गर्न सकिँदैन । यो तत्व केवल उपवास गरेर मात्र प्राप्त गर्न सकिने विश्वास छ ।
सनातन धर्मले मानव शरीरलाई पञ्चतत्त्वबाट निर्मित मानेको छ। जन्मदेखि मृत्यु सम्म यी तत्त्वहरूले शरीरलाई सञ्चालन गर्छन् र मृत्यु पश्चात् शरीर पुनः यही पञ्चतत्त्वमा विलीन हुन्छ।
“क्षिति, जल, पावक, गगन, समीरा — पञ्च रचित अति अधम शरीरा।”
अर्थात् पृथ्वी, जल, अग्नि, आकाश र वायुबाट यो शरीर बनेको छ।
पञ्चतत्त्व केवल धार्मिक अवधारणा मात्र नभई प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धको प्रतीक हो। प्रकृतिको संरक्षण, शुद्ध जीवनशैली, योग, ध्यान र सत्कर्मद्वारा यी तत्त्वहरूलाई सन्तुलित राख्न सकिन्छ। पञ्चतत्त्वको सम्मान गर्नु भनेको प्रकृति, जीवन र सृष्टिको सम्मान गर्नु हो।
पृथ्वी, पानी, अग्नि, वायु र आकाश । यी पाँच तत्व मिलेर मानव शरीर बन्छ । शरीरलाई निरोगी र दीर्घायु बनाउन यी तत्व सन्तुलनमा रहन आवश्यक छ । यिनलाई सन्तुलनमा राख्नका लागि यसको उचित मात्रा उपभोग गर्नु आवश्यक छ ।
पाँच तत्व सन्तुलित पार्ने केही नियम छन् ।
जस्तो कि,
१. सूर्योदयअघि ब्रह्ममुहूर्तमा उठ्ने
बिहान सूर्योदयअघि उठेर खुट्टाको कुर्कुच्चा उचालेर एकदेखि पाँच गिलास पानी पिउनुहोस् । यसरी कुर्कुच्चा उचालेर पानी पिउँदा शरीर तन्किन्छ, आन्द्रा खुल्छन् र पानी आन्द्रामार्फत अगाडि बढ्छ, जसले मलशुद्धि सजिलै हुन्छ । यो मस्तिष्क, स्वास्थ्य र दीर्घायुका लागि अत्यन्त आवश्यक छ ।
२. प्राणायाम वा व्यायाम
पानी पिएपछि कम्तिमा १५ मिनेट छाती फुलाएर प्राणायाम वा शारीरिक व्यायाम गर्नुपर्छ । जस्तै तीव्र गतिमा हिँड्ने, दौडने, पौडी खेल्ने आदि । यो फोक्सोको स्वास्थ्य र सामान्य रक्तसञ्चारका लागि अत्यावश्यक छ ।
३. बिहान १० बजेसम्म ठोस आहार नलिने
सूर्य उदाएर आकाशमाथि नआउन्जेलसम्म (बिहान १० बजे)सम्म भारी आहार नलिने । गर्मीमा लस्सी, बदामको वा मौसमी फलहरू लिन सकिन्छ । जाडोमा थोरै तातो दूध वा बदाम÷छुहारा मिसाएको दूध लिन सकिन्छ ।
४. दिउँसोको खाना
बिहान १० बजेदेखि १ बजेसम्म नियमित रूपमा खाना खाइसक्ने । जसमा रोटी, दाल, तरकारी, चामल, दही, सलाद लगायतको सात्त्विक पदार्थहरू समावेश गर्न सकिन्छ ।
प्रत्येक गाँसलाई राम्ररी लगभग ३२ पटक चपाएर खानुपर्छ । र, भोकभन्दा अलि कम खानुपर्छ । रगत वृद्धि र राम्रो पाचनशक्तिका लागि यो आवश्यक छ ।
५. खानापछि विश्राम
खाना खाएपछि केही समय विश्राम गर्न सकिन्छ । त्यसका लागि मन शान्त राख्ने, मानसिक तनाव, रिस वा चिन्ताबाट बच्ने र प्रसन्न रहने प्रयास गर्न सकिन्छ । यो समयमा कुनै पनि नशालु पदार्थको सेवन नगर्नु उचित हुन्छ । मानसिक स्वास्थ्य, उच्च÷निम्न रक्तचाप र मुटुरोगबाट बच्न यो आवश्यक छ ।
६. सन्तुलित जीवनशैली
जीवनलाई सामान्य राख्न आवश्यक भन्दा बढी भोजन, कुराकानी, अनावश्यक समय विताउने वा पैसा खर्च गर्ने बानीबाट बच्नुहोस् ।
७. अंकुरित गेडागुडी
सम्भव भएसम्म टुसा उमारिएका खानेकुरा बढी खानुपर्छ । अंकुरित खानेकुरामा भिटामिन र अन्य पोषक तत्वहरू प्रशस्त हुन्छन् । यिनमा रुखोपन हुन्छ, जसले मलशुद्धिमा सहयोग गर्छ । चपाउँदा दाँत, गिजा र मस्तिष्कलाई फाइदा पुग्छ ।
८. तरकारी र सागसब्जी
तरकारीमा प्रशस्त भिटामिन हुन्छ, जसले सजिलै खानेकुरा पचाउँछ । तरकारीलाई काट्नुअघि राम्रोसँग पखाल्नुपर्छ । किनभने काटिसकेपछि धुँदा पानीमा घुल्ने भिटामिन–सी र भिटामिन–डी नष्ट हुन सक्छन् । त्यस्तै, तरकारी उमाल्दा ७० प्रतिशत प्रोटिन कडा हुन्छ, जसलाई पचाउन आन्द्रालाई धेरै मेहनत गर्नुपर्छ ।
९. आकाश तत्वको महत्व
पाँच तत्वहरूमध्ये आकाश तत्व सबैभन्दा लाभकारी र महत्त्वपूर्ण छ । किनभने यो अन्य चार तत्वहरूको उत्पत्तिको आधार हो । पृथ्वी, सूर्य, चन्द्रमा र सूर्यभन्दा सयौँ गुणा ठूला पिण्डहरू आकाश तत्वबाटै बनेका छन् ।
आकाश तत्व यी पिण्डहरूभन्दा पहिले अस्तित्वमा थियो । सृष्टिको निर्माणमा आकाश तत्वको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । वास्तवमा, आकाश तत्व अन्य चार तत्वहरूको माता पनि भन्ने गरिन्छ ।
आकाश तत्वले सबै जीवका शरीरमा अन्य तत्वहरूलाई स्थान दिन्छ । त्यसैले, आकाश तत्व जति बढी हुन्छ, शरीरको कार्य त्यति सहज हुन्छ । आकाश तत्व बढाउन उपवास सर्वश्रेष्ठ साधन मानिन्छ ।
१०. उपवास र शरीरको सफाइ
जसरी कोठा सफा गर्न राम्रा र सफा सामानहरू बाहिर निकालेर मात्र सफाइ गरिन्छ । त्यसैगरी शरीर सफा गर्न राम्रो र स्वादिष्ट खाना छोड्नु आवश्यक छ । त्यसका लागि उपवास गर्नु उचित हुन्छ ।
बिहान जीवनीशक्ति शरीरको सफाइमा लागिरहेको हुन्छ । त्यसैले, त्यतिबेला पानी, कागती, मह वा पेय पदार्थबाहेक अन्य चीज ग्रहण सकेसम्म नगरेको राम्रो हुन्छ ।
आहारको दृष्टिकोणले पृथ्वी तत्व र आकाश तत्व एकअर्काका विरोधी हुन् । त्यसैले, आकाश तत्व बढाउन अन्न (रोटी, चामल, दाल आदि) को सेवन कम गर्नुहोस् । र, दिनमा एक पटक मात्र खान सकिन्छ । पृथ्वी तत्व बढ्दा जीवनीशक्ति घट्छ । आकाश शक्ति बढ्छ ।
उपवास एक यस्तो ब्रह्मास्त्र हो, जुन कुनै रोग निको नहुँदा वा सबै चिकित्सा उपाय असफल हुँदा प्रयोग गरिन्छ ।
पुर्वीय दर्शनले मात्र होइन । विज्ञानले पनि यसै भन्छ ।
वैज्ञहरूले पनि क्यान्सरग्रस्त मुसालाई केही दिन भोकै राख्दा क्यान्सरको वृद्धि रोकिएको र केही समयपछि ती मुसा क्यान्सरबाट पूर्णरूपमा मुक्त भएको पुष्टि समेत गरेका प्रमाणहरू छन् ।
कुनै समस्या भए चिकित्सकको ध्यान विभिन्न रोगहरूमा गएको छ । जबकि पेटमा जम्मा भएको फोहोरले नै अन्य समस्याहरू निम्त्याउँछ। रोगको मुख्य घर नै पेट हो ।
योगशास्त्रमा भनिएको छ-‘सर्वरोगाः मलाशयः’ अर्थात् सबै रोगहरू मलाशयमा जम्मा हुन्छन् । धेरै एलोप्याथिक चिकित्सकले यो तत्व बुझेका छन् । बिरामी हुँदा आफू वा आफ्ना परिवारलाई औषधि नखुवाई उपवासको आधारमा उपचार गर्छन् ।
पेट सफा राख्ने संसारमा अहिलेसम्म कुनै औषधि बनेको छैन । यदि केही छ भने, त्यो आहारमा परिवर्तन मात्र हो । औषधिबिना, केवल आहार नियन्त्रण मार्फत धेरै रोगहरू निको पार्न सकिन्छ ।
ॐ पञ्चतत्त्वाय नमः।
(लेखक पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष हुन्हुहुन्छ)
