विश्व सडक सुरक्षा सप्ताह-२०२६: तनहुँमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Share to:


अन्जनराज न्यौपाने

*तनहुँ, २०८३ वैशाख २ गते* –
विश्व सडक सुरक्षा सप्ताह-२०२६ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आज जिल्लाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत चालक, सह-चालक तथा सर्वसाधारणलाई लक्षित गरी प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो। साथै पर्चा, पम्पलेट र स्टिकर वितरण गर्दै सडक सुरक्षाका नियम पालना गर्न आग्रह गरिएको छ। दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका चालकहरूसँग छोटो अन्तरक्रिया गर्दै २ मिनेटे सचेतना सत्र सञ्चालन गरिएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सिटको अनिवार्य कार्यान्वयन, भाडादर सूची यात्रुले देख्ने गरी टाँस्ने, र सवारी साधनमा CCTV जडान गरी निगरानी तथा पारदर्शिता बढाउने विषयमा विशेष जोड दिएको छ।

ट्राफिक प्रहरीका अनुसार यस्ता सचेतनामूलक अभियानले सडक दुर्घटना न्यूनीकरण, यात्रु सुरक्षा र यातायात क्षेत्रमा अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

विश्व सडक सुरक्षा सप्ताह हरेक वर्ष सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणालीको विकासका लागि विश्वभर मनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले जनाएको छ।

Like