आज श्री स्वस्थानी व्रत समाप्ती, पूर्णिमा व्रत मनाइदै
रासंसा/काठमाण्डौ, माघ १८,
श्री स्वस्थानी व्रत कथा समाप्ति
“नमो देवि स्वस्थानी त्वं कृपां मे कुरु सर्वदा॥
“विष्णुपत्नी नमस्तुभ्यं सर्वसिद्धिप्रदायिनि॥”
यस मन्त्रमा स्वस्थानी मातालाई नमन गर्दै, उहाँको कृपा सधैं प्राप्त होस् भनी प्रार्थना गरिएको छ। साथै, उहाँलाई विष्णुपत्नी (भगवान विष्णुको शक्ति) भनी सम्बोधन गर्दै, सबै सिद्धि (सफलता, कल्याण, आशीर्वाद) प्रदान गर्ने देवीको रूपमा वर्णन गरिएको छ।
हिउँदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरू एक ठाउँमा भेला भई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरू वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा सुरु भएको यो व्रत कथाका ३१ अध्यायहरू अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘उपनयतु सकल जगनमङ्गलाय’बाट सुरु हुने यो कथा ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् समापन हुँदै छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिन कालागि विसर्जन गरिन्छ । परमेश्वरीको कृपाले उक्त पुस्तक अर्को वर्ष पुनः नखोलुन्जेल हरेक नेपालीका दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरू छेलोखेलो होस्, हाम्रो शुभकामना !
स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एक छाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरूले आज विशेष पूजा अर्चना अनि समारोह आफ्नो दक्षअनुसार आयोजना गरेर औपचारिक रूपमा स्वस्थानीको समापन या साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरूमा छरछिमेक अनि आफन्त बोलाएर शाकाहारी भोजन गराउने अनि कन्या केटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।
परमेश्वरीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेष्मान्तक वन, सुमेरु पर्वत, कैलाश पर्वत, गुह्येश्वरी अनि शालिनदी लगायत विभिन्न क्षेत्रहरूको वर्णन गरिएको यो कथाका अधिकांश ठाउँहरू नेपालमै पर्दछन्, यस अर्थमा स्वस्थानी परमेश्वरीको प्रिय भू-भाग नेपाल अनि समग्र नेपालीहरूको कल्याण होस् ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शाली नदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत बस्ने चलन रही आएको छ । सबै उमेर समूहको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ । यसरी सामूहिक रूपमै स्वस्थानी परमेश्वरीको व्रत कथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समुदायलाई फाइदा हुने जनविश्वास छ ।
हामी पुनः अर्को वर्ष यी नै पौराणिक कथा र यिनका विशेष पात्रहरूका साथ पुनः आउने नै छौँ । नमस्कार !
“सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरू वैकुण्ठ जाला
फेरि अर्को वर्ष सुरु सुरु आई जाला”
श्री स्वस्थानी परमेश्वरीको जय!
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ ।
वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।