प्रहरी रासनमा चार वर्षपछि राहत

Share to:

रासंसा/काठमाण्डौ, माघ १७,

मुलुकमा प्रतिनिधिसभा निर्वाचनमुखैमा आएर सरकारले चार वर्षपछि प्रहरीको मनोबल बढाउन रासनमा राहत हुने निर्णय गरेको छ । आगामी २१ फागुनमा हुने आमनिर्वाचनसमेत मध्यनजर गरी मनोबल वृद्धि गर्न प्रहरी रासन स्केल र दैनिक रकम वृद्धि गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । काठमाडौंमा एक प्रहरीले दैनिक रासनबापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएकोमा २२१ रुपैयाँ ९२ पैसा पुग्दै छ । यो रकम हिमाली र तराईका जिल्लामा ढुवानी तथा स्थानीय मूल्यका आधारमा दररेटअनुसार फरकफरक हुन्छन् । उनका अनुसार मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय आगामी १ फागुनबाट लागू हुनेछ । जेनजी आन्दोलनपछि मनोबल गिरेको अवस्थालाई लिएर नेपाल प्रहरीले रासन तथा स्केल वृद्धि प्रस्ताव गरेको थियो । यसअघि, २०७८ सालमा १५ प्रतिशतले प्रहरी रासन वृद्धि भएको थियो । प्रहरी नेतृत्वले ल्याएको प्रस्ताव गृहमन्त्री अर्यालले अर्थमन्त्रालयसमक्ष सहमतिका लागि पेस गरी अर्थको स्वीकृतिपछि बिहीबारको मन्त्रिपरिषद्बाट निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले बताए । रासन तथा स्केल वृद्धि निर्णयले प्रहरी मनोविज्ञानमा सकारात्मक परिवर्तन हुने विश्वास अर्यालको छ । जिल्लागतरूपमा प्रहरी रासनको अवस्था फरकफरक रहेकाले औसतमा १० प्रतिशत हाराहारी हुनेगरी वृद्धि गरिएको प्रहरी स्रोतले बतायो । काठमाडौ ंमा एक प्रहरीले दैनिक रासनबापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएकोमा आगामी १ फागुनबाट २ सय २१ रुपैयाँ ९२ पैसा पुग्ने स्रोत बताउँछ । यो रकम हिमाली र तराईका जिल्लामा भने फरकफरक हुन्छ । स्रोतका अनुसार ढुवानी तथा स्थानीय मूल्यका आधारमा जिल्ला दररेटअनुसार फरकफरक हुन्छ । प्रहरी कर्मचारीले दैनिक ६ सय ९० ग्राम चामल पाउने गरेकोमा १ फागुनदेखि ७ सय २० ग्रामको दरले पाउने छन् । प्रहरी रासन निर्णयमा ‘क्यालोरी वृद्धि’लाई समेत आधार बनाइने गरेको बताउँदै नेपाल प्रहरी मुख्यालय स्रोतले दिएको जानकारीअनुसार अहिले ४ हजार ३० रुपैयाँ ५ क्यालोरी पाउनेमा अब १ फागुनदेखि ४ हजार ३ सय ६४ क्यालोरी पाउने छन् । नेपाल प्रहरीमा रासनबापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसबापत रकम पाउने गर्छन् । ढुवानी तथा स्थानीय मूल्यका आधारमा हुम्ला उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले सबैभन्दा बढी रासन भत्ता पाउने गर्छन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा रासन भत्ता पाउने गरेकोमा नयाँ निर्णयपछि ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन् । राज्यको सुरक्षा अंगका रूपमा समान ढंगले खटिरहेका नेपाली सेना र सशस्त्र प्रहरीमा भएको रासनसँग समानता कायम गर्नेगरी अगाडि बढाइएको प्रस्ताव कार्यान्वयन भएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । रासनका रूपमा अण्डा, मासु, बिस्कुट पाउनेगरी नेपाल प्रहरीको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृती दिएसँगै १ फागुनदेखि नेपाल प्रहरीले पनि अण्डा, मासु र विस्कुटसमेत पाउने भएको छ । नेपाल प्रहरीले पनि नेपाली सेना र सशस्त्र प्रहरीजस्तै रासनमा १९ आइटमका सामान पाउने भएको छ । रासनबापत हुने सामानको स्थानीय मूल्य र ढुवानीसहितको मूल्यांकनका आधारमा जिल्ला दररेटअनुसार फरकफरक रकम नेपाल प्रहरीले खातामा पाउने व्यवस्था गरिएको छ । प्रहरी रासनमा अब २५ ग्राम मासु, हाई इनर्जी बिस्कुट र दैनिक एउटा अण्डा थपिएको छ । नेपाल प्रहरीमा पोषण विषय र पारदर्शिता मुद्दा लामो समयदेखि प्रतिष्ठाको सवाल बन्दै आएको प्रहरी अधिकारी बताउँछन् । प्रहरी नेतृत्व पोशाक तथा रासन खरिदक्रममा विभिन्न अनियमिततामा मुछिने गरेकाले प्रहरीको छवि धमिलिएको पूर्वप्रहरी अधिकारी स्वीकार्छन् । प्रहरीको चुस्ता खरिद तथा रासन ठेक्कामा अनियमितता हुने गरेका समाचार सार्वजनिक भइरहेकै समय प्रहरी कर्मचारीका लागि गरिएको निर्णयले भने उनीहरूको मनोबल बढेको प्रवक्ता काफ्लेको विश्वास छ । प्रहरीमा पोषण विषयले मनोबल नै कमजोर हुने गरेको विषय प्रहरी अधिकारीको साझा भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले महानिरीक्षक भएलगत्तै मनोबल उठ्नेगरी रासन र पोषणमा सुधार ल्याइने संकेत गरेका थिए । कार्की नेतृत्वमा भएको निर्णयसँगै रासन ठेक्का पारदर्शितामा समेत ध्यानाकर्षण हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

Like