कांग्रेस-एमालेसँग तालमेल, वामपन्थीसँग एकता गर्ने नेकपाको चुनावी रणनीति

Share to:

रासंसा/काठमाण्डौ, पौष १९,

मुलुकमा जेनजी आन्दोलनपछि भत्किएको संवैधानिक र कानुनी लिकलाई सही ट्र्याकमा ल्याउन निर्वाचनको विकल्प नभएको विषयमा सबैभन्दा बढी नेपाली कम्युनिस्ट पार्टी देखियो । भदौ २३ मा तत्कालीन केपी शर्मा ओली सरकारले घटाएको नरसंहार र भोलिपल्ट भएको विध्वंशका कारण देश राज्यविहीन भएको अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । कार्की सरकारले भदौ २७ गते जननिर्वाचित प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गर्‍यो । कात्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, मंसिर ११ गते राजेन्द्र श्रेष्ठ समूहसँग पार्टी एकता गरे । सातै प्रदेशमा एकता सन्देशसभा गरी निर्वाचनको माहोल बनाएको नेकपा पछिल्लो समय रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एक ठाउँमा उभिएपछि निकै दबाबमा परेको देखिन्छ । संविधान र व्यवस्था समाप्त हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गरी देश थप दुर्घटना हुनबाट रोक्न आफूहरूले धेरै मेहनत गरेको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले दाबी गर्दै आएका छन् । यी दुई नेताले जेनजी आन्दोलनको कारण त्यतिबेला सत्तापक्ष रहेका कांग्रेस र एमाले बदनाम भएको निष्कर्ष निकाल्दै वामपन्थीबिच एकता तथा ध्रुवीकरणमा जोड दिए । कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा घटक मिलेर पार्टी एकता गरे । निर्वाचनपछि पुरानै दलहरू सत्तामा फर्किएको खण्डमा जेनजी आन्दोलनका क्रममा प्रत्यक्ष/परोक्ष संलग्न रहेको आरोपमा जुनसुकै बेला जेल जानुपर्ने बाध्यताबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन र अन्तरिम सरकारका ऊर्जामन्त्री समेत रहेका कुलमान एकता सहमतिमा हस्ताक्षर भएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ । एकातिर दुई प्रमुख दल कांग्रेस र एमालेले चुनावी तालमेल सहित मोर्चाबन्दी गर्ने, अर्कोतिर नयाँ वैकल्पिक शक्तिबिच एकताबद्ध भएर निर्वाचनमा जाँदा पार्टीलाई ठुलो क्षति पुग्नेतर्फ नेकपा सचेत देखिएको छ । साथै, निर्धारित समयमै निर्वाचन भएमा जनमत प्रभावित हुनसक्ने र त्यसको सबैभन्दा ठुलो क्षति कांग्रेस र एमालेलाई पुग्न सक्ने आँकलन गरेको छ । यद्यपि प्रचण्ड सरकारकै पालामा दुई–दुई पटक विद्युत प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त भएका र ओली सरकारले बर्खास्त गर्दा प्रमुख प्रतिपक्ष दलको हैसियतले संसद्मा प्रतिरक्षा गरेकाले कुलमानको साथ आफूले पाउने प्रचण्डको बुझाइ थियो । तर अन्तिम समयमा रवि र बालेनसँगै मिलेपछि कुलमानलाई प्रचण्डले ‘गुन बिर्सिएको मान्छे’को रुपमा टिप्पणी गरेका छन् । रवि, बालेन र कुलमान एक भएपछि सबैभन्दा बढी राजनीतिक दबाबमा कांग्रेस–एमाले रहेको उनको बुझाइ छ । दबाबका कारण कांग्रेस र एमालेबिच चुनावी तालमेल हुन सक्ने प्रचण्ड–माधवको आँकलन छ । सम्भावित क्षतिलाई रोक्न पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्ने विषयमा पटक-पटक छलफल भएको छ । तर विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसभित्र अन्तरविरोध चर्किएकाले यो मुद्दा ओझेलमा परेको छ । यी सबै राजनीतिक घटनाक्रम नजिकबाट नियालेका प्रचण्ड–माधवले चुनावी तालमेल सहित मोर्चाबन्दी बनाउने विषयमा कांग्रेस र एमालेका शीर्ष नेताहरू सम्पर्कमा रहेको बुझिएको छ । ‘राजनीतिमा धेरै सम्भावना हुन्छ । फरक-फरक पार्टी त एकजुट भए । त्यो सम्भावना देखियो नि । अहिलेसम्म देशका लागि काम गरेका, संविधान निर्माणमा काम गरेका राजनीतिक दलहरूबिच सहकार्य, सहमतिको सम्भावना निरन्तर रहिरहन्छ । राष्ट्रियसभामा बढी सम्भावना छ । त्योसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि छ’, उनले भने । देउवासँग भेटघाट भएको स्वयम् प्रचण्डले नै बताएका छन् । ओली सरकारका गृहमन्त्री समेत रहेका रमेश लेखकले कांग्रेस, एमाले र नेकपाबिच चुनावी तालमेल हुन सक्ने सन्देश दिएका छन् । शुक्रबार एक टेलिभिजन कार्यक्रममा लेखकले राजनीतिमा सम्भावना हुने स्पष्ट पारे । सम्भावित संसद् पुनर्स्थापनाका लागि कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षर जुटाएका सर्वोच्च अदालतमा पूरक रिट निवेदन दिइसकेका छन् भने सँगै चुनावी तयारीमा पनि लागेका छन् । यस्तै नेकपाका शीर्ष नेता र एमालेका नेता पनि चुनावी तालमेल, एकताको विषयमा निरन्तर छलफलमा रहेको बुझिएको छ । केही दिनअघि प्रचण्डले ओलीसँग भेट भएको स्रोतले बतायो । भेटवार्ताको लोकेसनबारे खुलाइएको छैन, तर एमालेसँग मात्र चुनावी तालमेलको सम्भावना नभएको प्रचण्ड निकट एक नेताले बताए । बरु कांग्रेस, एमाले सहित तीन दलबिच सहकार्यको सम्भावना कायमै रहेको ती नेताको भनाइ छ । नेकपाका नेता रामकुमार भट्टराईले एमालेसँग चुनावी तालमेल गर्ने पक्षमा मात्र आफूहरू नभएको स्पष्ट पारे । शीर्ष तहमा सबै पक्षसँग छलफल भइरहेको भएपनि एमालेसँग मात्र चुनावी तालमेलको सम्भावना नदेखिएको भट्टराईले बताए । यदि कांग्रेस र एमालेबिच मात्र गठबन्धन भए नेकपा प्रतिपक्षमा बस्ने उनको भनाइ छ ।‘जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण ओली र हामीबिच फरक छ । एमालेसँग मात्र तालमेल, एकताको सम्भावना देख्दिनँ । तर संविधान, लोकतन्त्र र व्यवस्था बचाउन कांग्रेस, एमाले सहित तीन दलबिच चुनावी तालमेल तथा मोर्चाबन्दी हुने सम्भावना देखिन्छ’, प्रचण्ड निकट एक नेताले रातोपाटीसँग भने । ‘वामपन्थीबिच एकता आवश्यक छ । हामी एकताको पक्षमा छौँ । चुनावमा तालमेल गर्ने, सरकार बनाउने खेलले पार्टी कमजोर भयो । त्यो गल्ती अब दोहोर्‍याउँदैनौं,’ उनले भने, ‘कांग्रेस र एमालेबिच तालमेल भए नेकपा एक्लै चुनावमा भाग लिन्छ । निर्वाचनपछि बलियो प्रतिपक्ष भएर पार्टी निर्माणमा लाग्छौँ ।’ भट्टराईले अहिलेको रास्वपा २०६४ को माओवादी जस्तै भएको जिकिर गरे । रवि, बालेन र कुलमानको एकताले एक कार्यकालमा बलियो उपस्थिति देखिन सक्ने तर अन्ततः देशको नेतृत्व गर्न नसक्ने भट्टराईले जिकिर गरे । उनले एक्लै चुनाव लडेमा १६५ सिटमध्ये कम्तीमा ४५ सिट जित्ने अनुमान गरे । नेता हरिबोल गजुरेलले नेकपा एक्लै चुनावमा गए पार्टीलाई झन् फाइदा हुने जिकिर गरे । अघिल्ला निर्वाचनमा वामपन्थी गठबन्धन बाहेक अन्य गठबन्धन जनताले नरुचाएकाले फेरि त्यस्तो गल्ती दोहोर्‍याउने पक्षमा आफूहरू नभएको उनले स्पष्ट पारे । अर्का नेता अग्निप्रसाद सापकोटाले कांग्रेस, एमाले तथा रवि, बालेन र कुलमान मिलेपनि नेकपालाई केही फरक नपर्ने जिकिर गरे । त्यस्तो अवस्थामा नेकपा एक्लै आत्मविश्वासका साथ चुनावमा जाने उनले स्पष्ट पारे । ‘२०७९ को निर्वाचनमा भन्दा अहिले माहोल राम्रो बन्दै गएको छ । समानुपातिक बन्दसूचीका कारण रास्वपा बदनाम हुँदै गएको छ,’ गजुरेलले भने, ‘सबै नयाँ अनुहार पठाएकाले बाहिर नेकपाको राम्रो सन्देश गएको छ । चुनावमा कांग्रेस र एमाले मिलेर गएछन् भने पनि हामीलाई झन् फाइदा हुन्छ ।’ यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीसँग पनि नेकपाले एकता र सहकार्यको विषयमा निरन्तर छलफल गरिरहेको छ । माओवादीसँग सम्भव भएसम्म पुस मसान्तसम्म एकता गर्ने नभए चुनावी तालमेल गर्ने विषयमा छलफल सकारात्मक भएको दुवै पार्टीका नेताहरूले बताएका छन् । माओवादीबाट महासचिव विप्लव आफैं छलफलमा सक्रिय छन् भने नेकपाबाट नेता कृष्णबहादुर महरा सक्रिय रहेको बुझिएको छ ।नेकपाले प्रमुख दलहरूबिच चुनावी तालमेल, सहकार्य र मोर्चाबन्दीको ढोका खुला राख्दै अन्य वामपन्थी घटकलाई एकता र सहकार्य निरन्तरता दिएको छ । १६ वटा वामपन्थी घटकसँग एकता गरेको नेकपाले पछिल्लो समय रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकता सहमतिमा हस्ताक्षर गरेको छ । नाउपासँगको एकता सहमतिले पश्चिम र सुदूरपश्चिम नेपालमा राम्रो प्रभाव पार्ने नेकपाको निष्कर्ष छ । नेकपाले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलहरूबिच तालमेल गर्ने विषयमा छलफल जारी राखेको छ । तर तालमेल गर्ने विषयमा ठोस निष्कर्षमा नपुगेको नेताहरूले बताएका छन् । राष्ट्रियसभातर्फ उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्न निर्देशन दिइएको छ । राष्ट्रियसभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने भनिएको छ । नेकपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने भनेको छ । सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए/नभएको खुलाउने, सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्न परिपत्रमा भनिएको छ । नेकपाको धेरै जिल्लामा उम्मेदवार सिफारिस खाली राखिएको छ ।

Like