परशुराम जयन्ती
ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनी आएका अनि महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरू हुन् भने परशुरामका साक्षात् गुरुका रूपमा भने देवाधिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ परशु (बन्चरो) उनलाई दिएका थिए । त्यही अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र सङ्कल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पूजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।
भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ । पौराणिक कथनहरू अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरू लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरञ्जीवी अर्थात् अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यही भएर परशुराम जन्मिएको दिन वैशाख शुक्ल तृतीया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ । कलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयिता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारत वर्षका सम्पूर्ण प्राचीन गाउँ अनि नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । उत्खनन क्रममा समुन्द्र बिचमा भेटिएको प्राचीन द्वारका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानिक संरचनाले पनि प्राचीन काल देखिनै भएको वैज्ञानिक विकासमा परशुरामको योगदानको व्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरू मध्य छैठौ अवतार हुन् । परशुरामलाई पितृ वचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार संसारका सबै कुरा नाशवान् छन् तर परशुराम यस्ता महान् पात्र थिए जो कालबाट समेत अपराजित थिए । परशुरामको कला यिनै अमर परशुरामको कृपाले हामी सबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।
अन्तर्राष्ट्रिय नृत्य दिवस
नृत्य भावना र मानविय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतिक हो । नृत्य दर्शन पनि हो । मानिस खुशि अभिव्यक्त गर्न नाच्ने गर्दछ । मानिस मात्रै होइन पशुपंक्षि पनि नाच्ने गर्दछन् । मयुर र बाँदर नाचेको हामी सवैले देखेका छौँ । भगवानहरूको पनि नृत्यलाई आ–आफ्नै नामाकरण गरिएको छ, बिहे व्रतबन्ध अनि अन्य कुनै पनि जीवन उन्मुख क्रियाकलाप नृत्यविना परिपूर्ण मानिँदैन । अहिले जुम्बा, हिपहप, ब्रेक डान्स,बालेट, साल्सा लगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेशा पनि बन्न थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारि पाएका छन् । आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरे (Jean-Georges Noverre )को जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य दिवस मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थाको नृत्य समितिले यो दिवस मनाउन सुरु गरेको हो । नृत्यको अनेक फाइदाहरु भएकाले यसलाई उपयोगी कसरतको रुपमा लिन सकिन्छ । अचेल बिहान योगको अभ्यास गर्ने मानिसहरुले पनि केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइन्छ । केहि समय नाच्नाले हृदय तथा फोक्सोको अवस्तामा सुधार आउँने गर्दछ । नृत्यले मानिसको मांसपेशि बलियो बनाउँन सहयोग गर्दछ । साथै यसले हड्डिहरु पनि बलियो बनाउँन महत्वपुर्ण भुमिका खेल्दछ । यसर्थ, नृत्यका अनेक फाइदाहरु रहेका छन् । विश्व नृत्य दिवसले आम जनतामा नृत्यको महत्त्वबारे चेतना अभिवृद्धि गर्दछ । यसको लक्ष्य संसारभरका सरकारहरूलाई सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो ।