पूर्वउपराष्ट्रपति पासाङ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष
रासंसा/काठमाण्डौ, चैत्र २४,
मुलुकमा नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । यसअघि गत माघमै पासाङ पार्टी राजनीतिमा औपचारिक रूपमा फर्किएका थिए । जसअनुसार पार्टीले पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गर्नुका साथै उपाध्यक्षको जिम्मेवारी समेत दिएको उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो । उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै उनी अनौपचारिक रूपमा माओवादीको आन्तरिक बैठकमा सहभागी हुँदै आएका थिए । अब भने उनी पदाधिकारीको थप जिम्मेवारीसहित पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् । पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेको चर्चा भएको थियो । तर, सर्वत्र आलोचना भएपछि उनलाई जिम्मेवारी दिने प्रचण्डको चाहना स्थगित हुँदै आएको थियो । गत उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।पासाङ राजनीतिमा फर्किन लागेकोबारे समाचार पहिलो पटक रातोपाटीले प्रकाशित गरेको थियो । समाचार पछि यसबारे पार्टीभित्र र बाहिर व्यापक बहस समेत सिर्जना भएको थियो । गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए । उक्त बैठकमा पासाङलाई पार्टीमा जिम्मेवारी दिने विषयमा कैयन केन्द्रीय समिति सदस्यहरूले असहमति समेत राखेका थिए । सोही असहमति र पार्टिभित्रको आन्तरिक समीकरण मिलाउन पासाङलाई पदाधिकारीमा नल्याएका प्रचण्डले हाल आएर भने उपाध्यक्ष बनाएका हुन् । जसअनुसार संसदीय राजनीतिमा लागेका उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यससँगै माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए । तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजीनामा प्रवेश गरेका थिए ।