सर्वाधिक मूल्यमा बिके ८ खेलाडी – नेपाल सुपर लिग
रासंसा/काठमाण्डौ, फाल्गुण १०,
मुलुकमा तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को मिनी अक्सन सम्पन्न भएको छ। शनिबार काठमाडौंमा भएको मिनी अक्सनबाट लिगमा सहभागी हुने सात टिम तयार भएको छ। अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका थिए। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ लाख र म्याक्सिमम प्राइस ४ लाख रुपैयाँ तोकिएको थियो भने त्यस्तै क्याटगरी ‘बी’ को बेस प्राइस १ लाख ५० हजार र म्याक्सिमम प्राइस २ लाख रुपैयाँ तोकिएको थियो। आउँदो चैत महिनामा हुने प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी सहभागी हुँदैछन्। मिनी अक्सनमा आठ खेलाडी सर्वाधिक चार लाख रुपैयाँमा बिक्री भएका छन्। जसमा मणिकुमार लामा, अभिषेक लिम्बू, सुमित श्रेष्ठ, पासाङ लामा, आशिष गुरुङ, दिनेश हेम्जन, जेलेस्पीजंग कार्की र सन्तोष कार्की रहेका छन्। अक्सनमा केही नाम चलेका खेलाडीहरू बिक्री भएनन्। मिनी अक्सनसँगै अब विदेशी खेलाडी र स्थानीय खेलाडी छनोट हुन बाँकी रहेको बताइएको छ।