जय ट्रफीको पहिलो खेलमै चम्किए खेलाडी
रासंसा/बारा, पौष २३,
मुलुकमा वीरगन्ज र जनकपुरमा जारी जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ। दुई दिवसीय फरम्याटमा आइतबार र सोमबार भएको खेल नतिजाविहीन बन्न पुग्यो। बागमती, मधेस र पुलिसले १५ अंक पाउँदा आर्मीले १४ अंक बटुलेको छ। २०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहेका चार टिमले जय ट्रफी पुरुष एलिट कप खेलिरहेका छन्। प्रधानमन्त्री कपमा समान ९ खेल खेलेर नेपाल पुलिस क्लबले १८, आर्मीले १४, बागमती र मधेसले १२/१२ अंक प्राप्त गरेका थिए। पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कपको उपाधि जितेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले संघका संस्थापक जयकुमार नाथ शाहको स्मृतिमा जय ट्रफी प्रतियोगिताको सुरुवात गरेको हो। क्यानको साधारणसभाले नै शाहको सम्झनामा जय ट्रफी स्थापना गर्ने निर्णय गरेको हो। क्यानका सचिव पारस खड्काले जय ट्रफीले खेलाडीको क्षमतालाई विकास गर्ने हुँदा यसलाई निरन्तरता दिँदै अघि बढ्ने बताए। प्रतियोगिताअन्तर्गत वीरगन्जको नारायणी रंगशालामा विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिडेका थिए भने जनकपुरको रामजानकी मल्टिपर्पोज रंगशालामा बागमती प्रदेश र मधेस प्रदेशबीच खेल भएको थियो। बराबरीमा सकिएको दुवै खेलको चारवटै टिमले अंक बाडेका छन्। जय ट्रफीमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् मधेस प्रदेशका मयन यादव। मयनले बागमती प्रदेशविरुद्धको दोस्रो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। सर्लाहीका मयन यादव जनकपुर बोल्ट्ससँग आबद्ध थिए। उनले जनकपुर बोल्ट्सबाट एनपीएलको क्वालिफायर र फाइनल खेलेका थिए। उनले एक सय आठ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै एक सय ६ रन बनाए। मयनको यो खेल जीवनकै पहिलो शतक हो भने कुनै पनि प्रतियोगितामा प्रहार गरेको सर्वाधिक रन पनि हो। यु-१९ राष्ट्रिय खेलाडी मयनले मंसिरमा दुबईको शारजाहमा सम्पन्न एसीसी यु-१९ एसिया कप क्रिकेटमा श्रीलंकाविरुद्ध ६२ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए। उक्त अर्धशतक उनको दोस्रो उच्च स्कोर हो। वीरगन्जमा भएको नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीचको खेलमा लेफ्ट आर्म स्पिनर साहब आलम एक्लैले १० विकेट लिए। आर्मीका आलमले पहिलो इनिङमा आठ र दोस्रो इनिङमा दुई विकेट लिए। पहिलो इनिङमा १५.१ ओभर बलिङ गर्दै ५९ रन खर्चिएर आलमले आठ विकेट लिएका थिए भने दोस्रो इनिङमा १८ ओभर बलिङ गरेर दुई विकेट लिए। आलम उक्त खेलको प्लेयर अफ दी म्याचसमेत घोषित भए। आलम नेपाल आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् भने हालै सम्पन्न नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजबाट खेलेका थिए। एनपीएलको सात खेलमा उनले ६ विकेट लिएका थिए। प्लेयर अफ दी म्याच घोषित सन्दीपले पहिलो इनिङमा आउट गरेका चार खेलाडीलाई दोस्रो इनिङमा पनि शिकार बनाएका थिए। मधेसका मयन यादव, साहिल पटेल, हिमांशु दत्त र अभिषेक तिवारी दुवै इनिङमा सन्दीपको बलमा आउट भएका थिए। त्यसबाहेक पहिलो इनिङमा निरज यादव र दोस्रो इनिङमा बिशाल पटेल सन्दीपको बलमा आउट हुँदै पेभेलियन फर्किए। जनकपुरको रामजानकी मल्टीपर्पोज रंगशालामा राष्ट्रिय टिमका मुख्य बलर एवं बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले १० विकेट हात पारे। मधेस प्रदेशविरुद्ध पहिलो इनिङमा पाँच विकेट लिएका सन्दीपले दोस्रो इनिङमा पनि पाँच विकेट हात पारे। लेफ्ट आर्म स्पिनर ललित राजवंशीले आर्मीविरुद्ध ९ विकेट लिए। पहिलो खेलमा १४.४ ओभर बलिङ गर्दै सात विकेट लिएका ललितले दोस्रो इनिङमा २० ओभर बलिङ गरेर दुई विकेट लिए। दोस्रो इनिङ महँगो सावित भए पनि समग्रमा ललितले आकर्षक प्रदर्शन गरे। पहिलो इनिङमा ललितले सात विकेट लिएका कारण आर्मी एक सय २१ रनमै रोकिन पुगेको थियो। ललित राष्ट्रिय टिमका स्पिनर हुन्। उनी एनपीएलमा जनकपुर बोल्ट्समा आबद्ध थिए। उनी पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन्। नेपाली राष्ट्रिय टोलीका अलराउण्डर सोमपाल कामीले पुलिस क्लबविरुद्ध उत्कृष्ट ब्याटिङ गरे। नेपाल आर्मीबाट घरेलु क्रिकेट खेलिरहेका सोमपालले पुलिसविरुद्ध दोस्रो इनिङमा अविजित ८२ रन बनाए। सोमपालले एक सय २८ बलमा १० चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो इनिङमा ओपनर भएर मैदान प्रवेश गरेका सोमपाल पाँच रन बनाएका थिए। तर, दोस्रो इनिङमा उनी चार विकेट गुमेपछि मात्रै मैदान प्रवेश गरे। स्पिनर हाबी भएको पिचमा बलिङतर्फ खासै जम्न नसकेका सोमपालले ब्याटिङमा भने सम्झनलायक प्रदर्शन गरे। प्रतियोगिताअन्तर्गत बुधबारदेखि दोस्रो खेल सुरु हुँदैछ। वीरगन्जमा हुने खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् भने जनकपुरमा हुने खेलमा नेपाल आर्मी क्लब र बागमती प्रदेशबीच खेल हुनेछ। प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। वीरगन्जमा हुने फाइनल खेल भने तीन दिवसीय हुनेछ।