सीमांकन तथा नक्सांकन दूधमतीमा सुरु
भोगेन्द्रलाल कर्ण/धनुषा, पौष २०,
मुलुकमा ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दूधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारणका लागि सीमांकन, नक्सांकन तथा उत्खनन सुरु गरिएको छ । उद्गमस्थल धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगरदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै प्राकृतिक बहाव क्षेत्रको सौन्दर्यीकरणका लागि सीमांकन तथा नक्सांकनको कार्य सुरु गरिएको हो । सरकारी अधिकारीहरूसमेत सम्मिलित मुख्यमन्त्री सिंह तथा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीसहितको टोलीले दूधमती पोखरीसँगै दक्षिणी भू–भागसम्मको नदी अवलोकन गरेको हो । दूधमती नदीलाई धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लिखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गमस्थलमा ठूलो मेला लाग्ने गर्छ । दूधमती नदी संरक्षण उच्चस्तरीय उप–समितिका अध्यक्ष ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवको नेतृत्वमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा २०२४÷०२६ सालमा भएको नापीका आधारमा दूधमती नदीको सीमा यकिन गर्ने तथा दूधमतीको प्राकृतिक बहाव क्षेत्र खाली गराउन सीमांकन तथा नक्सांकनको प्रारम्भ भएको हो । लक्ष्मीनियाँ–३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहाव क्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ । ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, मन्त्रालयका सचिव जक्की अहमद अन्सारीसहितको संयुक्त टोलीले नेपालको झण्डा हल्लाएर सीमांकनको सुरुवात गरे । धनुषा महोत्तरी क्षेत्रमा कुल २९ किलोमिटरमा दूधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्साअनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुट्ट्याउने गरी पैनी खन्ने काम गत आइतबारदेखि सुरु गरिएको छ । उच्चस्तरीय समितिका अध्यक्ष तथा मन्त्री शेषनारायण यादवले दूधमती नदीको सौन्दर्यीकरण मन्त्रालयको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रिम प्रोजेक्टका रूपमा अघि बढेको बताए । उनले भने, ‘अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेकाले यसमा स्थानीय जनताको समेत प्रत्यक्ष संलग्नता आवश्यकता छ । करिब ५ अर्बको बहुवर्षीय परियोजनाअन्तर्गत दूधमती बहाव क्षेत्रबाहेक दुवैतर्फ ११÷११ मिटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक २÷२ किलोमिटरको दूरीमा ड्यामको व्यवस्था हुनेछ ।’ दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरीमात्र नभई नेपाल भारतसमेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने दूधमती नदी सरोकार समाजका जनकपुरधामका अध्यक्ष सुदीप मण्डलको भनाइ छ । दूधमती नदी पर्यटकीय क्षेत्रमा रूपमा विकास भए क्षिरेश्वरनाथ नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर हुने उनले बताए । उनले भने, ‘नदीको उकास विकाससँगै दूधमती नदीको एक डेढ किलोमिटर क्षेत्रफललाई तालका रूपमा विकास गरे स्थानीय सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्छ ।’ कार्यक्रममा स्थानीय तहको तर्फबाट क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले परियोजना सुरु गरेपछि नगरपालिकाबाट २५ लाख र लक्ष्मीनिया गाउँपालिकाका प्रतिनिधिले ११ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । आगामी वर्षदेखि डीपीआर अनुसार बढीभन्दा बढी बजेट छुट्ट्याउने प्रतिबद्धता मन्त्री यादवले जनाए । नदीलाई डम्पिङ साइट बनाउने र जग्गा अतिक्रमण गर्दा यसको अस्तित्व नै धरापमा पुग्ने हुँदा ऐतिहासिक दूधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान समिति गठन गरी नियमित सफाइ अभियानमा जुट्दै आएका प्रदेशसभा सदस्य रामआशीष यादवले मानव सभ्यता र पर्यावरण जोगाउन सबैले संकल्प लिनुपर्ने बताए । नदीको इतिहास देवी सीतासँग जोडिएकाले संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ छ । ‘पहिले हामीले दूधमतीको पानी पिउथ्यौं, साधुसन्त, स्थानीयवासी सबैले पिउँथे, पछिल्लो समय ध्यान नपुग्दा दूषित बन्यो,’ उनले भने, ‘नदीको पानी पहिले जस्तै सफा बनाउनुपर्छ ।’ दूधमती इतिहास त्रेता युगसँग जोडिएको धार्मिक मान्यता छ । मिथिलाका राजा जनककी छोरी सीताको जीवनसँग जोडिएको हुँदा दूधमती नदीको छुट्टै महत्व छ । राजा जनकले सीतालाई दूध खुवाउन कामधेनु गाई नै मगाएका थिए । बाल्यकालमा सीताले कामधेनु गाईको दूध खाने क्रममा मुखबाट झरेको दूधको फिँजले दूधमती नदीको उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । दूधमती नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदी मानिन्छ । यो नदीलाई हिन्दु धर्मावलम्बीहरू पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्ण स्थलका रूपमा लिने गरेको छ । दूधमती नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने र चिताएको पुग्ने जनविश्वास छ । संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ भने संस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यता समेत हराउँदै गएको छ । सीताको जीवनसँग जोडिएको धार्मिक तथा ऐतिहासिक नदी अहिले इतिहासमै सीमित हुने अवस्थामा पुगेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका— ५ सखुवा महेन्द्रनगर देखि सुरु भएको दूधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बगेर लोप हुन्छ ।