छोटो चलचित्र प्रतियोगिता ‘पाँचौँ आइवार्ट नेपाल २०२४’ सम्पन्न
रासंसा/काठमाण्डौ, मार्ग २३,
मुलुकमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) नेपाल शाखाको आयोजनामा ‘पाँचौँ आइर्वाट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महिला चलचित्र झैँ हरेक क्षेत्रमा नेतृत्व लिन र कार्य गर्न सफल रहेको बताए । उनले भने, “यी चलचित्रले महिला कति बलिया छन् भन्ने देखाएको छ । यस्ता कार्यक्रमलाई प्रवर्द्धन गर्न र सहयोग गर्न मन्त्रालयसँगै चलचित्र विकास बोर्ड तत्पर छ । यस्ता गतिविधिले महिलालाई अगाडि बढाउनाका साथै आत्मनिर्भर बन्न सहयोग र प्रेरित गर्छ ।” उनले महिला चलचित्रकर्मीलाई लक्षित गर्दै विभिन्न कार्यक्रम ल्याउनेसमेत बताए । आज यहाँ पर्यटन बोर्डको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा ज्योत्सना सिंह ठकुरीले निर्देशन गरेको ‘द कल’ विजेता घोषणा भएको छ । साथै, सरिता शाहले निर्देशन गरेको ‘सिया’ र रजिला श्रेष्ठले निर्देशन गरेको ‘छेसाङ’ लाई विशेष पुरस्कार (स्पेसल अवार्ड) प्रदान गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले प्रतियोगितामा सहभागी भएका पाँचवटा छोटा चलचित्रलाई बोर्डको कार्यक्रम प्रदर्शन गर्ने इच्छा जाहेर गरे । “यी चलचित्रले दिएको सन्देशमा धेरै महिलालाई सपना पूरा गर्न प्रोत्साहन दिन सक्छ । सोही कारण म यी चलचित्र अन्तर्राष्ट्रिय नारी दिवसमा देखाउन चाहन्छु । समाज र समुदायलाई शिक्षित गर्नाका साथै सकारात्मक सन्देश प्रवाह गर्ने यस्ता कार्यक्रमलाई बोर्डले वार्षिक क्यालेन्डरमै राखेर सहयोग गर्नेछ”, उनले भने । कार्यक्रममा चलचित्र निर्देशक तथा पत्रकार सम्झना उप्रेती रौनियारलाई सम्मान गरिएको थियो । पाँचौँ शृङ्खलासम्म आइपुग्दा सहभागिता र सहकार्य बढिरहेकाले यसले आगामी दिनमा पनि निरन्तरता दिने प्रतियोगिताकी संयोजक तथा चलचित्र निर्देशक सङ्गीता श्रेष्ठले बताइन् । उनले चलचित्र निर्देशनमा आउने महिलाको कमी नदेखिए पनि निरन्तरता दिनेको भने कमी रहेका कारण सरकारसँगै सम्बन्धित क्षेत्र र सङ्घसंस्थाबाट प्रोत्साहन गर्न जरुरी रहेको बताइन् । संयोजक श्रेष्ठका अनुसार प्रतियोगितामा १८ वटा छोटा चलचित्र सहभागी भएका थिए । “यो प्रतियोगिता अन्यभन्दा फरक हुनु नै हामीले महिला चलचित्रकर्मीलाई मात्र सहभागी गराउनु हो । अहिले पनि उहाँहरू चलचित्र निर्देशनमा अगाडि आउन हिच्किचाउनु भएको पाएकी छु । सोही कारण हामी उहाँहरूलाई प्रोत्साहन गर्न र महिलाको कथालाई महिलामार्फत नै ल्याउन यस्ता प्रतियोगितासँगै विविध कार्यक्रम गर्ने गरेका छौँ ।” अनुपा श्रेष्ठ, रक्षासिंह राणा र अविरल थापा निर्णायक रहनुभएको समूहले अन्तिम प्रतिस्पर्धाका लागि पाँच चलचित्र छनोट गरेका थिए । विजेताबाहेक हिमानी शाह पराजुलीले निर्देशन गरेको ‘म पढ्न चाहन्छु’ र सोफिया महर्जन कार्कीको ‘द गर्ल शट अफ दार्चुला’ कार्यक्रममा प्रदर्शन गरिएका थिए ।