आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २४,

भ्रष्टाचार लाई नाई भनौं, हरेक नाई को मुल्य हुन्छ ।
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
सन् २०२४ को नाराः Engage in Transparency: अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने अर्थ लाग्दछ । सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिदैछ ।
“हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले”
महाकविका यी हरफ आजपनि उत्तिकै सार्थक छ, जीवनको मूलभूत उद्धेश्य भनेको साधारण जीवनशैली र असाधारण र विलक्षण विचारहरुको र उदाहरणहरुको सृजना हो । सोक्रेटस्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रुमी, गौतम बुद्ध अनि नेलशन मण्डेलाहरुलाई उनिहरुले कमाएको धन नभई उनिहरुको ब्यक्तित्व, विचार अनि समाज परिवर्तनका आधारहरु खडा गरेकाले मात्र हामीले चिनेका हौ र श्रृष्टि रहुञ्जेल पुस्तौ पुस्ताकाबिच जीवित रहनेछन् ।
भ्रष्टाचार आजभोली संसारभरि एउटा साझा समस्याका रुपमा बढीरहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतीक अनि वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने गर्दछ । मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी जरा गाडेको छ । यसले आर्थिक उन्नतीलाई धरासायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ । पैसा अनि सुखी जीवनशैली लगायत निरन्तरका नव सपनाहरुले हामी ग्रसित नभईकन् सुखी र आफ्नो पसिनाको कमाईले वाँचन सिक्न जरुरी छ, सरकारलाई कर तिर्न र त्यसको पैरवीगर्न पनि हाम्रो अधिकार र दायित्व हो । भ्रष्टाचार मार्फत सम्पती कमाउनु छोटो उन्नतीको वाटो त होला तर ठगेर, झुठो वालेर अनि संसारलाई पिरोलेर कमाएको अझ भनौ लुटेको सम्पती एउटा दुर्भाग्यदायी अपुताली भन्दापनि नराम्रो कुरा हो । यस्तो सम्पतीले पुस्तौ पुस्ता पिरोल्छ । हामी आफैले कर तिरेर खडा गरेका सरकारी संयन्त्रहरु अनि त्यसैबाट तलब खाने कर्मचारीहरुले नै सहज कार्यकालागि पनि घुमाउरो गरि दुखः दिने गर्दा, उनीहरुले सामान्य कार्यको दुःखदायी परिभाषा दिंदा राज्यप्रति अनि आफूले तिरेको करप्रति धिक्कार लाग्नू स्वभाविक छ । वास्तवमा सुशासन भनेको पारदर्शीता नै हो । भ्रष्टाचारले पारदर्शीताको कमी गराउँछ अनि प्रजातन्त्रप्रतिको विश्वासको धरातललाई धमिल्याईदिन्छ । हामीले चुनेर पठाएका प्रतिनिधीहरुलेनै संसदमा गएर राज्यकोष अनि सुविधाको बढ्दो दुरुपयोग र भ्रष्टाचारले अाम जनताको चुनाव र संसदिय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै नजाअोस् । कानूनले गरेका प्रावधान भन्दापनि हामीभित्र रहेको सोंचाई भ्रष्टाचारविरुद्ध अगाडी बढ्नकालागि जरुरी छ । मान्छेलाई उसले बनाएका घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन जरुरी छ । स्वतन्त्र, सभ्य, समान अनि भ्रष्टाचारमुक्त पारदर्शी समाजको शुभकामना । भ्रष्टाचार विरूद्धको अभियानमा लागेका अभियन्ताहरूलाई सलाम, यस बिरूद्ध हामी सबै अघि बढाैं, घूसखोरी र भ्रष्टाचारीको चरमलाई जरैदेखि उखेल्न हातेमालोमा संलग्न हौँ । नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी अाएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।

Like