खानेपानी मन्त्री यादवको भनाई, पोखराबासीले आजदेखि धाराबाट सिधै शुद्ध खानेपानी पिउन पाउनेछन्
मिनबहादुर कुँवर/कास्की, मार्ग १४,
मुलुकमा खानेपानी मन्त्री प्रदीप यादवले पर्यटकीय नगरी पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउन पाउने बताएका छन्।त्यस्तै मन्त्री यादवले यसभन्दा अघि पोखराबासीले वर्षातको समयमा हिलो मिसिएको पानी खानुपर्ने अवस्था रहेकोमा आजका मितिबाट यहाँका नागरिकहरूको उक्त पीडा सदाका लागि समाप्त भएको जिकिर गरे। उनले भने, ‘सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउनका लागि तयार छ। हामीले मेलम्ची पछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौं। अब पोखराबासीले हिलो मिसिएको पानी खानु पर्ने अवस्था आउने छैन। आजबाट हिलो मिसिएको पानी धारामा आउँछ भन्ने गुनासो पनि समाप्त भएको छ।’ पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानअन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरूको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताए। ‘माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएका छौं। आजबाट शुद्ध र सुरक्षित खानेपानी वितरण सुरु भएको छ। जुन पानी शुद्ध अनि सफा छ। सिधै धाराबाट पिउन सकिने छ,’ उनले भने। आज पानी वितरण गर्नका लागि उद्घाटन गरिएको यस परियोजनाले पोखरा महानगरपालिका क्षेत्रका नागरिकहरूलाई स्वच्छ, सुरक्षित, र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने मन्त्री यादवले बताए। ‘जापान सरकार र नेपाल सरकारबीचको यो सहकार्यले विकास निर्माणका परियोजनाहरूलाई समयमै सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको छ,’ उनले भने, ‘यसका लागि जापान सरकार जाईकाप्रति हार्दिक आभार व्यक्त गर्दै खानेपानीका क्षेत्रमा थप सुधारका लागि हाम्रो प्रतिबद्धता जारी रहनेछ।’ आजदेखि दैनिक चार करोड लिटर शुद्ध र सुरक्षित खानेपानी यो ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पठाउने भएकाले पोखरामा अब पानीको समस्या कहिले नहुने मन्त्री यादवको दाबी छ। उनले भने, ‘पोखरामा आजबाट वितरण गरिएको पानीमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर खानेपानीमा हुने भौतिक, रासायनिक र सक्ष्म जैविक तत्वको मात्रा र स्तर निर्धारण गरिएको छ, ढुक्कका साथ पिउन सकिने छ।’ माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि, स्थानीयवासीको सहयोग समर्थनमा पोखरामा शुद्ध खानेपानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवले माछापुच्छ्रेबासीलाई धन्यवाद समेत व्यक्त गरे। ‘अतिथिदेवो भव: पोखरा महानगरपालिकाका १९ वडामा रहेका कम्तिमा पनि चार लाख नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनुभयो, तपाईंहरुका समस्याको समाधानका लागि म सहित सिङ्गो मन्त्रालय तयार रहेको छ,’ उनले भने।