कुष्मान्ड नवमी व्रत, महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र), शान्ति र विकासको लागि विश्व विज्ञान दिवस

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २५,

भगवान् विष्णुले कुष्माण्ड नामक दैत्यको वध गरेका हुन्। त्यसै कारण आजको दिनलाई कुष्माण्ड नवमी भनिएको हो। अमला भगवान् विष्णुको प्रिय फल रहेकाले आज अमलाको विशेष महत्त्व रहेको हो। आजको दिनलाई अक्षय नवमी पनि भनिन्छ।
आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान् विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।
“अमला”लाई एउटा फलको रूपमा मात्र हेरेका हामी सबैलाई सायद यो कुरा थाहा नहुन सक्छ कि थुप्रै गुणहरूले भरिपूर्ण यो फलको धार्मिक मान्यता पनि उतिकै रहेको छ। “अमला” फलको वृक्षमा भगवान् विष्णु र भगवान् शिवको बास हुने धार्मिक मान्यता रहेको छ। त्यसैले आजको दिन सबैले शुद्ध चित्तले अमलाको वृक्षको पूजा अर्चना गरेमा भगवान् विष्णु र भगवान् शिवको कृपा रहने र अझ अमला र पिपलको विवाह गराइदिनाले अधिक पुण्य प्राप्त हुने मान्यता रहेको पाइन्छ। यसरी कमाइएको पुण्य यस जन्ममा मात्र नभई आउने कैयौँ जन्मसम्म फलदायी रहने समेत विश्वास गरिन्छ।
पुराणमा उल्लेख भए अनुसार आजकै दिन (कार्तिक शुक्ल पक्षको नवमी तिथि)
यो विशेष दिनमा अमलाको वृक्षबाट अमृतको थोपाहरू झर्ने मान्यता छ त्यसैले आज अमलाको वृक्ष तल बसेर भोजन गर्नाले पनि समस्त रोगव्याद नष्ट हुने जनविश्वास छ। आज बिहान उठेर नुहाएपछि अमलाको वृक्षमा शुद्ध जल चढाउनु निक्कै फलदायी मानिन्छ। यसरी जल चढाएर आजको दिन व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भई सबै मनोकामना पुरा हुने जनविश्वास रहेको छ।
महागुरु फाल्गुनन्द जयन्ती
युग पुरुषहरूबारे पनि विभिन्न सामग्री गर्दै आएको छ, उनीहरूको जन्म जयन्तीको अवसरमा इतिहासका विभिन्न पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ । भनिन्छ, युग पुरुषहरूको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरूले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँ युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ । यस्ता युग पुरुषहरूले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, त्यसलाई समाजमा उपयोगी होस् भनेर ज्ञानको भण्डारलाई बाँड्ने पनि गर्छन् ।
पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदायमा गुरु फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ ।आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुननन्दबारे । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुननन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरूको मग हिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ । नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।
शान्ति र विकासका लागि विश्व विज्ञान दिवस
अहिलेको समाजका नागरिकहरुलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र संघ, समाजलाई विज्ञानको संगसंगै या भनौ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरुको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढावा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रीय र अन्तरराष्ट्रीय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्। हरेक बर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाईने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभरिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरि विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासंगिकतालाई कसरी प्रभाव पार्दछ भनि बुझ्नको लागि संयुक्त राष्ट्र संघले यो दिवस मनाउन सुरु गरेको हो। सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरु सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरुले यूनेस्कोकै पहलमा वित्तिय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरु बैज्ञानिक संगठन संग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ। हामि जन्मिएको यस वैज्ञानिक युगमा, विज्ञानले शान्ति र विकाशको लागि पुर्याउने योगदान अतुलनिय रहनेछ। यस दिवसको सबैमा शुभकामना।

Like