४५ लाख २५ हजार माला तिहारलाई
रासंसा/काठमाण्डौ, कार्तिक १०,
मुलुकमा यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । तिहारमा कुल ३ लाख २५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत हुने एसोसिएसनले जनाएको छ । १ लाख ५० हजार वटा मखमली फूलको माला निर्यात गरिने एसोसिएसनका तदर्थ समितिका अध्यक्ष सूर्यभक्त श्रेष्ठले बताए । एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । ‘यस वर्षको तिहारमा ३२ करोड रुपैयाँको ४० लाख माला आवश्यक पर्ने अनुमान गरिएको छ, जसमध्ये २५ लाख माला आन्तरिक र १५ लाख वटा भारतबाट आयात गरिनेछ,’ एसोसिएनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘पोहोर ३ लाख ३५ हजार वटा मखमली फूलका माला आन्तरिक बजारमा खपत भएको थियो भने १ लाख वटा मखमली माला निर्यात भएको थियो,’ उनले भने, ‘यसपालि आन्तरिक बजारमा ३ लाख २५ हजार वटा माला र १ लाख ५० हजार वटा मखमली माला निर्यात गरिन्छ ।’ मखमली फूलको व्यावसायिक खेती काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी बडीखेल, कैलाली, पाल्पा, धादिङ र इलामलगायत क्षेत्रमा भइरहेको छ । गत वर्षको तिहारमा सयपत्री फूलका प्रतिमाला ६५ रुपैयाँमा बिक्री भएको थियो भने यसपालि प्रतिमाला ८० रुपैयाँ पुग्न सक्ने एसोसिएसनका पूर्वअध्यक्ष तामाङले बताए । ‘गत वर्ष स्वदेशी र आयातित गरी ३० लाख वटा सयपत्री फूलका माला बजारमा पुगे, त्यसमध्ये स्वदेशी ९ लाख वटा र २१ लाख वटा माला भारतीय सयपत्री फूलका खपत भए,’ उनले भने, ‘स्वदेशी फूल धेरै फाल्नु पर्यो, पोहोर बिक्री नभएर फूल फालेका किसानले यसपालि फूल नै लगाएनन् । त्यसैले उत्पादन घट्यो ।’ गत वर्षको तिहारमा जस्तै यस वर्षको तिहारमा पनि २० हजार वटा गोदावारी फूलको माला खपत हुने एसोसिएसनको अनुमान छ । गोदावारी फूलको प्रति माला १ हजार रुपैयाँ पर्ने एसोसिएसनका पूर्वअध्यक्ष मीनबहादुर तामाङले बताए । यसपटक सयपत्री फूलका माला र मखमली फूलका मालाको थोक मूल्य पनि बढ्ने सक्ने अनुमान एसोसिएनको छ । गत वर्षको तुलनामा यसपालि सयपत्री फूलको उत्पादन घटेको र गत असोजमा आएको अविरल वर्षाले समेत क्षति पुगेकाले सयपत्री फूलका मालाको मूल्य बढ्ने तामाङले बताए । मखमली र गोदावारी फूलमा नेपाल आत्मनिर्भर भइसकेकाले मूल्यमा धेरै फरक नपर्ने एसोसिएसनले जनाएको छ । गत वर्षको तिहारमा प्रतिमाला ४२ रुपैयाँ ६५ पैसामा बिक्री भएको मखमली यस वर्ष एउटै मालाको ४५ रुपैयाँ पर्नेछ । सरकारले सयपत्री फूल आयातका लागि अनुमति नदिए पनि बजारमा फूल भित्रिन थालिसकेको सूचना पाएको उनले जनाए । ‘औपचारिक रुपमा फूल पाइँदैन, अनौपचारिक रुपमा भित्रिने फूललाई सरकारले कडाइ गर्नुपर्छ,’ उनले भने, ‘भारतबाट सयपत्री फूल नआएको अवस्थामा सयपत्री फूल अपुग हुन्छ । त्यस अवस्थामा मखमली र गोदावारी फूल नै प्रयोग गर्नुपर्छ ।’ एसोसिएसनले तिहारमा १५ लाख वटा सयपत्री फूलको माला भारतबाट आयात गर्ने अनुमान गरेको छ । तर सरकारले सयपत्री फूलको माला आयातका लागि अनुमति दिइनसकेको पूर्वअध्यक्ष तामाङले बताए । ‘सरकारले १६ वटा रोगकिरामुक्त माला मात्रै आयात गर्ने भनेको छ, भारतले १६ वटा रोगकिरामुक्त रहेको पत्र दिन सकेन, त्यसैले प्लान्ट क्वारेन्टाइन तथ विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूल आयातका लागि अनुमति दिएको छैन,’ उनले भने । हरेक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै आएको एसोसिएसनले जनाएको छ । सातै प्रदेशको अधिकांश भागमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शत प्रतिशत आन्तरिक उत्पादनले नै धान्ने र मुख्य गरी सहर केन्द्रित क्षेत्रहरुमा करिब ६२.५० प्रतिशत आन्तरिक तथा ३७.५० प्रतिशत आयात गरी पूरा गर्नुपर्ने अवस्था हुन सक्ने अनुमान एसोसिएसनको छ । सयपत्री फूलको व्यावसायिक खेती सातै प्रदेशमा भइरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, पाल्पालगायत जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ ।