९९.६ प्रतिशत उदयपुरमा रोपाइँ

Share to:

रासंसा/उदयपुर, भाद्र २२,

मुलुकमा समयमा नै मनसुन सक्रिय भएका कारण उदयपुरमा यो वर्षको रोपाइँ बेलैमा सकिएको छ। असार पहिलो साताबाट सुरु भएको रोपाइँ साउन तेस्रो साताभित्रै सकिएको हो। यादवका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा समयमै रोपाइँ सकिएको छ। अन्तिम तथ्यांकअनुसार उदयपुरमा कुल खेतीयोग्य जमिनको ९९.६ प्रतिशत हिस्सा क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। उदयपुरमा १३ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा बर्खेधान खेती गरिँदै आएको प्रमुख यादवले बताए। कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवका अनुसार पानीको अभाव नभएकै कारण समयमा रोपाइँ गर्न सकिएको हो। ‘सिँचाइ लाग्नेमा त समस्या भएन अकासेखेतीले पनि पर्याप्त पानी पायो’, उनले भने, ‘त्यसैले कोही पनि किसान पानी पर्खेर बस्नु परेन।’ उनले भने,‘विगत केही वर्षयता समयमा वर्षा नहुँदा साउनभित्र सक्नुपर्ने रोपाइँ असोज अन्तिमसम्म पनि हुन सकेको थिएन’, यादवले भने, ‘पानी नहुँदा रोपाइँ त भएको थिएन, रोपेको धान पनि उब्जाउ घट्ने गरेको थियो।’ यो वर्ष वैशाख अन्तिम, जेठ सुरुदेखि प्रशस्त वर्षा भएका कारण किसानलाई रोपाइँको त्यस्तो दुःख नभएको उनले बताए। जिल्लामा ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्रफलमा अकासेपानीको भरमा रोपाइँ गरिन्छ। धान खेतीका लागि सिँचाइ गरिने त्रियुगा खोला, सेती, लामा, द्वार, बरुवा, तावा, ककरु बैजनाथ, पुवाँरे, हुल्मा, राकुली, छौडिया खोलाको सिँचाइबाट धान खेती हुँदै आएको छ। बेलैमा रोपाइँ सकिएका कारण धान उत्पादन पनि वृद्धि हुने अपेक्षा राखिएको छ। ज्ञान केन्द्रले बेलैमा रोपाइँ हुनुले वातावरण अनुकूल हुन सके, रोग किरा नलागे धान उत्पादन बढ्न सक्ने अनुमान गरेको छ। ६० देखि ८० हजार टन धान उत्पादन हुने उदयपुरमा यस वर्ष केही बढ्न सक्ने संकेत देखिएको प्रमुख यादवले बताए। उदयपुरको बेलका, चौदण्डीगढी, कटारी, त्रियुगा नगरपालिका, रौतामाईको मुर्कुची र उदयपुगढीको नेपालटारको जमिन धान उत्पादनका लागि उर्वर मानिन्छ। यी स्थानमा मुख्य बाली नै धान रहेको छ। अकासेपानीमा निर्भर रहेका सदरमुकाम आसपासका तराई भूभागका किसानहरूले समेत समयमा नै पानी परेका कारण रोपाइँ सकेका छन्। असार दोस्रो सातासम्ममा १५ प्रतिशत रोपाइँ भएकोमा साउन तेस्रो साता सबैतिर सकिएको ज्ञान केन्द्रले जनाएको छ।

Like