जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाइदै
रासंसा/काठमाण्डौ, ज्येष्ठ ३,
मुलुकमा नेकपा (एमाले)ले आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाएको छ। एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।एमालेले आज बिहान मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम गरेको छ। मदन नगरमा पूर्वराष्ट्रपति एवम् मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्बिर र शालिकमा माल्यार्पण गरेका छन्। तत्कालीन नेकपा एमालेका महासचिव भण्डारी, संगठन विभागका प्रमुख आश्रित तथा गोरखा जिल्लासचिव ऋषि कट्टेल पोखराबाट चितवन, भरतपुरका लागि हिँडेका थिए। अमर लामा चालक रहेको बा. अ. च ८७९३ मा उनीहरू सवार थिए। ऋषि कट्टेल आँबुखैरनीमै ओर्लिए। दुई नेता मात्रै यात्रामा भए। लेखा अधिकृत लेखनाथ कोइराला पार्टी कार्यालयमा छँदैमा कार्यालयको फोनमा चालक लामाले सवारी दुर्घटना भएको र त्यसमा नेताद्वय परेको सूचना दिएका थिए। घटना हुँदा साँझ सवा ६ बजेको थियो। खबर नेपालभित्र र बाहिर फैलियो। रहस्यमय जीप दुर्घटनामा उनीहरुको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ। षड्यन्त्र हो कि, दुर्घटना ? आशंका मेटाउन विभिन्न समयमा छानबिन आयोग गठन भए। आयोगले प्रतिवेदन तयार पार्यो। तर, सार्वजनिक भएनन्। एमालेका नेताहरूले मदन र आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दाबी अझै गर्दै आएका छन्। एकातिर चालक लामा जीवित रहनु र उनलाई सामान्य घाउचोट पनि नलाग्नु अर्कोतिर नेताद्वय भने नदीमा बेपत्ता हुनु, घटनाको जानकारी प्राप्त भएदेखि नै अपत्यारिलो थियो। सबैले स्वाभाविक रूपमा अनेकन आशंका गर्न थाले। भोलिपल्ट बिहानतिर घटना भएकै अलि पर आश्रित गाडीभित्र मृत अवस्थामा भेटिए। मदन भण्डारीको लास भने ३२ किलोमिटर दक्षिणतिर स्थानीयवासीले भेट्टाएका थिए।