बाहिरी चक्रपथ आयोजना सुरु नहुँदै ५० करोड भ्रष्टाचार

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २९,

मुलुकमा काठमाडौं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी सरकारले अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ। आयोजना निर्माणको चर्चा सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा समेत बन्ने/नबन्ने कुनै टुंगो लाग्न सकेको छैन। आयोजनाका नाममा कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलबभत्तामा राज्यकोष खर्च भइरहेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणलगायतमा गरी हालसम्म ५० करोड रुपैयाँ हाराहारीमा खर्च भइसकेको आयोजना प्रमुख प्रकाश अर्याल बताउँछन्। पछिल्ला दुई दशकको अवधिमा शासन व्यवस्था बदलियो, पटकपटक सरकार फेरिए, मन्त्री, सचिव र आयोजना प्रमुख फेरिए। तर बाहिरी चक्रपथ आयोजना कागजमै सीमित छ। गत आर्थिक वर्षदेखि उक्त आयोजना सरकारको प्राथमिकतामै परेको छैन। आयोजना निर्माणमा जटिलता थपिँदै गएको अर्यालले बताए। ‘गत वर्ष पनि आयोजना बनाउने भनेर कार्यक्रम परेन,’ उनले भने, ‘ठोस रूपमा आयोजना अघि बढेकै छैन। आयोेजना निर्माणका लागि जग्गा रोक्का गरिएको छैन। आयोजनाले ओगट्ने भनिएको मध्येको ६ किलोमिटर क्षेत्रमा पनि तीन सयभन्दा बढी पक्की घर बनिसकेका छन्। त्यसले गर्दा जटिलता थपिँदै गएको छ।’ काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लालाई छुनेगरी ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने अवधारणा २०५८ सालमा ल्याइएको हो। सुरुदेखि नै सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणमातहतको आयोजनाको अहिले छुट्टै कार्यालय छ। पहिलो चरणमा चोभार–सतुंगल ६ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको थियो। तर स्थानीयको विरोधका कारण काम अघि बढ्न नसकेको अर्याल बताउँछन्। बाहिरी चक्रपथ आयोजना निर्माण अघि बढाउन विगतमा सरकारले विभिन्न दातृ निकायसँग लगानी जुटाउने प्रयास गरेको थियो। त्यसअनुरूप यसअघिका दुईवटा लगानी सम्मेलनमा बाहिरी चक्रपथ आयोजना ‘सोकेस’ गरिएको थियो। तर आयोजनामा विदेशी लगानी जुट्न भने सकेन। हालै सम्पन्न लगानी सम्मेलनमा सरकारले बाहिरी चक्रपथ आयोजनालाई ‘सोकेस’मै समावेश गरेन। भौतिक संरचना हटाउन नसकेको, जग्गा अधिग्रहण विवाद र स्थानीयको अवरोधका कारण आयोजना अलपत्र पर्दै आएको छ। आयोजनाको पहिलो चरणमा सतुंगलदेखि चोभारसम्मको ट्र्याक खोल्नुपर्ने हुन्छ। ५० मिटर फराकिलो हुने भनिएको चक्रपथ आठ लेनको बन्नेगरी डिजाइन गरिएको छ। महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनले समेत आयोजनाको अवधारणा अघि बढेको २१ वर्ष बितिसक्दा अध्ययनबाहेक केही नभएको औंल्याएको छ। आर्थिक वर्ष २०६०/६१ मा जगा मुआब्जाका लागि ५६ अर्बको लागत अनुमान स्वीकृत गरिएको भए पनि हालको जग्गाको मूल्यअनुसार तीन खर्बभन्दा बढी रकम चाहिने महालेखाको ६०औं प्रतिवेदनले औंल्याएको छ। आयोजनामा प्रशासनिक खर्च भइरहे पनि पनि भौतिक पूर्वाधारको कार्य नभएको महालेखाको निष्कर्ष छ। बाहिरी चक्रपथ काठमाडौं उपत्यकामा ३५.८ किलोमिटर, ललितपुरमा १५ किलोमिटर र भक्तपुरमा २१ किलोमिटर क्षेत्रफल हुनेछ। अवधारण अघि सारिएताका १० वर्षभित्र सम्पन्न गर्ने भनिएको बाहिरी चक्रपथको कुल लागत ७२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। यति ठुलो रकमको स्रोत सरकार आफैंले जुटाउन सक्ने अवस्था छैन। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न भागलाई छोएर बाहिरी चक्रपथ बनाउने योजना सरकारको छ। त्रिभुवन राजपथको बलम्बुलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ बनाउने योजना छ। त्यस्तै भक्तपुरमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डिपिआरमा उल्लेख छ। काठमाडौंमा बाहिरी चक्रपथ खासगरी नैकाप भन्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ, बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुन्नीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै निर्माण हुनेछ। ललितपुरको लुभु, विष्णुडोल, हरिसिद्धि, दसघर, धापाखेल, ठेचो, बुङ्मती, खोकना, कार्यबिनायक, बागमती पुल हुँदै काठमाडौंंको चोभार क्षेत्र (पुरानो सिमेन्ट कारखाना) छेउ चक्रपथ जोडिनेछ। चोभारबाट, कीर्तिपुर, गाम्चा, मच्छेगाउँ हुँदै तीनथानाको दक्षिण हुँदै सतुंगल पुगेर यो चक्रपथ जोडिने प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ।

Like