अहिले जोखिम र चुनौति छ, सामना गर्छौं, वर्ग संघर्षको नियम नै हो, नेपाललाई प्रचण्डको जवाफ
रासंसा/काठमाण्डौ, बैशाख १०,
मुलुकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको समस्या समाधान गर्न समाजवाद अबको क्रान्तिको बाटो भएको बताएका छन्। सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रचण्डले अब सैद्धान्तिक र वैचारिक रुपमा समाजवादतर्फ जानैपर्ने आवश्यकता रहेको बताएका हुन्। माधव नेपालले प्रचण्ड अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले जोखिम र चुनौति छ तर चुनौतिको सामना गर्दै जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनको वर्ग संघर्षको नियम नै हो। राष्ट्रिय एकताका निम्ति र राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट आन्दोलनका निम्ति जोखिम उठाउनु राम्रो कुरा हो। चुनौतिहरु हुन्छन्, त्यसको सामना गर्नुपर्छ,कम्युनिष्ट पार्टी चुनौति सामना गर्नुपर्छौं। हामी यहि बाटोमा छौं।’ उनले २०७४ मा एकता भएको नेकपा जोगाउन नसकेकोप्रति आत्मग्लानी गरे। उनले २०७४ को निर्वाचनमा जनताले समेत अनुमोदन गरेकाले वाम एकता आवश्यकता रहेकाले अझै लागिपर्ने धारणा राखे। प्रचण्डले भने,‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुढृढीकरणका लागि, जनताको समस्या समाधानका लागि समाजवादको विकल्प छैन। समाजवादको विकल्प छैन। जजसले समाजवाद नै अबको क्रान्ति मान्छौं, अब सैद्धान्तिक र वैचारिक रुपले ती सबै कुनै न कुनै रुपमा सहकार्यमा, एकतामा जान पहल गर्नैपर्छ।’ निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्यले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहेको उल्ले गरे। प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता उनी भएको बताए। चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात मजदुर सङ्गठन स्थापना गरेको उनले बताए।