अलपत्र बाहिरी चक्रपथको पहिलो खण्डको फेरि अध्ययन हुँदै
रासंसा/काठमाण्डौ, चैत्र १४,
मुलुकमा उपत्यका विकास प्राधिकरणअन्तर्गतको बाहिरी चक्रपथ आयोजना प्रमुख प्रकाश अर्यालका अनुसार बजेट अभावलगायत कारण काम अगाडि बढ्न नसकेको हो । आयोजनाका अनुसार गत वर्षसम्ममा बाहिरी चक्रपथको पहिलो खण्डमा मात्रै एक सय अस्थायी र २८ वटा स्थायी छन् । त्यसबापत क्षतिपूर्ति नै डेढ अर्ब दिनुपर्ने हुन्छ । त्यसपछि पनि स्थायी संरचना बनिरहेका छन् । तर, आयोजनाले न काम आगाडि बढाउन सकेको छ, न त त्यहाँ निर्माण भइरहेको स्थायी संरचना निर्माण रोक्न पहल नै गरेको छ । बरु, आयोजनाले पहिलो खण्डकै अवस्थाका बारेमा फेरि अध्ययन सुरु गर्न लागेको छ । ‘पहिलो खण्डमा के–कति संरचना बन्यो ? अहिलेको अवस्था के छ ? भनेर अध्ययन सुरु गर्न लागेका छौँ । करिब दुई महिनाजतिमा काम सकेर सहरी विकास मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गर्छौँ । यो आवमा हुने भनेको यही काम हो । त्यसपछि केही काम अगाडि बढ्ला कि,’ आयोजना प्रमुख प्रकाश अर्यालले भने ।
सरकारले ६ वर्षअघि नै बाहिरी चक्रपथको पहिलो खण्ड (चोभार–सतुंगल ६.६ किलोमिटर) निर्माण सुरु गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्बाट आयोजना निर्माण स्वीकृत भई २५ जेठ ०७४ मा राजपत्रमा सूचना पनि प्रकाशन भएको थियो । त्यसयता कुनै पनि काम नभएको यस खण्डको हालको अवस्था बुझ्न फेरि अध्ययन हुने भएको छ । ६ वर्षयता बाहिरी चक्रपथसँग सम्बन्धित कुनै पनि क्रियाकलाप भएका छैनन् । चालू आर्थिक वर्षमा त बाहिरी चक्रपथका लागि बजेट थिएन । हालको अवस्था बुझ्न फेरि अध्ययन हुन लागेको हो । चक्रपथ आयोजनाको कुल ७१.९३ किलोमिटरमध्ये ०६५ मा ५४.४८ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको थियो । १७.५२ किलोमिटरको डिपिआर बन्न सकेको थिएन । आयोजनाको डिपिआर प्राधिकरणले निर्माण गर्ने भए पनि अहिलेसम्म कुनै पहल भएको छैन । प्राधिकरणका अनुसार बाहिरी चक्रपथको पहिलो खण्डको मुख्य सडकको फेरि अध्ययन सुरु गर्न लागेकाले उक्त अध्ययनभन्दा अगाडि पूर्ण डिपिआर बनाउन सम्भव छैन । सरकारले ०६५ देखि भौतिक निर्माणका लागि भन्दै वार्षिक २५ लाखका दरले बजेट विनियोजन गर्दै आइरहेको छ । आयोजना सुरु गर्न ठूलो बजेट चाहिने र यसका लागि सरकार तयार नभएकाले काम सुरु गर्न नसकेको आयोजनाको भनाइ छ । प्राधिकरणका अनुसार आयोजनाको लागत ७४ अर्बबाट बढेर एक खर्ब १० अर्बभन्दा माथि पुगेको छ । ७१ दशमलव ९३ किलोमिटरको प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि तत्कालीन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सबै अड्चन र कठिनाइ चिर्दै मन्त्रालयबाट १४ वैशाख ०७४ मा सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्णरूप दिएको बताएका थिए । ०७५ देखि चक्रपथ निर्माणको प्रथम चरण (चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटर) निर्माण सुरु गर्ने भनिएको थियो । पहिलो खण्डमा पर्ने उक्त स्थानमा करिब आठ हजार रोपनी जग्गा र करिब १४ हजार जग्गाधनी छन् । चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर र भक्तपुरमा २१.०५ किलोमिटर हुने उल्लेख छ । बाहिरी चक्रपथको अवधारणा काठमाडौं उपत्यकाका तीनवटै सहर र अन्य नगरपालिकालाई एउटै सडक सञ्जालबाट जोडेर व्यवस्थित सहरीकरण गर्ने गरी तयार भएको थियो । काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ निर्माण हुनेछ । नैकाप भञ्ज्याङ, थापागाउँआसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनिखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ । सीतापाइलाबाट हलचोक, गैरीगाउँ (इचंगुनारायणबाहिर), दौडिनेपानी, नेपालटार, फुटुङलाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाइ ८६ किलोमिटरभन्दा बढी हुनेछ । ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइनेछ । यसैगरी, भक्तपुर क्षेत्रमा चाँगुनारायण, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङडोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधिकोट, गाम्चा भएर निर्माण अगाडि हुने जनाइएको छ ।