ईशनाथ नगरपालिकामा विवाद मिलाउन बोलाइएको भेलामै झडप, कर्फ्यु आदेश
रासंसा/रौतहट, फाल्गुण ०६,
मुलुकमा रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। विवाद मिलाउनका लागि बोलाइएको सर्वपक्षीय भेलामै कुटाकुट भएपछि आधा दर्जन स्थानीय बासिन्दा घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले आज साँझ ५ बजेदेखि नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो। ईशनाथ नगरपालिकाको पूर्वमा जोकाहागाउँ, पश्चिममा सानो जोकाहा गाउँ, उत्तरमा रामपुरखाप, दक्षिणमा सशस्त्र बेस क्याम्प र उत्तरमा जयनगर प्रहरी चौकी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो। फागुन ३ गते बिहीबार सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो। दुई समुदायबीच भएको झडपको विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। साँझ ५ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। सो क्षेत्रमा आवतजावत गर्न नपाउने, भेला तथा जुलुस गर्न नपाउने, प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।