त्रिविको दीक्षान्त सम्मरोहको-जात्रा

Share to:

रासंसा/काठमाण्डौ, पौष १४,

गत पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह थियो। समारोह आयोजना गरिएको थियो दशरथ रंगशालामा। त्रिविले दीक्षित हुने विद्यार्थीलाई सो दिन बिहान आठ बजेदेखि दश बजेभित्र रंगशाला प्रवेश गरिसक्न सूचित गरेको थियो। सोहीअनुसार बिहानैदेखि विद्यार्थी र तिनका अभिभावक रंगशालामा भेला भएका थिए। सोही कारण रंगशाला आसपासको ट्राफिक व्यवस्थापनमा निकै चाप परेको थियो। ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न निकै हम्मेहम्मे परेको थियो। रंगशालाको दक्षिणतर्फको मूलद्वारमा मान्छेको भिड थामिनसक्नु थियो। अभिभावकका लागि पासको व्यवस्था गरिएअनुसार पास देखाउँदै भित्र प्रवेश गर्नुपर्ने थियो। तर मान्छेको भिडले गर्दा पास हुने र नहुने सबैखाले मान्छे भित्र प्रवेश गरिरहेका देखिन्थे। रंगशालाबाहिर मान्छेको मेला लागेजस्तै थियो। विभिन्न ठाउँबाट आएका र विभिन्न भेषभूषाका मान्छेको भेलाले रंगशालाबाहिरको दृश्य निकै रंगीन बनेको थियो। त्यसमा कालो गाउन (पोसाक) र कालै टोपी लगाएका विद्यार्थीहरू आकर्षणको केन्द्र बनेका थिए। कर्मचारीले पास हेर्न पनि भ्याइरहेका थिएनन्। यसो त भिडलाई सम्हाल्न गाह्रै हुन्छ। त्यस दिन देशैभरिका मान्छेको भिड लागेको थियो। आफ्ना छोराछोरीको शैक्षिक उपलब्धिमा प्रफुल्ल भएर उनीहरूको खुसीमा साथ दिन प्रसन्नताका साथ अभिभावकहरू त्यहाँ उपस्थित थिए। एकातिर आफ्नो वर्षौंको मिहिनेतपछि प्राप्त उपलब्धिले खुसी भएर एक महिने शिशु च्यापेर पनि दीक्षान्त समारोहमा दीक्षित हुन आएका विद्यार्थी थिए भने अर्कातिर पूर्व माननीय, ७२ वर्षीया बमकुमारी बुढामगर पनि आफ्नो स्नातकोत्तरको उपाधि लिन कालो गाउन लगाएर दीक्षान्त समारोहमा उपस्थित थिइन्। त्रिभुवन विश्वविद्यालय देशैभरिका औसत नेपालीका छोराछोरीले अध्ययन गर्ने विद्याको केन्द्र हो। विशेषगरी निजी कलेज अथवा निजी विश्वविद्यालयमा चर्को शुल्क तिरेर पढ्न नसक्ने विद्यार्थी पढ्ने विद्याको केन्द्र हो त्रिभुवन विश्वविद्यालय। दीक्षित हुन लागेका आफ्ना छोराछोरीसँगै आएका वृद्धवृद्धाका अनुहारमा सन्तानले पढेर केही हासिल गरेको र अबका दिनमा आयआर्जन गरेर आफूहरूलाई सुखले पाल्लान् भन्ने आशा र अपेक्षाका रेखाहरू सल्बलाएझैं लाग्थ्यो। एकातिर विद्यार्थीको भिडले प्यारापिट भरिँदै थियो। अर्कातिर अभिभावकको भिडले प्यारापिटमुनिको खाली मैदान (ट्य्राक) भरिँदै थियो। उद्घोषकले अबको केही बेरमा दीक्षान्त समारोहको औपचारिक कार्यक्रम सुरु हुन्छ भन्दै धैर्यधारण गरी बस्न बारम्बार आग्रह गरिरहेका थिए। तर त्यो केही बेर आउन धेरै बेर लाग्यो। साढे एघार बजे आउने भनिएका प्रमुख अतिथि साढे बाह्र बजे मात्रै आइपुगे। यो पंक्तिकार पनि अभिभावकका रूपमा रंगशाला प्रवेश गरेको थियो। त्रिविको अस्तव्यस्त व्यवस्थापनसँग परिचित भए पनि आफ्नो सन्तानको खुसीका लागि उसको खुसी र उत्साहमा साथ दिन दीक्षान्त समारोहमा सरिक भइएको थियो। घामले टट्टिएका अभिभावकहरूमा एक खालको उकुसमुकुस र छटपटी सुरु भइसकेको थियो। कसैलाई पानीको प्यास, कसैलाई शौच गर्नुपर्ने अवस्था। तर त्यहाँ न पानीको व्यवस्था थियो, न त शौचालयको नै। शौचालय प्रयोग गर्ने बारेमा कुनै सूचना वा जानकारी दिइएको थिएन। यसो त उपस्थित हजारौं मान्छेका आआफ्नै इच्छा र समस्या हुन्छन्। सबैका इच्छा पूरा गर्न र सबैका समस्या समाधान गर्न असम्भव नै हुन्छ। तर साधारण विषयलाई पनि सम्बोधन गर्नमा देखिएको त्रुटिचाहिँ आलोच्य नै हो। पानीका केही जार ठाउँठाउँमा राखिए पनि जग, गिलास वा बोतल नहुँदा तिर्खा लागेका मान्छेहरूले पानी खान पाएका थिएनन्। कसैकसैले जारबाटै सिधै पानी खाएको देखियो। यतिसम्मको व्यवस्थापन पनि गर्न नसक्ने त्रिवि प्रशासनको असक्षमतामाथि प्रश्न नगरी बस्नै सकिएन। समारोहको औपचारिक शुभारम्भ हुने प्रतीक्षामा बसुन्जेल रंगशाला परिसरमा उपस्थित अत्यन्तै उत्साहित विद्यार्थी र उस्तै उत्साहित अभिभावकको भिडलाई देखेर मनमा लागिरह्यो–राज्यले यति धेरै उत्साहित युवालाई देशमा टिकाउने काम गरे र उनीहरूको ऊर्जा, दक्षता र क्षमतालाई विकास–निर्माणमा लगाउन सके देश दुई चार वर्षमै विकसित बन्ने थियो, समृद्ध बन्ने थियो। तर राज्यसँग त्यस्तो कुनै नीति र कार्ययोजना नै छैन। यस्तै कारणले निस्पट्ट अँध्यारो भविष्यमा बाँचेका युवा उज्ज्वल भविष्यको सपना देख्दै बिदेसिन लालायित छन् र दैनिक हजारौंको संख्यामा बिदेसिइरहेका छन्। राज्य देश छोड्दै गरेका युवालाई ‘यहीं बस, तिमीहरूको भविष्य यहीं सुरक्षित छ’ भन्नसक्ने अवस्थामा छैन। स्वार्थमा जेलिएको दिशाहीन राजनीतिले गर्दा देश पनि दिशाहीन बनेको छ। देशको यो वास्तविकता बुझेका युवा दीक्षित भएको भोलिपल्टैदेखि बिदेसिने चक्करमा लाग्न थाल्छन्। यो नै अहिलेको यथार्थ हो। पार्टीका दुई चार हजार समर्थक र कार्यकर्तालाई मात्रै नागरिक सम्झने राजनीतिक नेतृत्व र कुशासनलाई प्रश्रय दिइरहेका प्रशासकहरूका कारण यस्ता उत्साहित र ऊर्जावान् युवा देशमा टिक्न सक्ने अनुकूल वातावरण नै छैन। उता त्रिविका पदाधिकारी भने ७३ हजार ७४९ विद्यार्थीलाई उत्तीर्ण गरेर, १२ हजार ४१५ विद्यार्थीलाई दीक्षित गर्न दीक्षान्त समारोहमा सामेल गरेर सबैभन्दा बढी विद्यार्थीलाई दीक्षित गराएको विश्व कीर्तिमान कायम गरेको घोषणा गर्दै आत्मरतिमा रमाइरहेका थिए। यद्यपि त्यो घोषणामा सत्यता नभएको भन्ने समाचारहरू आइरहेका छन्। समारोहमा उपस्थित विद्यार्थी तथा अभिभावक त्रिविको अव्यवस्थापन देखेर निराश थिए। त्यसैले उनीहरू समारोहको औपचारिक सुरुवात हुनासाथ आआफ्नो स्थानबाट उठेर प्रमाणपत्र लिनका लागि रंगशालाबाहिर आर्मी क्लबअगाडि तोकिएको स्टलमा जानका लागि बाहिरिन थाले। त्यही बेला अभिभावकहरू पनि बाहिर जान थाले। एकैचोटि धेरै अभिभावक र विद्यार्थी बाहिर जान खोज्दा ठुलै भिड जम्मा भयो। दुर्घटना नै हुने सम्भावना पनि बढ्यो। निकै साँघुरो भर्‍याङले गर्दा भिडको निकास गर्न साह्रै गार्‍हो भयो र समय पनि लाग्यो। तर त्यहाँ भिड नियन्त्रण गर्न अथवा आपतकालीन सुरक्षाका लागि कुनै व्यवस्था थिएन। त्यहाँ त्रिवि प्रशासन र गृह प्रशासनबिच समन्वय नभएको देखियो। यता त्रिविका पदाधिकारी र प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको भाषण तिनै केही अतिथिबाहेक अरू अभिभावक र विद्यार्थीले सुनिरहेजस्तो फिटिक्कै लाग्दैनथ्यो। अभिभावक तथा विद्यार्थी जतिसक्दो चाँडो रंगशाला परिसरबाट बाहिरिन आतुर देखिन्थे। विद्यार्थी र अभिभावकहरू नेताका भाषण सुन्न होइन, विद्यार्थीले हासिल गरेको उपाधिको प्रमाणपत्र लिन, गाउन लगाएर फोटो खिच्न र साथीभाइसँग कालो टोपी उडाएर केहीबेर रमाइलो गर्नका लागि मात्रै आएका हुन् जस्तो लाग्थ्यो। नेताका बकम्फुसे भाषणमा जनतालाई रुचि लाग्नै छोडिसकेको छ। विद्यार्थीको भिडमा ठेलमठेल गर्दै पंक्तिकार पनि आफ्नो सन्तानसँगै प्रमाणपत्र लिने स्टलतर्फ लाग्यो। प्रमाणपत्र लिइसकेपछि बाटैमा उभिएर एकदुई सामूहिक फोटा खिचेर घरतर्फ प्रस्थान गरियो। रंगशालाबाहिर अस्थायी रूपमा निर्मित स्टलहरूमा आआफ्नो प्रमाणपत्र लिनका लागि लागेको भिडले पनि विद्यार्थीहरू प्रमाणपत्र लिन मात्रै आएका हुन् भन्ने लाग्थ्यो। त्यहाँ पनि उस्तै तितरबितर भिडले जात्राकै झझल्को दिलाउँथ्यो। यसो त त्यहाँ दीक्षित विद्यार्थीको फोटो खिच्नका लागि दर्जनौं फोटो व्यवसायीहरू स्टल बनाएर बसेका थिए। हजारौं विद्यार्थीले फोटो पनि खिचाए। फोटो होम डेलिभरीको व्यवस्था थियो। फोटो खिच्ने र होम डेलिभरी गर्ने व्यवस्थाचाहिँ त्रिविले नभई व्यवसायी आफैंले गरेका थिए। उल्टै निराश पारे व्यवस्थापनको असक्षमताले। कोही–कोही विद्यार्थी त ‘अब म मेरो भाइबहिनीलाई कहिल्यै दीक्षान्त समारोहमा नजान भन्छु’ भनेर त्रिविप्रति आक्रोश पोख्दै थिए। विद्यार्थीमा यस्तो निराशा र आक्रोश जन्माउने काम गरेर त्रिविले आफ्नो प्रतिष्ठामाथि थप आँच आउने काम गरेको छ। त्यसदिन दीक्षान्त समारोहमा सहभागी हुन उपस्थित १२ हजार ४१५ विद्यार्थी, १३ हजार ७०० को संख्यामा रहेका तिनका अभिभावक र अरू धेरै मान्छेले रंगशाला भरिभराउ थियो। रंगशाला परिसर पूरै भरिएको दृश्यले दीक्षान्त समारोह आयोजकलाई पक्कै हौस्याएको हुनुपर्छ तर आयोजकले विद्यार्थी र अभिभावकलाई भने फिटिक्कै हौस्याउन सकेनन्। अझ रमाइलो कुरा त के छ भने समारोहका अतिथिहरूको सुरक्षार्थ रंगशालाबाहिर खटिएका सुरक्षाकर्मीको असमझदारीका कारण केही गोल्डमेडलिस्टहरू नै बाहिर परेका थिए। न पानीको व्यवस्था, न शौचालयको व्यवस्था, न खाजाको व्यवस्था। बिहान आठ बजेदेखि त्यहाँ बसेका विद्यार्थी र अभिभावकलाई पक्कै तिर्खा लागेको होला, शौच गर्न मन लागेको होला, भोक पनि लागेको होला। तर पानी, शौचालय र खाजाको व्यवस्था नहुँदा कोही अभिभावकहरू असन्तुष्टि र आक्रोश पोख्दै थिए, ‘केही नदिने भए त्यति धेरै पैसा किन असुलेको?’ प्रश्न जायज नै थियो किनभने दीक्षान्त शुल्कलगायत अभिभावकबाट पनि प्रवेश पासबापत रकम असुलिएको थियो। यति धेरै रकम असुल गरेर पनि आवश्यक पानी, शौचालय र शान्तिसुरक्षासम्मको व्यवस्थामा ध्यान दिन नसक्ने त्रिविबाट आम अभिभावक र विद्यार्थीले के अपेक्षा गर्न सक्छन्? दीक्षान्त शुल्क भनेर त्रिविले विद्यार्थीबाट जनही दुई हजार २०० रूपैयाँ असुल गरेको थियो। अभिभावकको हकमा पनि प्रतिअभिभावक ३०० रूपैयाँ असुल गरेको थियो। मोटामोटी हिसाब गर्दा पनि १२ हजार ४१५ विद्यार्थीबाट दुई करोड ७३ लाख रूपैयाँ उठेको देखिन्छ भने १३ हजार ७०० अभिभावकबाट करिब ४१ लाख रूपैयाँ उठेको देखिन्छ। गाउन (पोसाक) का लागि धरौटीबापत प्रतिव्यक्ति एक हजार ५०० का दरले छुट्टै लिएको थियो। समयमा पठनपाठन सुरु नगर्ने, समयमा परीक्षा नगर्ने, समयमा परीक्षाफल प्रकाशित नगर्ने, परीक्षाफलमा लापरबाही गर्ने र सेवाग्राही विद्यार्थीलाई सास्ती दिने त्रिवि प्रशासनका कारण दिन प्रतिदिन विद्यार्थीको विश्वास गुमाइरहेको त्रिविले दीक्षान्त समारोहमा पनि उस्तै अव्यवस्थापन देखाएर विद्यार्थीलाई थप निराश पारेको छ। सधैं राजनीतिक भागबण्डाको केन्द्र बनेर गुणस्तर र कार्यकुशलता घटेका कारण विश्ववरीयतामा खस्किँदै गरेको त्रिवि यो दीक्षान्तजात्रापछि आम अभिभावक र विद्यार्थीको मनबाट पनि खस्केको महसुस भइरहेको छ।

Like