प्रधानमन्त्री दाहालको भनाई मानवसेवा आश्रमको अभियानलाई सरकारले अभिभावकत्व प्रदान गर्छ
रासंसा/मकवानपुर, मार्ग ३०,
मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा मठमन्दिर धाएर भेटी र चन्दा दिनुभन्दा मानवसेवा आश्रमलाई सहयोग गर्न आग्रह गरेका छन्। ‘मानवताभन्दा ठूलो अर्को धर्म छैन। मानवसेवा आश्रमले सरकारले गर्नुपर्ने कामको नेतृत्व गरेको छ। यसमा हामी सबैको सहयोगको खाँचो छ। त्यसकारण मानवसेवा आश्रमको अभियानलाई सरकारले अभिभावकत्व प्रदान गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। हेटौँडा– ९ मा मानवसेवा आश्रमको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले मानवताको सेवाभन्दा अर्को ठूलो धर्म नभएको बताएका हुन्। मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य लिएको छ। सो लक्ष्यमा सरकारले सहकार्य गर्ने प्रधानमन्त्रीको आश्वासन छ। त्यसका लागि मानवसेवा आश्रमलाई चाहिने आर्थिक, भौतिक र नैतिक समर्थन दिन सरकार प्रतिबद्ध रहेको उनले बताए। ‘सरकारले गर्नुपर्ने काम एकजना रामजी अधिकारीबाट सुरु भई राष्ट्रव्यापी बनेको छ। मानवताको यो कर्ममा सरकार मानवसेवा आश्रमसँगै रहेको अनुभूति हुने गरी आवश्यक आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मानवसेवा आश्रमलाई नियमित सहयोग गरिरहेको जानकारी दिए। उनले आश्रम व्यवस्थापनको लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन भएको बताए। प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रितहरूको भरणपोषणका लागि सरकारले प्रतिव्यक्ति १० हजार र मानवसेवा आश्रमका सातवटै प्रदेशमा सहयोगापेक्षी मानवहरूको उद्धार गर्न आवश्यक सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। २०६९ भदौ १३ गते स्थापना भएको मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको भवन १३ करोड ८१ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण भएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। उनले हाल केन्द्रीय कार्यालय हेटौँडामा २५ बालबालिका, ९५ महिला र एक सय पुरुष गरी दुई सय २० जना आश्रित रहेकाे जानकारी दिए। मानवसेवा आश्रमको बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ४, मधेश प्रदेशमा ३ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक-एकवटा गरी २४ वटा आश्रमहरू छन्। यी आश्रमहरूमा कुल एक हजार ७ सयजना सहयोगापेक्षी मानव आश्रित रहेकाे अध्यक्ष अधिकारीले बताए।