नेपाल ज्येष्ठ नागरिकको मात्र देश बन्न लाग्यो शेखर कोइरालाको भनाई
रासंसा/मोरङ, मार्ग २,
मुलुकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढेको बताएका छन्। ‘युवाहरूको बढ्दो विदेश पलायनले कतै नेपाल बुढ्याैलीहरूको देश त हुँदैन भनेर मलाई चिन्ता लाग्न थालेको छ,’ उनले भने, ‘राजनीतिक दलहरू देश र जनताप्रति जिम्मेवार नभए अवस्था जटिल हुँदै गएको छ। स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको पलायन रोक्नुपर्छ।’ विराटनगरमा शनिबार शंकर खरेलद्वारा लिखित ‘तृप्यन्ताम’ लघुकथासंग्रहको विमोचन समारोहलाई सम्बोधन गर्दै कोइरालाले युवाहरूको विदेश पलायन नरोके नेपालमा ज्येष्ठ नागरिकहरू मात्रै रहने बताए। जनतामा अहिले चरम निराशा देखिएको उनको भनाइ थियो। त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भएको नेता कोइरालाले प्रस्ट्याए। ‘अलि हुनेखानेहरू अमेरिका, जापान, अस्ट्रेलिया, क्यानाडा र युरोपतिर जान्छन्, उतै घरजम गरेर बस्छन्। आर्थिक रूपमा कमजोर र धेरै अध्ययन पनि नगरेका तर पाखुरीमा बल हुनेहरू खाडी जान्छन्,’ कोइरालाले थपे, ‘एकथरि युवा उतै सेटल भएर बस्छन्, अर्कोथरि युवा पाखुरीमा बल सकिएपछि र उमेर ढल्किएपछि फर्किन्छन्। यस्तो अवस्थाले देश उँभो लाग्दैन।’ नेता कोइरालाले मुलुकको शिक्षा नीतिमा नै आमूल परिवर्तन जरुरी रहेकोमा जोड दिए। ऊर्वर जमिनहरू बाँझो हुँदै गएकोमा कोइरालाले चिन्ता व्यक्त गरे। रेमिट्यान्स मुलुकको आर्थिक विकासको दीर्घकालीन र भरपर्दो स्रोत नभएको उनले उल्लेख गरे। कोभिड–१९, रुस–युक्रेन युद्ध र इजरायल–हमासबीचको युद्धले रेमिट्यान्स देश विकासको भरपर्दो र दीर्घकालीन आर्थिक स्रोत होइन भन्ने पुष्टि भएको उनको तर्क छ।