कैद मिनाहा पाउनेहरु फेरि अर्को अपराधमा धमाधम पक्राउ प्रणालीमाथि नै प्रश्न

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १६,

मुलुकमा लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले बताए । लोकन्द्रले मुसीकोट–७, साँख घर भएकी २७ वर्षीय भावना विकको हत्या गरेको आरोप छ । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिहा भएका थिए रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्र । संविधान दिवस (असोज ३ ) का अवसरमा राष्ट्रपतिमार्फत कैद छुट दिन मन्त्रिपरिषद्ले लोकेन्द्रको चालचलन ‘असल’ भएको भन्दै सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि उनी छुटेका हुन् । तर, जेलबाट छुटेको एक महिनामै लोकेन्द्र जघन्य अपराध गरेको आरोपमा पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा घर भएर चितवनको भरतपुर महानगरपालिका–९ मा बस्ने रामचन्द्र थापा चार पटकसम्म फरक–फरक मुद्दामा जेल परे । उनी जेठ १४ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैदमुक्त भए । तर, कैद मिनाहा पाएको ५ महिनामा फेरि अर्को अपराध गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा पाउनेहरु धमाधम पक्राउ पर्न थालेका छन् । जेलमा बस्दा असल चालचलन देखिएको भन्दै जेलरको सिफारिसमा फाइल अघि बढेपछि मन्त्रिपरिषद् हुँदै सो फाइल राष्ट्रपतिसम्म पुग्छ । तर, सरकारले ‘असल’ देखेकाहरु फेरि किन अपराध कर्ममा लाग्दैछन् भन्नेबारे गम्भीर प्रश्न उठेको छ । ५५ वर्षीय थापालाई अपहरणको धम्की दिएर फिरौती मागेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितले रातोपाटीलाई बताए । रामचन्द्र थापाले भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोरालाई अपहरण र हत्या गर्ने धम्की दिएर २५ लाख फिरौती मागेका हुन् । पछिल्ला घटनाले कैद मिनाहा दिने सिस्टममाथि नै प्रश्न उठेको बताउँछन् वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सिस्टम (प्रणाली) माथि नै प्रश्न उठेको छ, गलत सिफारिस रोक्नुपर्छ ।’ संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ को दफा ३७ र फौजदारी कसुर (कैदकट्टा) नियमावली २०७६ को नियम–३ अनुसार असल व्यवहार भएकाहरुलाई कैद छुट दिने कानुनी व्यवस्था छ । तर, असल चालचलनको नाममा चालचलन सुध्रिएको परीक्षण नगरेर आर्थिक र राजनीतिक चलखेल गरी कैद मिनाहा दिन थालिएको बताउँछन् वरिष्ठ अधिवक्ता श्रेष्ठ । उनले भने, ‘मिनाहा पाउने कैदीको व्यवहार जेलमा सुध्रियो वा सुध्रिएन भनेर हेर्ने काम भएन ।’ जेलमा बस्दा कैदीको चालचलन असल भए नभएको परीक्षण गर्ने अधिकारी जेलर हुन् । ‘कैद कट्टा’ सिफारिस गर्ने अधिकार पनि जेलरलाई नै हुन्छ । सो अधिकार ‘स्वविवेकीय’ हुन्छ । तर, राज्य संयन्त्रमा भएका अधिकारीहरुले पाउने त्यस्तो स्वविवेकीय अधिकार दुरुपयोग हुने गरेको बताउँछन् वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल । स्वविवेकीय अधिकारको प्रयोग राम्रोसँग नहुँदा कैदीहरु जेलबाट छुट्नासाथ पुनः नयाँ अपराधमा रमाउन थालेका छन् । वरिष्ठ अधिवक्ता खरेल भन्छन्, ‘स्वविवेकमा मनपरी गर्न दिनुभएन । सिफारिस गर्नेलाई उसको सिफारिस त्रुटिपूर्ण देखिए जिम्मेवार बनाउनुपर्छ तर, त्यो अभ्यास भएको छैन ।’ बहुविवाहको कसुरमा सजाय पाएका सहित १७ कसुरमा संलग्नहरुको कैद कट्टा गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी पाएका रुकुम पश्चिमका लोकेन्द्र बहुविवाह मुद्दामै जेल परेका थिए । उनलाई कानुनको दुरुपयोग गरेर कैद मिनाहा गरेको पाइएको छ । हार्डकोर अपराधीलाई छाड्न माफीसम्बन्धी कानुनको दुरुपयोग भएको बताउँछन् वरिष्ठ अधिवक्ता खरेल । रातोपाटीसँग खरेलले भने, ‘राजनीति र अपराधीकरणको नेक्ससलाई यस्ता घटनाले पुष्टि गरेको छ ।’ २७ वर्षीया प्रेमिका भावना विकले विवाह गर्न दबाब दिएपछि लोकेन्द्रले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।प्रहरीसँग लोकेन्द्रले भनेका छन्, ‘बहुविवाहको मुद्दा खेपेर निस्केको थिएँ, फेरि विवाह गर्दा पुनः त्यही मुद्दा खेप्नुपर्ने देखेपछि हत्या गरेको हुँ ।’

Like