मुलुकभरी बढ्दैछ डेंगु, ७६ जिल्लामा ३८,०५९ संक्रमित, २० जनाको मृत्यु
रासंसा/काठमाण्डौ, आश्विन २४,
मुलुकमा ज्वरो आउने र वान्ता हुने लगायतका समस्याले च्यापेपछि उपराष्ट्रपति रामसहाय यादवको उपचारका लागि दौडधुप भयो। बुधबार रातारात सरकारी अस्पताल भर्ना गरियो। रगत जाँच गर्दा डेंगु पुष्टि भयो। उपचाररत यादवको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। निजामती अस्पतालको भीआईपी क्याबिनमा उपराष्ट्रपति यादवको उपचार भइरहेको छ। अस्पतालका निर्देशक प्राडा विधाननिधि पौडेलका अनुसार, यादवलाई ज्वरो थामिएको छ। वान्ता पनि रोकिएको छ। ‘जटिलता नदेखिएमा तीन-चारदिनमा डिस्चार्ज गर्छौं,’ डा. पौडेलले भने। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार, २० जना डेंगु संक्रमितलाई झुलभित्र राखेर उपचार भइरहेको छ। ‘उपचारका लागि संक्रमित आउने क्रम जारी छ,’ डा. काफ्ले भन्छन्, ‘संक्रमित लामखुट्टेले अर्कालाई टोकेर संक्रमण नफैलाओस् भनेर भर्ना भएका बिरामीलाई झुलभित्र राखेर उपचार गरिरहेका छौं।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ८ महिनायता काठमाडौं जिल्लामा मात्रै ८ सय २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा २ सय ६४ र ललितपुरमा २ सय ६० जनामा संक्रमण भइसकेको छ। निर्देशक डा. पौडेलका अनुसार, अन्य जनरल बेडमा १६-१७ जना डेंगु संक्रमित सर्वसाधारणको उपचार भइरहेको अस्पतालले जनाएको छ। उच्च ज्वरो, वान्ता हुने र जीउ बेस्सरी दुखेको समस्या सुनाउँदै उपचारका लागि दिनहुँ आउने बिरामीको संख्या बढ्दो छ। लक्षण देखिनेबित्तिकै बिरामी उपचार गर्न नआउँदा जटिलता थपिने गरेको डा. पौडेल बताउँछन्। उपत्यकाका सरकारी अस्पतालमा दिनहुँ दर्जनौं संक्रमित भर्ना भइरहेका छन्। यस वर्ष डेंगुबाट सबैभन्दा बढी कोसी प्रदेश प्रभावित भएको छ। कुल संक्रमणको झन्डै ४२ दशमलव ३ प्रतिशत संक्रमित सुनसरिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। माघ महिनादेखि सुनसरीमा डेंगु संक्रमणको सुरुवात भएको थियो। तर, असार महिनादेखि डेंगु संक्रमणले उचाइ लिन थालेको हो। कोसी प्रदेशको सुनसरीपछि दोस्रोमा झापा जिल्लामा संक्रमण उच्च देखिएको छ। झापामा ३ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। झापापछि बढी संक्रमित तेस्रो जिल्लामा मोरङ देखिएको छ। मोरङ जिल्लामा यस वर्ष २ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। कोसी प्रदेशका पाँचवटा जिल्ला डेंगु संक्रमणको टप फाइभभित्र परेका छन्। विगत ९ महिनाको अवधिमा कोसी प्रदेशमा १६ हजार ९६ जना डेंगुको पुष्टि भइसकेको छ। कोसी प्रदेशमा सबैभन्दा बढी सुनसरीका बासिन्दाहरू डेंगुबाट संक्रमित भएको पाइएको छ। माघ महिनादेखि सुनसरीमा डेंगु संक्रमणको सुरुवात भएको थियो। तर, असार महिनादेखि डेंगु संक्रमणले उचाइ लिन थालेको हो। कोसी प्रदेशको सुनसरीपछि दोस्रोमा झापा जिल्लामा संक्रमण उच्च देखिएको छ। झापामा ३ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। झापापछि बढी संक्रमित तेस्रो जिल्लामा मोरङ देखिएको छ। मोरङ जिल्लामा यस वर्ष २ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, पछिल्लो ९ महिनामा कोसी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश बढी प्रभावित भएका छन्। यी चारवटा प्रदेशका १० वटा जिल्लामा सबैभन्दा बढी संक्रमित पाइएका छन्। कोसी प्रदेशको सुनसरी जिल्लामा मात्रै १६ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। दोस्रोमा गण्डकी प्रदेशको तनहुँ जिल्ला रहेको छ। तनहुँमा ४ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ। तेस्रो बढी संक्रमित जिल्लामा कोसी प्रदेशकै झापा पाइएको छ। झापामा ३ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण अघि नै पूर्वसचेतना एवं तयारी प्रभावकारी हुन सकेको छैन। तीनै तहका सरकार चुकेकै कारण नागरिकले ज्यान गुमाउनु परिरहेको छ। चौथोमा बागमती प्रदेशको धादिङ जिल्लामा संक्रमण उच्च पाइएको छ। धादिङमा ३ हजार १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ। कोसी प्रदेशकै मोरङ जिल्ला टप फाइभभित्र परेको छ। मोरङमा २ हजार २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। छैटौंमा गण्डकी प्रदेशको कास्की जिल्ला परेको छ। कास्कीमा १ हजार ४ सय ८१ जना संक्रमित भएका छन्। सातौंमा बागमती प्रदेशको काठमाडौंमा ८ सय २ जनामा संक्रमण पुष्टि भइसकेको छ। आठौं र नवौंमा कोसी प्रदेशका दुई जिल्लाहरू छन्। धनकुटा र संखुवासभामा ६ सय २ र ५ सय ३० जनामा संक्रमित भएका छन्। दसौंमा सुदूरपश्चिमको कैलाली जिल्ला परेको छ। यस जिल्लामा ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। एडिस एजेप्टाई जातको लामखुट्टेको टोकाईबाट हुने डेंगुले हरेक तीन वर्षमा संक्रमणको उचाइ लिने गरेको छ। १९ वर्षअघि नेपालमा पहिलोपटक डेंगु संक्रमण पुष्टि भएको थियो। सन् २००४ मा एक जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् २००५ मा भने संक्रमणको अवस्था शून्य रह्यो। २०१६ को चार वर्षपछि डेंगु संक्रमणले पुनः उचाइ लियो। सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण भयो। त्यसको तीन वर्ष पनि डेंगुको संक्रमण उकालो लाग्यो। सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा संक्रमण पुष्टि भयो। सन् २०२३ को मंगलबारसम्म ३८ हजार ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ। सन् २००६ मा ३२ जनामा संक्रमण पुष्टि भयो। त्यसपछिका तीन वर्षमा वर्षमा पनि संक्रमण सामान्य नै रह्यो। संक्रमितको संख्या ३२ भन्दा तल नै रह्यो। तर, २०१० मा डेंगु संक्रमण ह्वात्तै बढ्यो। ९ सय १७ जनामा संक्रमण पुष्टि भयो। २०११ मा ७९ जनामा संक्रमण भयो। २०१२ मा १ सय ८३ जनामा संक्रमण पुष्टि भयो। २०१३ मा संक्रमण तेब्बरले बढ्यो। यस वर्ष ६ सय ८६ जनामा संक्रमण भयो। त्यसपछि एकैचोटी २०१६ मा संक्रमण पुनः ह्वात्तै वृद्धि भयो। यस वर्ष १ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भयो। स्वास्थ्य सेवा विभाग, इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार डेंगु संक्रमणको जोखिम टरिसकेको छैन। वरिष्ठ जनस्वास्थ्यविद् डा. मरासिनी भन्छन्, ‘हरेक तीन-चार वर्षको फरकमा डेंगु संक्रमणले उचाइ लिन्छ। यस्तो अवस्थामा पनि सचेतना एवं पूर्वतयारी फितलो हुने गरेको छ। नागरिकले ज्यान गुमाउनु परिरहेको छ।’ सम्पूर्ण स्वास्थ्यकर्मीलाई परिचालन गर्नुपर्छ। आवश्यक परे संविधान-कानुन संशोधन गर्नुपर्छ। नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित हुनुपर्छ। सुनसरीबाट फैलिएको डेंगुको संक्रमण अहिले ७६ जिल्लामा पुगिसकेको छ। हुम्ला जिल्लाबाहेक सबै जिल्लामा संक्रमित पुष्टि भइसकेका छन्। डेंगु संक्रमणबाट २० जनाको ज्यान गइसक्दा पनि मुलुकका तीन तहका सरकारबीचको समन्वय प्रभावकारी हुन् सकेको छैन। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, स्वास्थ्य क्षेत्रमा स्थानीय तहदेखि केन्द्रसम्मको ‘चेन अफ कमान्ड’ नहुँदा समन्वय हुन नसकेको बताउँछन्। ‘स्वास्थ्यकर्मीहरू स्थानीय, प्रदेश र संघमा रहे। वडा तहदेखिको संरचना एवं चेन अफ कमान्ड भत्कियो,’ डा. प्याकुरेल भन्छन्, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन सकेन। स्वास्थ्यकर्मीहरू तीन तहमा बाँडिए। स्वास्थ्यकर्मी व्यवस्थापनमा ध्यान दिनुपर्छ। डेंगु संक्रमणविरुद्ध स्थानीय सरकार नै बढी परिचालित हुनुपर्छ।’ सरकारले हरेक परिवारलाई हरेक शनिबार १० बजे १० मिनेट समय छुट्याएर आफ्नो घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोजौं र नष्ट गरौं अभियान सञ्चालन गर्न अनुरोध मात्र गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहलाई संघीय मन्त्रालयमार्फत मार्गदर्शन गर्न तथा डेंगुबाट बच्न तथा जोखिम कम गर्न कर्मचारीलाई कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन अपिल गरिरहेको छ। त्यस्तै आम सर्वसाधारण, निजी क्षेत्र, सरोकारवाला सबै व्यक्ति तथा निकायहरूले आआफ्नो स्थानमा सहभागिता, सहजीकरण एवं समन्वय जनाई डेंगुविरुद्धको अभियान सफल पार्न आग्रह गरेको थियो। तर, सरकारको आग्रह कार्यान्वयन हुन नसकेको उपराष्ट्रपति यादवलाई भएको डेंगु संक्रमणले नै पुष्टि गर्छ। वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार, तीनै तहका सरकार डेंगु नियन्त्रणमा चुक्दै गएका छन्। ‘विगतमा तराईमा मात्र सताउने डेंगु विस्तारै पहाडी र हिमाली जिल्लामा समेत पुगिसक्यो। डेंगुविरुद्ध जनचेतनासमेत जगाउन सकेनन्,’ डा. मरासिनी भन्छन्, ‘डेंगु नियन्त्रणमा तीनै तहका सरकारले चुकेकै कारण नागरिकले ज्यान गुमाउनु परिरहेको छ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी संघले आवश्यक नीति नियम र गाईडलाइन बनाए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्छन्। डा. बुढाथोकी भन्छन्, ‘तीनै तहका सरकारबीच इमानदारीपूर्वक समन्वय गर्ने हो भने जस्तोसुकै महामारी पनि नियन्त्रण गर्न सकिन्छ।’ स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. प्याकुरेलका अनुसार कतिपय स्थानीय तहमा जनचेतना लगायतका कामहरू गर्न बजेट अभाव हुन सक्ने बताउँछन्। ‘ढुंगा, गिट्टी निकासी गर्ने स्थानीय तहमा त राजस्व उठेको होला। अन्य कतिपय स्थानीय तहमा बजेट अभाव हुन सक्छ,’ डा. प्याकुरेल भन्छन्, ‘स्थानीय तहमा आधारभूत दरबन्दी सिर्जना गर्नुपर्छ। संक्रमणको बेलामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई संघअन्तर्गत राखेर पनि परिचालन गर्नुपर्छ। जनताको जीउधनको रक्षार्थ आवश्यक परे संविधान-कानुन संशोधन पनि गर्नुपर्छ। जनशक्ति र बजेटको अभाव भएका स्थानीय तहलाई प्रदेश र संघबाट सहयोग गर्नुपर्छ।’ मनसुन बाहिरिएको छैन। आकाशबाट पानी परिरहने र जमेको पानीमा लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने अनुकूल वातावरण बन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पानी जम्ने खाल्डाखुल्डी पुर्ने, भाँडा वा टायरमा पानी जम्न नदिने लगायतका उपायहरू अपनाउने प्रवृत्तिले गर्दा डेंगु संक्रमणको जोखिम कायमै रहेको बताउँछन्। ‘घनाबस्ती भएका सहरहरूमा लामखुट्टेको जीवनचक्र यथावत् छ। संक्रमणको जोखिम उच्च छ,’ डा. पुन भन्छन्, ‘डेंगु संक्रमणको अवस्था हेर्दा अझैं मंसिर-पुसम्म जोखिम नै छ।’ नेपालमा डेंगुका चारवटा सेरोटाइपहरू पाइएको डा. पुन बताउँछन्। वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नुनै रोकथामको प्रभावकारी उपाय हो। डेंगु भाइरसबाट संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। एडिस जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। त्यसैले लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाउनुपर्छ। ती ठाउँहरूलाई नष्ट गर्नुपर्छ। एक अध्ययनअनुसार ६० प्रतिशत डेंगु वृद्धि हुनुको मुख्य कारण टायरभित्र संकलित जमेको पानीलाई लिइएको छ। क्लासिक डेंगु सामान्य प्रकारको भएको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी कतिपय संक्रमितलाई डेंगु आफैं निको हुने बताउँछन्। ‘डेंगु विषाणुको संक्रमणबाट हुने रोग भएकाले रामवाण वा जादुको छडी झै तुरुन्तै ठीक पार्ने औषधि हु“दैन,’ डा. बुढाथोकी भन्छन्, ‘डेंगुको उपचार लक्षणको आधारमा गरिन्छ। एस्प्रिन र बु्रफिन जस्ता औÈधि सेवन गर्नुहुँदैन। ज्वरो र दुखाइ नियन्त्रण गर्न प्यारासिटामोल खान सकिन्छ। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ।’ डा. बुढाथोकीका अनुसार, हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुनसक्ने र मृत्यृदर १ देखि २ प्रतिशत देखिन्छ। गर्भवती, साना बच्चाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउनसक्छ। विशेषगरी हिरी क्षेत्रमा टायरलाई चाङ लगाएर राख्ने गरिएको छ। ‘लामखुट्टेलाई फुल पार्ने र लार्भा हुर्कनका लागि टायर उपयुक्त वातावरण बनेको छ। त्यसैले घर वरिवरि टायर, गमला, ड्रम, बाल्टिन वा अन्य कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. मरासिनी भन्छन्, ‘सधैं झुल टाँगेर सुत्ने बानी बसाल्नुपर्छ। खेतबारीमा काम गर्न जाँदा लामो बाहुला भएको लुगा लगाउँदा पनि लामखुट्टेको टोकाइबाट जोगिन सकिन्छ। घरको झ्यालढोकामा जाली हाल्नुपर्छ। सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मल्हमको पनि प्रयोग गर्न सकिन्छ।’ चिकित्सकहरूका अनुसार, डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउँछ। टाउको दुख्ने, जीउ कटकट खाने किसिमको हुन्छ। विशेषगरी जोर्नी, मांसपेशी बेस्सरी दुख्छ। शरीरमा राता बिमिराहरू देखा पर्न सक्छ। त्यस्तै वाकवाकी लाग्ने र बान्ता हुनेलगायतका लक्षणहरू देखा पर्छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, संक्रमण भइहाले पनि प्रशस्त मात्रामा तरल र झोलिलो कुरा खान र छिट्टै उपचार गर्दा रोगका जटिलता कम हुने र मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ। सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘यो शताब्दीमा डेंगु चुनौती बन्दै गएको छ। हरेक दुई-तीन वर्षमा संक्रमण उच्च भइरहेको छ। तर पनि विगतबाट पाठ सिक्न सकेका छैनौं।’