प्रहरीको चाडबाडलाई ७ सय ३९ ठाउँमा सहायता कक्ष

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २७,

मुलुकमा चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) ले देशभर साढे ७ सय स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेका छन् । दसैं, तिहार, नेपाल संवत् तथा छठपर्व सुरक्षार्थ सवारी आवागमन र सुरक्षा रणनीतिअन्तर्गत नेपाल प्रहरीले करिब ६ सय र सशस्त्र प्रहरीले १ सय ५५ स्थानमा सहायता कक्ष स्थापना गरेका हुन् । प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने जनाइएको छ । प्रहरीले देशभित्रका मुख्य सहर र भीडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ । सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले चाडपर्वका समयमा अरू बेलाभन्दा बढी भीडभाड, आवागमन र आर्थिक कारोबार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यहीअनुसार गर्न आवश्यक रहेको बताए । ‘हामीले जोखिमको विश्लेषण गरेर सोहीअनुसार पर्व सुरक्षार्थअनुसार जनशक्ति व्यवस्थापन गरेका छौं,’ एसएसपी खत्रीले भने, ‘पर्व मनाउन स्थायी थातथलोतर्फ जानेदेखि उपत्यकामै बस्नेसम्मका नागरिकलाई ढुक्कले बस्ने वातावरण बनाउन त्यहीअनुसारको प्रबन्ध मिलाएका छौं ।’ यो पटक प्रहरीले सीमा क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गर्न कुकुरसहितको संयन्त्र पनि तैनाथ गराएको छ । सीमामा स्थापना भएका डेस्कमा हातहतियार तथा विस्फोटक पदार्थ र लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको अनुसन्धान संयन्त्र तैनाथ गराइएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले उपत्यका र सातवटा प्रदेशमा जनपद प्रहरीका २ सय ७६ स्थान, ट्राफिक प्रहरीका २ सय ५८ र जनपद प्रहरीकै ५० ठाउँमा सीमा आवागमन तथा सुरक्षार्थ डेस्क स्थापना गरिएको बताए । यसमध्ये उपत्यकाका तीन जिल्लामा मात्रै १४ ठाउँमा ट्राफिक प्रहरीका यात्रु सहायता कक्ष र जनपदका ३१ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी आवागमन र भीडभाड काठमाडौंमा हुने गर्छ । सहायता कक्षबाहेक काठमाडौंमा नियमित र अरू छड्के टोलीलाई नियमितबाहेक पर्व सुरक्षमा समेत काम गर्न निर्देशन दिइएको छ । यसैगरी सशस्त्र प्रहरीले देशभर १ सय ५६ स्थानमा डेस्क स्थापना गरेकोमा त्यसमध्ये ३३ ठाउँमा स्वास्थ्य परीक्षणसहितको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । सशस्त्र सीमा सुरक्षार्थ अग्रभागमा खटिने सुरक्षा संयन्त्र पनि हो । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा सीमा कायम भएकोमा भारततर्फ खुला सिमाना छ । चाडपर्वका बेला विगतमा भारतबाट घर फर्कने नागरिक सिमानामा लुटिने, कुटिने तथा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारमा पर्ने गरेका थिए । यो पटक त्यस्ता घटना दोहोरिन नदिन भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरेर सुरक्षा र आवागमन व्यवस्थापन मिलाइने दुवै प्रहरी संगठनले जनाएका छन् । सशस्त्रका सहायक प्रवक्ता थापाका अनुसार भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ । भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको हो । प्रहरी प्रवक्ता कडायतले चाडपर्वमा यात्रुको आवागमन बढी हुँदा सार्वजनिक सवारीको भाडामा ठगिने, भीडभाडको मौका छोपेर लुटपाट, चोरी/डकैती हुने, लामो दूरीका सवारीसाधनमा अनिवार्य २ जना चालक राख्ने मापदण्ड पालना नहुने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता गतिविधि नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाकर्मी तैनाथ गराइएको बताए । टिकट काउन्टर आसपास भाडामा हुने ठगी नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मीलाई तैनाथ गराइएको कडायतले बताए । दुवै सुरक्षा निकायले चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण, दुर्घटना भइहालेमा तत्काल खोज तथा उद्धारलाई प्रभावकारी बनाउन पनि मातहत निकायलाई निर्देशन दिएका छन् । सशस्त्रले कोशी प्रदेशका सीमा नाकामा २५, मधेश प्रदेशअन्तर्गका नाकामा ५३, वाग्मती र गण्डकी प्रदेशका नाकामा २/२, लुम्बिनी प्रदेशका नाकामा १९, कर्णाली प्रदेशअन्तर्गत १ र सुदूरपश्चिम प्रदेशका सीमा इलाकामा २० वटा डेस्क राखेको छ । गतवर्ष नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको द्विपक्षीय वार्तामा समेत सीमा आवागमनका क्रममा अपराध रोकथाम र नियन्त्रण तथा सीमावर्ती इलाकामा नेपालीमाथि हुने गरेका दुर्व्यवहारका घटना रोक्न दुवै निकायले सक्रियता देखाउनुपर्ने विषय उठाएको थियो । अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणसहितका विषय बैठकमा उठेको थियो । कोशीमा ४, मधेशमा २२, वाग्मती र लुम्बिनीमा ३/३ र सुदूरपश्चिमका सीमा क्षेत्रमा ७ ठाउँमा हेल्थ डेस्क राखिएको हो । चाडपर्वका बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन सहजीकरण गर्नेलगायत काम डेस्कबाट हुने सशस्त्रले जनाएको छ । भारतसँग जोडिएका मुख्यगरी इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी हुँदै सवारी आवागमन हुने ठूला नाका हुन् । यसबाहेक खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही र इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा र सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) लगायत नाकाबाट पनि आउजाउ हुन्छ । चीनतर्फ बन्द नाका भएका कारण पूर्वअनुमति लिएर मात्र आउजाउ गर्न पाइन्छ । रोजगारीबाट तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका नेपाली देश टेक्न नपाउँदै सीमा पारी नै लुटपाटमा पर्ने गरेका छन् । त्यस्ता घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीले आलटाल गर्ने र मजदुर/किसानका धनमाल सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन भारतीय सुरक्षाकर्मीबाट सहयोग नभएको गुनासो बर्सेनि आउँछ । यो पटक यात्रु सहायता कक्षबाट त्यस्ता विषयलाई गम्भीर रूपमा लिएर आउजाउ व्यवस्थित गरिने सशस्त्रले जनाएको छ । दसैं/तिहारको छेकोमा संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी/केरुङ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा र दार्चुलाको टिंकरलगायत ठाउँबाट सहज रूपमा आउजाउ गर्न सकिन्छ । यी नाकाबाट हुने आवागमनलाई पन चुस्त र व्यवस्थित गर्न सशस्त्रले सम्बन्धित नाका नजिकै राखिएका बोर्डर आउट पोस्ट (बीओपी) का संयन्त्रलाई निर्देशन दिएको छ ।

Like