सामूहिक हत्या तीनकुनेमा बदला भावले गरिएको खुलासा , ‘आई किल्ड फोर पिपल‘
रासंसा/काठमाण्डौ, आश्विन १,
मुलुकमा काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिल एन्ड काष्ठ उद्योगमा शुक्रबार मध्यरात भएको सामूहिक हत्या बदला भावका कारण भएको खुलेको छ । जन्मजात बोल्न नसक्ने एक युवकले बदलाभावका कारण सो घटना गराउँदा उनीसँग कुनै चिनजान नै नभएका एकै परिवारका तीन जनाको पनि ज्यान गएको छ । प्रहरीका अनुसार पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । घटनापछिको सीसीटीभी फुटेजका आधारमा प्रहरी उनीसम्म पुग्न सफल भएको थियो । सामूहिक हत्याकाण्डका अभियुक्त सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई प्रहरीले आइतबार पक्राउ गरेर घटनाको विस्तृत जानकारीसमेत दिएको छ । काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका बेला आइतबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट मुस्किलले २ सय मिटरको दूरीमा रहेको सो काष्ठ मिलमा भएको चार जनाको सामूहिक हत्यालाई लिएर काठमाडौं उपत्यकाको शान्ति सुरक्षामाथि नै प्रश्न खडा भइरहेका बेला हत्या अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले अभियुक्त सञ्जय भण्डारी र मृतक विशाल राईबिचको दुस्मनीका कारण सो घटना भएको अनुसन्धानका क्रममा खुलेको बताए । घटनामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन भनेर चिनिने विशाल राईको हत्या भएको थियो । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट लागेको थियो । एसएपी राठौरका अनुसार पक्राउ परेका सञ्जय र धनकुटाको भीरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय विशाल राईबिच मोटरसाइकल दुर्घटनालाई लिएर केही समयअघि विवाद भएको थियो । चाबहिलमा भएको विवादका क्रममा आफूमाथि कुटपिट गरेको भन्दै सञ्जय विशालसँग अत्यन्तै क्रुद्ध बनेका थिए । त्यसैको बदला लिन उनले सो घटना गराएका हुन् । प्रहरीका अनुसार आफूमाथि भएको घटनाको प्रतिशोधका कारण भण्डारीले बाटो आवतजावत गर्ने क्रममा सःमिल क्षेत्रमा लामो समयदेखि निगरानीसमेत गरेका थिए । उनले विशाललाई घटना भएको सःमिलको टहरोमा पटकपटक देखेपछि त्यहीँ बदला लिने योजना बनाएका थिए । प्रहरीका अनुसार सञ्जय काँडाघारीस्थित दिदी भिनाजुको घरमा बस्दै आएका थिए । विशालसँग बदला लिन उनी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको अनुसन्धानका क्रममा खुलेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार, सञ्जय विशालसँग यति रिसाएका थिए कि शुक्रबारको रात नै बदला लिई छाड्ने उनको योजना थियो । ‘विशाललाई आजै भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु भन्दै उनी काँडाघारीस्थित दिदीभिनाजुको कोठाबाट खुकुरी र झोलासहित निस्केका रहेछन्,’ एसएसपी खत्रीले भने । ‘आफ्नो कोठाको सोफामा बसिरहेको देखेपछि विशालले सोफामा किन बसेको भनी सुरुमा सञ्जयमाथि कुटपिट गरे,’ परिसर प्रमुख एसएसपी खत्रीले भने, ‘त्यसपछि सञ्जयले रिस थाम्न सकेनन्, उनले खुकुरीले टाउकोमा पटकपटक प्रहार गरेर विशालको हत्या गरे ।’ एसएपी खत्रीका अनुसार सञ्जय शुक्रबार राति सःमिलको पछाडितर्फ बन्द गेटबाट माथि चढी विशाल राई बस्ने कोठामा पुगेका थिए । तर, विशाललाई नदेखेपछि उनी सोफामै बसिरहेका थिए । त्यसपछि विशालको हत्या गर्ने क्रममा शुभद्रा भुजेलले कराएको जस्तो लागेपछि उनले आफूलाई चिनेर घटना बाहिर आउने डरले त्यही खुकुरीले शुभद्राको टाउकोमा हानेर हत्या गरेको बयान पनि उनले प्रहरीमा दिएका छन् । हत्यापछि सञ्जयले कुमार भुजेलको शव घिसार्दै त्यही टहराको कुनाको ट्वाइलेटको ढोकाछेउमा, अम्बिकाको शव पानीको कलछेउ र शुभद्राको शव काठ गोदामछेउमा घिसार्दै लगेर फालेर भागेका थिए । त्यहीबेला पूर्णबहादुर भुजेल पनि घटनास्थलमा पुगेको र फोन गर्न लागेको देखेपछि उनलाई पनि टाउकोमै पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । त्यसपछि सञ्जय भण्डारी पूर्णबहादुरकी श्रीमती अम्बिका भुजेलमाथि जाइलागेका थिए । उनको पनि टाउकोमा नै पटकपटक खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई सो घटनाको जानकारी सोही काष्ठ मिलमा बस्दै आएका २८ वर्षीय दीपेन्द्र राईले दिएका थिए । सुरुमा उनैले हत्या गरेको आशंका प्रहरी अनसुन्धानका क्रममा गरिए पनि पछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएको थियो । लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरीचौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राई ट्याक्सी चढेर तीनकुनेको प्रहरीचौकी पुगेका थिए । सामूहिक हत्याको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका थिए । सामूहिक हत्या प्रकरणमा उनको कुनै संलग्नता नदेखिएपछि प्रहरीले दीपेन्द्र राईलाई छाडेको छ । हत्यामा उनको कुनै संलग्नता नरहेको खुलेपछि छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरले जानकारी दिए । घटनामा मारिएका विशाल दीपेन्द्रका आफन्त हुन् । टोलीलाई विविध विधि र प्रविधिको अधिकतम प्रयोग गरी घटनाको सूक्ष्मतवरले अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न भनिएको थियो । अभियुक्त भण्डारी घटनापछि काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका थिए । भोलिपल्ट शनिबार अरू दिनजस्तै नक्सालस्थित आफू पढेको स्कुलका साथीलाई भेट्न पनि गएका थिए । अभियुक्त भण्डारीले सिन्धुपाल्चोकमा आठसम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने उनको बयान प्रहरीले सांकेतिक भाषा विज्ञबाट लिएको थियो । सांकेतिक भाषा विज्ञबाट बयान लिनुअगावै भण्डारीले आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए ।