सेयर बजारमा दोहोरो अंकको गिरावट, एक अर्बमा खुम्चियो कारोबार
रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,
मुलुकमा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। यसदिन २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर १ अर्ब ३० करोड ९ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन बुधबार १ अर्ब ३२ करोड बढीको सेयर कारोबार भएको थियो। आज सेन्सेटिभ इण्डेक्स पनि घटेको छ। सेन्सेटिभ इण्डेक्स ३.८८ अंकले घटेर ४३७.२१ विन्दुमा अडिएको छ। कारोबारमा आएका १३ समूहमध्ये १ को मात्र सूचक बढ्यो। बाँकी समूहको सूचक २.४५ प्रतिशतसम्म घटेको छ। फाइनान्स समूहको २.४५ र डेभलपमेन्ट बैंकको २.०९ प्रतिशतसम्म सूचक ओरालो लाग्यो। १२ समूहको सूचक घट्दा म्युचुअल फण्डको ०.७५ प्रतिशतले सेयर मूल्य बढेको हो। दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा यसदिन प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा रह्यो। सो बैंकको १२ करोड बढी रुपैयाँको सेयर कारोबार भयो। यसैगरी एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर ५ करोड बढी मूल्यमा किचबेच भयो।