३२ युरोपेली देशविरुद्ध पर्यावरणीय मुद्दा उठाउँदै पोर्चुगलका बालबालिकाहरू अदालतमा
एजेन्सी, भाद्र ९,
विश्वमा पोर्चुगलका बालबालिकाहरू ३२ युरोपेली देशविरुद्ध अदालतमा गएका छन् । पोर्चुगलको जंगलमा लागेको डढेलो र बिग्रँदो पर्यावरणीय चिन्ताले यी बालबालिकाहरूलाई युरोपेली अदालतमा लडाइँ सुरु गर्न प्रेरित गरेको हो । उनीहरुले मानव अधिकारको युरोपेली अदालत (ईसीएचआर) मा युरोपेली युनियनका देशहरूले जलवायु परिवर्तनमा यथेष्ट काम नगरेको, बिग्रँदो वातावरणीय अवस्था र प्रदूषण नियन्त्रणमा ध्यान नदिएको, जलवायु परिवर्तनले बाढी, डढेलो, खडेरी बढाएर दिनप्रतिदिन युरोपेली नागरिकको जनधनलाई जोखिममा पार्दै लग्दा पनि त्यसलाई रोक्न उचित कार्यक्रम नल्याएको, सरकारलाई नागरिकले आफ्नो शान्ति र सुरक्षाका लागि नागरिकले आफ्नो जिम्मेवारी पूरा गरे पनि सरकारका तर्फबाट पूरा नगरिएकोलगायतका आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका हुन् । जलवायु परिवर्तनमा सरकारको निष्क्रियता देखेर निराश पोर्चुगलका ६ जना युवायुवती र बालबालिकाहरूले ३२ युरोपेली देशहरूलाई अदालतमा लगेका हुन्। उनीहरुको सुनुवाइ सेप्टेम्बर २७ मा हुने भएको छ । उनीहरूका एक वकिलले अर्को महिनामा हुने सुनुवाइ अघि अदालतबाट अहिलेसम्म अत्यन्त सकारात्मक संकेतहरू आएको बताएका छन्। ईसीएचआरद्वारा सुनुवाइ हुन करिब एक महिना बाँकी छ। उनीहरूको यो कानुनी लडाईले अरूलाई विश्वव्यापी रूपमा वातावरणीय न्यायको माग गर्न प्रेरित गर्ने विश्वाश गरेका छन् । बालबालिकाले उठाएका यी मुद्दाहरूको समाधान वर्तमान नीतिहरूले पूरा गर्न सफल हुनेमा विशेषज्ञहरुले शंका गरेका छन् । मौसममा आएको चरम बदलावका केही महिनादेखि तापक्रम उच्च हुँदा जंगलमा आगो लागेर हजारौं घरबारविहीन भएका छन् । पानीको अभाव र गर्मीसँग सम्बन्धित रोगका कारण अस्पताल भर्ना हुनेहरूको संख्या वृद्धि भएको छ। खानेपानीको अभाव र खेतिपाती, पशुपालनमा व्यापक क्षति पुगेको छ। जलवायु संकटका विशेषज्ञ क्लिनिकल मनोवैज्ञानिक एलिजाबेथ मार्क्सले एक विश्वव्यापी सर्वेक्षणले जलवायु परिवर्तनका कारण आधाभन्दा बढी युवाहरूले ‘दु:खी, डरलाग्दो, क्रोधित, शक्तिहीन, असहाय र दोषी’ महसुस गरेको युरोन्युजलाई बताएकी छन् । र त्यसलाई सम्बोधन गर्नको लागि सरकारहरुले उचित कदमको अभाव देखाएको उनले बताएकी छन् । जसलाई मद्धत गर्ने र जसको सुरक्षा गर्नुपर्ने हो ती मानिसहरूले नै पीडित मानिसहरूलाई निराश पारेको भनाइ मार्क्सको छ। ‘बच्चाहरूलाई तिनीहरूको नियन्त्रण नभएको कुरामा चिन्ता गर्नुपर्ने बनाएको छ, नसोचेको कुराले पीडित बनाएको छ। त्यसको जिम्मेवारी सरकारहरूले लिनुपर्छ,’ मार्क्सले मिडियाहरूसित भनेकी छन्, ‘जुन कुरामाथि बालबालिकाको नियन्त्रण, पहुँच, अधिकार र जिम्मेवारीनै छैन त्यो कुराको चिन्ताले किन बालबालिका पीडित हुनुपर्ने ?’ बेलायतमा रहेको ग्लोबल लिगल एक्सन नेटवर्क (ग्लान) को समर्थनमा पोर्चुगलका बालबालिकाले मुद्दा दायर गरेका हुन् । जलवायु परिवर्तनले उनीहरूको जीवन, गोपनीयता, मानसिक स्वास्थ्य र अन्य मामिलाहरूको अधिकारलाई खतरामा पारेको तर्क आवेदकहरुले गरेका छन् । आवेदकका वकिलहरूमध्ये एक ग्लानका गेरी लिस्टन अदालतबाट अहिलेसम्मका सबै संकेतहरू अत्यन्त सकारात्मक भएको र मुद्दाले सफलता पाउने बताउँछन् । तर उच्च संशाधन भएका ३० भन्दा बढी देशहरूको कानुनी टोलीहरू बनाएर काम गर्नु सजिलो नभएको भनाइ केही विशेषज्ञहरूको छ । अर्कोतर्फ जलवायु मामिलाहरूको विस्फोट युरोप र त्यसभन्दा बाहिरको घटनाले अन्ततः सरकारहरूलाई कारबाही गर्न बाध्य तुल्याउनुपर्छ भन्ने भनाइ आवेदक र वातावरणीय अभियानकर्ताहरुको छ ।