चपुरमा उपेन्द्र यादवलाई कारवाहीको माग गर्दै पीडितद्धारा धर्ना
रासंसा/रौतहट, श्रावण १४,
मुलुकमा ‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै रौतहटको चन्द्रनिगाहपुरमा आज धर्ना दिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार गौर हत्याकाण्ड पीडित संघर्ष समितिले धर्ना दिएको हो । पूर्व घोषित कार्यक्रम अनुसार १३ साउनदेखी पीडित परिवारले अनशन बस्ने, १४ साउनमा मोटरसाईकल र्याली निकाल्ने र १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द गर्ने पीडित संघर्ष समितिका संयोजक देवीले बताईन् । समितिका संयोजक रुपसागर देवीका अनुसार न्याय पाउँने आशमा सरकारलाई दबाब दिने उदेश्यले धर्ना बसेको बताईन् । शक्ति र सत्ताको आडमा हत्याकाण्डका आपराधिकलाई जोगाउँने काम भईरहेको बताउँदै उनले माग पुरा नभए कडा आन्दोलनमा उत्रिने बताईन् । न्यायका लागि सर्वोच्च अदालतमा प्रक्रिया अघि बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिनअघि भएको घाइते एवं जाहेरीकर्ता अमर साह र संयोजक देवीले बताए । गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपी तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै धर्नामा पीडित परिवार बसेको छ । उनीहरूले उपेन्द्र यादवलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, दोषीलाई उन्मुक्ति दिन नहुने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन् । हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली र रौतहट बन्द गर्ने निणर्यमा पुगेको संघर्ष समितिले जनाएको छ ।
हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन् । पेशेवर आपराधिक समूहको जत्थाले आक्रमण गरी २८ जनाको हत्या गरेको आम जनता पार्टी (आजपा)का युवा नेता एवम मेयर प्रत्यासी विजय यादव निर्विजले बताए । उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । २०६३ चैत्र ७ गते दिउँसो १ बजे उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी निर्दोष कार्यकर्ताको निर्मम हत्या गरेका थिए । त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउँको र मुखमा हानेर मारेका थिए । त्यस्तै महिलाहरुलाई बाँसको फाटाले सम्बेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो । गौर हत्या काण्ड भएको भोलि पल्ट नै तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयूक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटना स्थल पुगेका थिए । घटनाको वास्वविक तथ्य पता लगाउँनका लागि नेपाल सरकारले तत्कालिन पुनराबेदन अदालतका न्यायाधिश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिबेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानविय अपराध गरेको भनि निष्कर्ष निकालेको थियो । यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सन लगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ । पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ । पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यस’boutमा पटक पटक कुरा उठाउँदै आएका छन् ।