विमानस्थलबाट यसरी बाहिरिएको थियो एक क्विन्टल सुन
रासंसा/काठमाण्डौ, श्रावण ६,
मुलुकमा हङकङबाट आएको क्याथे प्यासिफिकको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो अवतरण गर्यो। त्यसपछि जहाजको भूमि प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) सुरु भयो। ग्राउन्ड ह्यान्डलिङ भनेको विमानस्थलमा वायुयान अवतरण गरेदेखि प्रस्थान नहुन्जेलसम्म दिइने सेवा हो। भारतीय विमानहरूले भने आफैं ग्राउन्ड ह्यान्डलिङ गर्छन्। अन्य सबै अन्तर्राष्ट्रिय विमानहरूको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले गर्दै आइरहेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौला बताउँछन्। त्यसपछि निगमले खटाएका ग्राउन्ड ह्यान्डलिङका इन्चार्जले उक्त कार्गो सिनामंगल गैरीगाउँस्थित कार्गो कप्लेक्समा पठाउने प्रबन्ध गरे। यसबेलासम्म सामानको चेकजाँच भएन। सामान सीधै ट्रलीमार्फत कार्गो कम्प्लेक्समा पठाइएको थियो। कार्गो सामान सधैं यसरी नै पठाइने गरिएको विमानस्थलका कर्मचारी बताउँछन्। कम्प्लेक्समा सामान पुगेपछि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई जिम्मा दिइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणपट्टि रहेको कार्गो कम्प्लेक्सभित्रको गोदाम व्यवस्थापनको जिम्मा उक्त कम्पनीले गर्दै आएको छ। क्याथे प्यासिफिकबाट आएका यात्रुका मालसामानहरू र कार्गो सामान लिन विमानसम्म पुगे, नेपाल एयरलाइन्सका कर्मचारी। त्यसपछि विमानका कर्मचारीले ‘एयरवे’ बिल ग्राउन्ड ह्यान्डलिङ (नेपाल एयरलाइन्सका कर्मचारी) लाई जिम्मा लगाए। एयरवे बिल भनेको एउटा कागजात हो जुन अन्तर्राष्ट्रिय एयर कुरियरद्वारा पठाइएका सामानहरूसँगै ढुवानीको बारेमा जानकारी प्रदान गर्न र यसलाई ट्याकिङ गर्न अनुमति दिइएको हुन्छ। क्याथे प्यासिसिफको उक्त विमानमार्फत ‘अटो पार्टस्’ लेखिएको कार्गो रेडी ट्रेड प्रालिको नाममा आएको थियो। सरकारी संस्थानको रूपमा गोदाम कम्पनी पनि छ। विमानबाट कार्गो सामान बुझ्ने ठाउँसम्म प्रहरी नजाने र सामान सीधै भन्सारमा आउने भएकाले त्यस अवधिमा आफ्नो कुनै भूमिका नहुने प्रहरी अधिकारी बताउँछन्। प्रहरी प्रवक्ता कुवेर कडायत भन्सारका ग्राउन्ड ह्यान्डलिङ र भन्सारका कर्मचारीले सहयोग माग गरेको अवस्थामा मात्रै प्रहरी त्यहाँ पुग्ने गरेको बताए। एयरवे बिलको आधारमा ग्राउन्ड ह्यान्डलिङका कर्मचारीले रुजु गराएपछि गोदाम कम्पनीले सामान बुझेको थियो। त्यहाँ पुगेका सामानको जिम्मा गोदाम कम्पनीले लिने गरेको प्रवक्ता सिटौलाले बताए। त्यसपछि कार्गोलाई व्यवस्थित गरेर गोदाममा राखिएको थियो। भन्सारले निकाल्नु नभनेसम्म सामान गोदाममा नै सुरक्षित हुन्छ। यहाँ गोदामको रातिको सुरक्षा नेपाली सेनाले गर्छ। विमानस्थल भन्सार, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आर्मीको रोहवरमा गोदाम खोल्ने र बन्द गर्ने काम हुन्छ। खोलिसकेपछि आन्तरिक सुरक्षा गोदाम कम्पनीको हुन्छ। त्यसपछि ग्राउन्ड ह्यान्डलिङबाट रुजु भएको सामान गोदाम कम्पनीले कम्प्युटरमा इन्ट्री (प्रविष्ट) गरेका थिए। जहाँ स्कुटरको ब्रेक सु र दाह्री काट्ने मेसिन भनेर नै सामान इन्ट्री भएको स्रोतले बतायो। कम्प्युटरमा हालिसकेपछि त्यसलाई भन्सारको आसिकुडा सिस्टममा राखियो। आसिकुडा भनेको भन्सार प्रशासनलाई सरल, सहज र एकीकृत बनाउने कम्प्युटरकृत प्रणाली हो। यो प्रणाली सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवात भएको हो। जस्ले भन्सार कार्यलाई आधुनिक, वैज्ञानिक, मितव्ययी बनाउने र राजस्व चुहावट नियन्त्रण गर्दै आर्थिक पारदर्शिता कायम गर्ने गर्छ। गोदाममा कम्प्युटरमा चढाइएका सामान आसिकुडामा व्यवस्था गरिन्छ। आसिकुडा भनेको भन्सार तथ्यांकको स्वचालित प्रणाली हो। आसिकुडामा गएको सामानलाई सम्बन्धित आयातकर्ता वा आयातकर्ताले तोकेको भन्सार एजेन्टले सम्बन्धित सामानको सो घोषणा गर्दै प्रज्ञापनपत्र भर्ने विमानस्थल भन्सार कार्यालय प्रवक्ता अम्बिकाप्रसाद खनाल बताउँछन्। सुनजडित ब्रेक सु र दाह्री काटने मेसिनको प्रज्ञापनपत्र भन्सार एजेन्ट राजेन्द्रकुमार राईले भरेका थिए। पछिल्लो समय ब्रेक सुमा भेटिएको सुनको केसमा भने जाँचकी झुक्किएको हुन सक्ने विमानस्थल भन्सार कार्यालयको भनाइ। मंगलबार दिउँसो आइपुगेको अवैध सुन बुधबार साँझ भन्सारको सबै प्रक्रिया पूरा हुँदासम्म पनि बरामद भएन। भन्सार एजेन्टसँग पनि एयर वे बिल हुन्छ। भन्सार एजेन्टले भरेको उक्त प्रज्ञापनपत्रको आधारमा आयातित सामान कुन लेनमा पर्छ भन्ने कम्प्युटरले छुट्ट्याइदिन्छ। ग्रिन, यल्लो र रेड लेन हुन्छ। विमानस्थलमा आउने भनेको कार्गो प्रायः ग्रिन लेनमा नै पर्ने हुन्छ। किनभने अन्तर्राष्ट्रिय कार्गो आउने हुँदा सम्बन्धित देशहरूमा पनि जाँच हुने भएकोले बदमासी हुँदैन भन्ने मान्यता राख्ने गरिएको भन्सारका एक कर्मचारीले बताए। भन्सार विभागले दिएको एचएस कोडका आधारमा विभागले कुन सामान कुन लेनमा पर्छ भनेर तोकिदिएको हुन्छ। हरेक १५–१५ दिनमा कुन लेनमा कुन सामान पर्छ भन्ने विभागले परिवर्तन गर्ने गर्छ। मतलव कुनै सामान सधैं ग्रिन, यल्लो वा रेड लेनमा पर्छ भन्ने हुँदैन। कार्गो विमानस्थलमा ओर्लेदेखि भन्सार जाँचपास भएर बाहिर निस्किने बेलासम्म भन्सारका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्सार विभागका एक पूर्वमहानिर्देशकले बताए। सबै सामान एक्सरे मेसिनमा जाने र एक्सरे मेसिनले शंका गरे भौतिक जाँच पनि हुने गरेको ती महानिर्देशकले बताए। विमानस्थल भन्सारले सामान निकाल्न अर्डर गरेपछि ज्ञापनपत्रको आधारमा कुन कम्पनीको सामान हो, कसले लिने, आधिकारिक व्यक्ति को हो भन्ने कागजसहित एजेन्ट आउँछन्। उनीहरूले गोदाममा राखेको निश्चित शुल्क तिरेको रसिदपछि ती सामान भन्सारको एक्सरेमा हालिन्छ। सुन जडित ब्रेक सु र दाह्री काटने मेसिन पनि एक्सेरमा राखिएका थिए। एक्सरेमा ती सामान ‘कालो डल्लो’ देखिएको भन्सार स्रोतले बतायो। त्यसपछि जाँचकीले केही पोका खोलेर हेरे पनि ब्रेक सु भित्र सुन भनेर छुट्ट्याउन नसकेको भन्सार स्रोतले बतायो। भन्सारमा ठूला प्याकेजिङ र एक्सरेमा हाल्न प्रतिबन्धित वस्तुबाहेक सबै सामानलाई एक्सरेमा हाल्ने गरिन्छ। भन्सारको एक्सरे मेसिनमा जान नमिल्ने सामानहरू भन्सार प्रतिनिधिको रोहवरमा एक्सरेबिनाको गेटबाट निकाल्ने गरिन्छ। त्यसपछि सामानको चेकजाँचको ड्युटी कसलाई पर्छ भन्ने सामानको लोडको आधारमा कम्प्युटरले नै तोकिदिन्छ। प्रज्ञापनपत्र भरेपछि भन्सारले गोदामलाई जानकारी गराउँछ। प्रज्ञापनपत्रमा नै सामानहरू ग्रिन, यल्लो वा रेड लेनमा पर्छ भनी छुट्ट्याएको हुन्छ। जस्तो फलफूलहरू ग्रिन लेनमा पर्छन्। एक्सरेबाट सामान बाहिर निस्केपछि प्रज्ञापनपत्र भर्ने बेला जुन अफिसर र जाँचकी थिए, उनकै नेमप्लेट भएको ठाउँमा सामान राखिएको थियो। एक्सरे गरेर राखेको सामान लोडरले नै राखिदिने प्रवक्ता खनाल बताउँछन्। विमानस्थल भन्सारले सामान निकाल्न अर्डर गरेपछि ज्ञापनपत्रको आधारमा कुन कम्पनीको सामान हो, कसले लिने, आधिकारिक व्यक्ति को हो भन्ने कागजसहित एजेन्ट आउँछन्। उनीहरूले गोदाममा राखेको निश्चित शुल्क तिरेको रसिदपछि ती सामान भन्सारको एक्सरेमा हालिन्छ। सुन जडित ब्रेक सु र दाह्री काटने मेसिन पनि एक्सेरमा राखिएका थिए। एक्सरेमा ती सामान ‘कालो डल्लो’ देखिएको भन्सार स्रोतले बतायो। त्यसपछि जाँचकीले केही पोका खोलेर हेरे पनि ब्रेक सु भित्र सुन भनेर छुट्ट्याउन नसकेको भन्सार स्रोतले बतायो। आयातकर्ताले नै भनेका लोडर वा कार्गोका लोडरले ट्रलीमार्फत सामान तोकिएको क्षेत्रमा राखिदिन्छन्। अघि कम्प्युटले जुन जाँचकीलाई तोक लगाएको छ, उनले ती सामान हेर्छन्। ‘ग्रिन लेनमा भएका सामान प्रायः हेरिँदैन,’ प्रवक्ता खनालले भने, ‘शंका लाग्यो भने ग्रिन लेनको केसमा हेरिन्छ। यल्लो ‘रेन्डम्ली’ अलि अलि चेक हुन्छन्। रेड लेनमा परेका सामानको अवस्थामा भने प्रायः सबै हेर्ने गरिन्छ।’ जाँचकीले जाँचेपछि त्यसको दरबन्दी मिल्यो मिलेन ? दरबन्दीअनुसार भन्सार महसुल लाग्यो वा लागेन ? भनेर मूल्यांकनलाई जिम्मा दिइन्छ। मूल्यांकनमा एकजना नायबसुब्बा र एकजना अफिसर हुन्छन्। उनीहरूले प्राप्त कागजका आधारमा हेर्छन्। त्यहाँ भौतिक जाँच हुन पनि सक्छ, नहुन पनि सक्छ। उनीहरूले सबै ठीक छ भनेर कम्प्युटरमा क्लिक गर्छन्। त्यसपछि उपसचिवस्तरका भन्सार अधिकृतले कम्प्युटरमा ठीक छ भनेर क्लिक गर्छन्। त्यो प्रज्ञापनपत्रलाई जाँचपासको अफिसरलाई देखाउँछन्। यहाँ पनि नायबसुब्बा र अफिसर हुन्छन्। यदि जाँचपासको अफिसरलाई शंका लाग्यो भने पुनः जाँच पनि गर्न सक्छन्। तर, उनलाई सबै ठीक छ भन्ने लागेमा ‘ग्रिन’ संकेत गरिदिन्छन्। त्यसपछि भन्सार महसुल तिर्न लगाइन्छ। सम्बन्धित एजेन्टले बैंकमा भन्सार शुल्क तिर्छन्। त्यसपछि प्रज्ञापनपत्रसहितको उक्त बिल पनि राख्छन्। सुरुमा प्रज्ञापनपत्रमा तोक लगाउने जाँचकीले ती कागजात बुझेर ‘गेटपास’ निकालिदिन्छन्। सुन जाँचपासमा कमजोरी देखिएको भन्दै भन्सारका खरिदार यादव पराजुली र कर अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ। भन्सार क्लियर भएपछि सामान केमा लैजाने भन्ने प्रज्ञापनपत्रमा नै उल्लेख गरिएको हुन्छ। त्यहाँ आफैं बोकेर लैजाने वा गाडीमार्फत सामान लैजाने भन्ने विकल्प दिइएको हुन्छ। गाडीमार्फत भनिएको छ भने गाडीको नम्बर पनि समावेश हुन्छ प्रज्ञापनपत्रमा नै। तस्करीको सुन समातिएपछि एक जना चिनियाँ र एक जना भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्। उक्त सुन कसको हो र कसले मगाएको थियो भन्ने अझै खुल्न सकेको छैन। गेटमा त्यो प्रज्ञापनपत्र देखाएपछि मात्र भन्सारको ढोकाबाट सामान बोकेको गाडी बाहिर आउँछ। सुनजडित ब्रेक सु र दाह्री काट्ने सामान बा२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर लैजान खोजिएको थियो। गेटमा थियो– राजस्व अनुसन्धान विभागको टोली। उक्त टोलीले सशस्त्र प्रहरीको सहयोगमा उक्त ट्याक्सीलाई भन्सार गेटबाट नियन्त्रणमा लिएको थियो। कार्गो जाँचपासमा विमानस्थलको कुनै पनि भूमिका नहुने विमानस्थल प्रवक्ता सिटौला बताउँछन्। ‘विमानस्थलको भवनमा कार्गो कम्प्लेक्स अपरेट गर्ने जिम्मा दिइएको हो। नीतिगत व्यवस्था एवं पूर्वाधार खडा गर्ने जिम्मा विमानस्थलको भए पनि आन्तरिक सञ्चालनको जिम्मेवारी हुँदैन,’ उनले भने । कार्गो विमानस्थलमा ओर्लेदेखि भन्सार जाँचपास भएर बाहिर निस्किने बेलासम्म भन्सारका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्सार विभागका एक पूर्वमहानिर्देशकले बताए। सबै सामान एक्सरे मेसिनमा जाने र एक्सरे मेसिनले शंका गरे भौतिक जाँच पनि हुने गरेको ती महानिर्देशकले बताए। ‘शंका लाग्नेबित्तिकै भन्सार अधिकृतले पुनः सबै जाँच गर्ने अधिकार पाएको हुन्छ,’ ती अधिकारीले भने। हाल भन्सार प्रणाली कम्प्युटरकृत भइसकेकोले त्रुटि हुने सम्भावना कम भएको विमानस्थल भन्सार कार्यालय प्रवक्ता खनाल बताउँछन्। सामानको लोड धेरै भएको बेलामा मानवीय त्रुटि भने हुन सक्छ। तर, अहिले विमानस्थल कार्गो यार्डमा त्यति धेरै सामान नभएको उनले बताए। ‘ओभरलोड हुँदा जाँचकीले कम हेर्छन् कि भन्ने हो, तर त्यसो गर्न पाइँदैन,’ खनाल भन्छन्। जाँचकीले भौतिक रूपमा नै उक्त ब्रेक सुको बाकसको जाँच गरेको देखिएको प्रवक्ता खनालले जानकारी दिए। ‘जाँच भएको नै देखिन्छ। तर, ब्रेकसुको बाहिरको रंग भनेको सेतो हुन्छ। उसले भित्री भाग भने पूर्णरूपमा जाँच गरेको देखिएन,’ खनालले भने, ‘भित्र के छ भन्नका लागि ग्रेन्डर ल्याएर नै काट्नुपर्ने हुन्छ। त्यो गर्न समस्या हुन्छ।’ उक्त दिन आठ बाकसमा ब्रेक सु आएको र तीमध्ये जाँचकीले ३/४ वटा बाकसको बाहिर भाग खोलेर हेरेका थिए। भित्री भाग नहेरी सामान छोडेको देखिएको भन्सारका कर्मचारी बताउँछन्। जाँच गर्दा कुनै सामानमा शंका लाग्यो भने रि–चेक (आरसी) भनेर लेखिएको हुन्छ। उनका अनुसार यसको मतलब यसलाई पुनः जाँच गर्ने वा रेड लेनबाट लगेर जाँचपास गर्नु भनेर लेखिएको हुन्छ। त्यसको आधारमा जाँचकीले एक–दुईपटक नै हेर्नुपर्छ। पछिल्लो समय ब्रेक सुमा भेटिएको सुनको केसमा भने जाँचकी झुक्किएको हुन सक्ने कार्यालयको भनाइ छ।