दबाब दिने तयारीमा केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री खाँणलाई निलम्बन नगर्ने सहमति जुटाउँदै कांग्रेसका शीर्ष नेता

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २७,

मुलुकमा नेपाली कांग्रेसका शीर्ष नेता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयलाई केन्द्रीय समितिमा नउठाउने सहमतिको प्रयासमा जुटेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य खाँण पक्राउ परेपछि तत्काल निलम्बन गर्नुपर्ने आवाज उठेपनि हालसम्म निलम्बनमा परेका छैनन्। केन्द्रीय समितिको बैठकले खाँणलाई निलम्बन नगर्ने संकेत राठोरले गरे। ‘अदालतमा विचाराधिन रहेको मुद्दाको विषयमा राम्रो नराम्रो पक्ष निकालेर छलफल गर्नुको अर्थ छैन ।’ उनले अन्नपूर्णसँग भने, ‘यो विषय केन्द्रीय कमिटिको बैठकमा उठेपनि प्राथमिकतामा पर्दैन । सामान्य मान्छेले बुझ्ने कुरा हो, अदालतमा रहेको विषय किन उठाउनु ?’ पार्टी सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समितिको बैठकमा खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याउनबारे सहमति जुटाउन बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। सहमहामन्त्री राठोरले बैठकमा खाँणको सकरात्मक/ नकरात्मक कुनै विषय उठान नहुने बताए। देउवाले बैठकमा खाँणको बारेमा नबोल्न रुलिङ गर्ने तयारीसमेत गरेको बताइएको छ। पार्टी केन्द्रीय कार्यालय विपीनगरमा आज दिउँसो केन्द्रीय समिति बैठक अगाडि एजेण्डा तय गर्न बिहान ९ बजे सभापति देउवा निवास धुम्बाराहीमा पदाधिकारीको बैठक तय भएको छ। सहमहामन्त्री राठोरका अनुसार बैठकमा निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ। देउवाले बैठकलाई अनौपचारिक छलफल गर्ने भनेर केन्द्रीय समितिको बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने प्रयास गरेका छन्। अर्कोतिर शीर्ष नेताले नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न देखिएका खाँणविरुद्ध अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेकाले निलम्बन गर्नुपर्ने प्रस्ताव राख्ने तयारीमा केन्द्रीय सदस्यहरु लागेका छन्। एमालेले अदालतबाट पक्राउ पूर्जी जारी गरेलगत्तै सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेकाले कांग्रेसले पनि खाँणलाई निलम्बनको आवाज उठाउने तयारीमा आफूहरु जुटेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए। उनले भने, ‘एमालेले पक्राउ पूर्जी जारी भए लगत्तै निलम्बन गर्‍यो। जनताले कांग्रेसतिर नजर लगाइरहेका छन्। अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेकाले हाल निलम्बन गर्नुपर्छ। पछि निर्दोष ठहरिय फुकुवा गर्न सकिन्छ। कांग्रेसले भ्रष्टचारीको संरक्षण गर्नुहुँदैन।’

Like