भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ, प्रधानमन्त्री
रासंसा/काठमाण्डौ, चैत्र ६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताए। विश्वासको मत पाएपछि सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुई चार दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरे। उनले सतप्रतिशत मत पाउने आशा गरेको भए पनि १७२ पर्याप्त रहेको बताए। ‘जति आयोग त्यो पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। विकास निर्माणका काम अगाडि बढ्छ,’ उनले भने। ‘भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। दुई चार दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिलाउँछौं,’ उनले भने। उनले भारत भ्रमणबारे अहिल्यै टुंगो नलागेको बताए। सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘भारत भ्रमणको टुंगो लागेको छैन। यो महिनाको अन्त्य वा अर्को महिनाको सुरुमा हुनसक्छ।’ भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले पहिलो वैदेशिक भ्रमण भारतबाट हुने बताएका थिए। प्रचण्डले यसअघि कतार भ्रमण र चीन भ्रमण स्थगित गरेका छन्। यसअघि उनी चीनमा हुने बोआओ फोरममा सहभागी हुने मिति तय गरेका थिए।