चार जनाको उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता
रासंसा/काठमाण्डौ, फाल्गुण २७,
मुलुकमा उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरिएकोमा चार जनाको उम्मेदवारी दर्ता भएको हो । यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्म साझा उम्मेदवार तय हुने बताए । आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । जनता समाजवादी पार्टी (जसपा)बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उपराष्यट्रपतिका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरि, जसपाकै प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव रहेका छन् भने समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् । आयोगको कार्यतालिका अनुसार आज नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपतिको मनोनयन दर्ता गराएका छन् । नेता रामसहायको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी तथा समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । चैत ३ गते मतदान हुनेछ ।