परीक्षा हलमा किशाेरी मात्रै देखेपछि एक किशोर बेहोस

Share to:

एजेन्सी,

हामीमध्ये धेरैलाई अपरिचितसँग कुरा गर्न अफ्ठेरो लाग्छ । अझ कसैलाई त विपरीत लिङ्गीसँग कुरा गर्नुपर्‍यो भने पसिना नै आउँछ । तर यहाँ एक किशोरको पसिना मात्रै आएन, हालत नै खराब भयो । ‘परीक्षा केन्द्रमा ५०० जना केटीहरू थिए । यो देखेर उनी असहज भए र उनलाई ज्वरो नै आयो,’ प्रसादकी काकीले एएनआई समाचार एजेन्सीसँगको कुराकानीमा भनिन् । बेहास भएपछि उनलाई उपचारका लागि नजिकैको स्थानीय अस्पताल लगियो । अडिटी सेन्ट्रलका अनुसार भारतका १७ वर्षका एक किशोर अघिल्लो महिना परीक्षा दिन गएका थिए तर उनले परीक्षा भने दिन पाएनन् । खासमा भएको के थियो भने, मनिष शङ्कर प्रसाद, बिहार सरिफस्थित अलामा इकबाल कलेजका विद्यार्थी, गणितको परीक्षा दिन सुन्दर गढ गएका थिए । तर परीक्षा हलमा पसेपछि उनले जे दृश्य देखे त्यसले उनको नौ नारी खिच्यो । पूरा हल भरी केटी मात्रै त्यो पनि लगभग ५०० जना । उनको टाउको घुम्यो, बेहोसै भएर ढले । मनिषका बुवा सच्चिदानन्दले पछि इन्डिया टिभीसँगको कुराकानीमा आफ्नो छोरोको बेहोस भएको थुप्रै घण्टापछि मात्रै होस आएको बताए । उनले भने, ‘केटीहरूले भरिएको कोठामा एक्लो केटा भएको अनुभवले उनलाई यति धेरै स्तब्ध बनाएको थियो कि के कारणले बेहोस भयौ भनेर सोध्दासमेत उनले बोल्न सकेनन् ।’ तर केटीले भरिएको परीक्षा हलमा उनी मात्रै एक्लो केटा कसरी पुगे भनेर अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । यद्यपि, अधिकारीले परीक्षाको फारममा गल्तीवश लिङ्गको ठाउँमा ‘महिला’ भनेर लेखे कि भनेर अनुमान गरेका छन् । मनिष शङ्कर प्रसाद गाइनोफोबियाद्वारा ग्रसित हुन् कि भनेर पनि अनुमान गरिएको छ । यो अवस्थाबाट ग्रसित व्यक्ति महिला देखेर तर्सिन्छन् । अथवा उनी असाध्यै लजालु स्वभावका व्यक्ति पनि हुन सक्छन् । घटनापछि उनलाई निको हुन केही समय भने पक्कै लाग्यो । उनी पूरक परीक्षामा पनि समावेश भएनन् ।

Like