सचिव क्वात्राको म्याराथुन शैलीको यात्रा : ओलीको मनमा शंकाको बीजारोपण !
रासंसा/काठमाण्डौ, फाल्गुन ३,
मुलुकमा भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण सकाएर हिजै बंगलादेश पुगेका छन् । उनले दुई दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष डा.सीके राउत, उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसम्मलाई उनले भेटे । त्यस्तै, जनता प्रगतिशील पार्टी अध्यक्ष हृदयेश त्रिपाठी, माओवादी केन्द्र उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँण, रमेश लेखकलाई भेटेका छन् ।यसरी क्वात्राको म्याराथुन शैलीको भेटघाट कुटनीतिकभन्दा राजनीतिक उद्देश्यले भएको देखियो । परराष्ट्र विज्ञ रमेशनाथ पाण्डे भन्छन्, ‘विगतदेखि दुई देशबीच देखिएको समस्या समाधान गर्न कुनै सचिवस्तरमा त कुनै मन्त्री स्तरमा विभिन्न संयन्त्रहरु बनेका छन् । त्यहीँ संयन्त्रको बैठकमा भाग लिन सचिव क्वात्रा नेपाल आउनुभयो तर जे कामका लागि आउनु भयो, त्यो काम नगरी राजनीतिक गफगाफ बढी गरेर फर्किनुभयो ।’ विदेश मामिला र दुई देशको विकास निर्माणमा सहकार्यको विषयमा परराष्ट्रमन्त्री विमला राई पौड्याल, परराष्ट्र सचिव भरतराज पौड्यालसँग मात्र भएको हो, त्यो पनि मुश्किलले एक घण्टा । त्यसबाहेक अरु जति पनि भेटघाट भएका छन्, ती सबै राजनीतिक उद्देश्यले भएको जानकारहरु बताउँछन् । उनको भ्रमण अपेक्षाभन्दा फरक भएको भन्दै पाण्डेले क्वात्रासँग जति जना नेताले भेटे, तीमध्ये कसैले पनि मुख्य विषयमा प्रवेश नगरेको जिकिर गरे । सबै भेटघाट राजनीतिक केन्द्रित भए, नेताहरुले सबै भेटघाटलाई राष्ट्र केन्द्रित भन्दा पनि आफू केन्द्रित गरेको उनले टिप्पणी गरे । राष्ट्रपतिलाई लिएर एमाले–माओवादी केन्द्रमा जब खटपट सुरु भयो, माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड काँग्रेसका सभापति देउवासँग नजिकिए । चुनावसम्म काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा पाँचदलीय गठबन्धन थियो । भारत अनुकूलको त्यो गठबन्धन छाडेर जब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार बनाए । एमाले–माओवादी गठबन्धनको सरकारलाई चीनको नजरले हेर्दै भारत सशंकित भयो । यसरी फेरि भारत अनुकूल राजनीतिक वतावरण बन्न थालेपछि विदेश सचिव क्वात्राको यो भ्रमण भएको हो । आफ्नो अनुकुल सत्ता समीकरण बनाउन दुई दिनसम्म नेपालमा क्वात्राको दौडधुपले सबै कुरा छर्लङ्ग पारेको छ । विदेश सचिव क्वात्राले भेटेको भोलिपल्टै एमाले अध्यक्ष ओलीको बोली फेरिएको छ । त्यसको अघिल्लो दिनसम्म आफ्नो गठबन्धनप्रति आशावादी रहेका उनी क्वात्रालाई भेटेको भोलिपल्ट आफ्नै गठबन्धन रहने नरहनेमाथि शंका मात्र गरेनन्, उनले देशमा देशी विदेशीको चलखेल बढेको धारणा पनि राखे । अनेरास्ववियुको महाधिवेशनमा दिएको ओलीको अभिव्यक्तिले क्वात्रा भ्रमणले नेपालको राजनीतिमा कति प्रभाव पारेको छ भने कुराको संकेत हो । परराष्ट्रविद् लोकराज बराल भन्छन्, ‘दुई दिनमा सचिव क्वात्राले १४ जनाभन्दा बढी नेता तथा विभिन्न सेक्टरका व्यक्तिलाई भेटेर सबैको राजनीतिक मनोभावना बुझ्नु भएको छ । देशको राजनीतिक अवस्था कहाँ जान्छ भन्ने कुराको रिपोर्ट तयार गरेर फर्किनु भएको छ ।’ जो कोहीको आफ्नो अनुकूलको सरकार बनोस्, आफ्नो मान्छे सरकारमा भइदियोस्, चिनजानका भइदियोस् भन्ने चाहना हुन्छ । भारतको पनि त्यही हुन सक्छ । तर, दबाब नै दिएर यसलाई नै बनाऊ, त्यसलाई नै बनाऊ भन्ने अवस्था नरहेको बरालको विश्लेषण छ । नेपालको ठूल्ठूला राजनीतिक परिवर्तनमा भारतको भूमिका छ । त्यसैले, शंकाहरु हुने गरेको तर त्यस्तो शंका गर्ने अवस्था हाल नरहेको उनी बताउँछन् । बरालका अनुसार नेपालमा भारतले के गर्छ, के गर्दैन भन्दा पनि यहाँ मनोवैज्ञानिक त्रास रहेको देखियो । गर्नलाई भारतले केही गर्दैन, विदेश सचिव आएर सबैसँग भेटे कुराकानी गरेर फर्के तर यहाँ भारतले के के न गर्यो भन्दै हल्ला मात्र बढी भएको उनको बुझाई छ । यहाँ अरु देशले चलखेल नगरोस्, अरु देश हावी नहोस् भनी एक प्रकारको चिन्ता भारतको अवश्य रहेको छ । त्यस्तो चिन्ता चीन र अमेरिकाको पनि देखिन्छ । बेला बेलामा ती देशका प्रतिनिधिहरु आएर माहोल बुझेर फर्किने गरेका छन्, भारतले पनि त्यही गर्यो । बरालले अगाडि भने, ‘माहोल बुझेर फर्केका छन् । त्यहाँ गएर सरकारलाई आफ्नो रिपोर्ट बुझाउँछन् । र, त्यहीअनुसार भारत सरकारले आफ्नो नीति बनाउला ।’विदेश सचिव क्वात्रा नेपालमा २०७६–२०७८ सम्म भारतका लागि राजदूत रहिसकेका छन् । उनी २०७८ चैतमा भारत फर्केपछि भारतका विदेश सचिवमा नियुक्त भएका थिए । राजदूतको रुपमा यहाँ काम गर्दा सबैको बारेमा जानकार रहेका उनलाई अहिलेको भ्रमणमा नेपालको परिस्थितिको बारेमा खासै ब्रिफिङ गर्नु परेको थिएन । क्वात्रा नेपालको राजदूत भएकै बेला एमाले अध्यक्ष ओली नेतृत्वको सरकार ढलेको थियो र शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । अमेरिकामा लामो समय भारतका लागि राजदूत भएर काम गरेका क्वात्राको नेपालमा दुई वर्षको बसाइँ सफल रहेको बताइन्छ । राजदूत हुँदा यहाँका नेता तथा ब्युरोक्राइट्ससँग बनाएको सम्बन्ध उनलाई अहिले काम लागेको छ । आफ्नै कार्यकालमा देउवालाई प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गराउन सफल सचिव क्वात्राले नेपाल आएर काँग्रेस पार्टीलाई निकै महत्त्व दिए । नेपाल आएर जति नेताहरुलाई भेटे, ती सबैलाई क्वात्राले चिनेको आधारमा भेटेका हुन् । कसैसँग राम्रो चिनजान भएको कारण अलि बढी समय भेटे । जोसँग कम चिनजान हुँदा कम समय भेटे । यसरी भेटघाटलाई इस्यु बनाउन नहुने लोहनीले बताए । परराष्ट्रविद् तथा राप्रपाका नेता प्रकाशचन्द लोहनीले भने, ‘सचिव क्वात्रा नेपालमा राजदूत भएर काम गरिसकेका हुनाले चिनेको आधारमा यी नेताहरुलाई भेट्नु भएको हो, यो खासै नयाँ विषय होइन ।’ भारतका विदेश सचिव क्वात्रा आएर व्यापक भेटघाट गर्नुलाई अन्यथा लिन नहुने भन्दै लोहनीले अगाडि भने, ‘भारतका सचिव आएर नेपालमा केही गर्न सक्नुहुन्न । जे गर्छन् नेपालीले आफै गर्छन् । उहाँले भन्ने कुरा हामीले कसरी ग्रहण गर्ने त्यसमा भर पर्छ ।’ परराष्ट्रविद् पाण्डेका अनुसार कोही विदेशी प्रतिनिधिहरु आउँदा नेपालमा देखिएको समस्यालाई समाधान गर्नुभन्दा अन्य अन्य कुरामा बढी समय खेर फालेका हुन्छन् । पछि त्यही नेताले भन्छन,् विदेशी हस्तक्षेप बढ्यो । आएको बेलामा आफ्नो कुरा प्रष्ट रुपमा राष्ट्रको हितमा कुरा राख्न चाहदैनन, सक्तैनन्् । पछि राष्ट्रवादी भएर ठूल्ठूला कुरा गर्ने गरेको उनको टिप्पणी छ । उनीहरु यसैका लागि जागिर खाएका छन् । अरु देशसँग आफ्नो अनुकूल कुरा गर्ने तर त्यो कुरालाई कसरी लिने त्यो देशमा भर पर्छ । भोट हाल्ने नेपालीले हो, उम्मेदवार बनाउने नेपालीले हो । अरुले यो गर, त्यो गर भनेर हुँदैन । के गर्ने बुद्धि आफैले पुर्याउनुपर्ने लोहनीले बताए । सचिव क्वात्राको नेपाल भ्रमण विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायतमा केन्द्रीत रहेको भारतीय दूतावासले जनाएको छ । नेताहरुसँगको भेटघाटमा दुवै पक्षले दुई देश बीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोग जनता–जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको विषयमा छलफल भएको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्तीअनुसार अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य, रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिवास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गर्नेलगायतका विषयमा उनको भ्रमण केन्द्रीत थियो ।