सरकारले प्रणय दिवसको मुखमै रोक्यो गुलाफ फूलको आयात

Share to:

रासंसा/काठमाण्डौ, माघ २७,

मुलुकमा सरकारले गुलाफको फूल आयात रोकेको छ। यस वर्षको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस) को सप्ताह चलिरहेको बेला सरकारले भने गुलाफको फूल आयातमै रोक लगाएको छ। केन्द्रकी प्रमुख साबित्री बरालले देशभरका विभिन्न १५ वटा क्यारेन्टाइन कार्यालयहरूलाई आज पत्र पठाई यस्तो निर्देशन दिएका हुन् । काँकडभिट्ट, भन्टाबारी, विराटनगर, मलंगवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थांग र बैतडी क्वारेन्टाइन कार्यालयलाई त्यस्तो निर्देशन दिइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवनले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातका लागि अनुमतिपत्र जारी नगर्न क्वारेन्टाइन कार्यालयहरूलाई निर्देशन दिएको हो । ‘उपरोक्त सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयात गर्नका लागि आयात अनुमतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ । ‘प्रणय दिवस’ मनाउन हरेक वर्ष करोडौँ रुपैयाँको गुलाफको फूल आयात हुने गरेको थियो ।

Like